‘धराप’ लोकमार्ग: दुर्घटनाको जोखिम

समाधान संवाददाता २०८० साउन १ गते १०:३३
मध्यपहाडी लोकमार्गको पोखरा २५ मा पर्ने खण्डको अलपत्र अवस्था । तस्बिरः समाधान

पोखरा ।
मध्यपहाडी लोकमार्गको पोखरा हरिचोकदेखि याम्दीखण्ड निर्माण नहुँदा दुर्घटना बढेको स्थानीयले गुनासो गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १ र २५ का जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयले मध्यपहाडी लोकमार्गको हरिचोकदेखि याम्दीखण्ड निर्माणाधीन सडकले दुर्घटना बढाएको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराए ।


निर्माणको क्रममा न्यूनतम सुरक्षाका मापदण्डहरु पनि नअपनाउँदा बाटोमा अत्यधिक खाल्डाखुल्डी भई पानी जम्ने तथा चिप्लो भई बारम्बार दुर्घटनाको कारणले जनधनको अत्यधिक क्षति भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।


राजमार्गमा सवारीसाधन तथा पैदल यात्रुहरु आवतजावत गर्दा जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने उच्च जोखिम पनि रहेकोमा मध्यपहाडी लोकमार्ग आयोजना र निर्माण व्यवसायीलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको वडा नम्बर २५ का मोतीलाल तिम्सिनाले जानकारी दिए ।

Advertisement

मध्यपहाडी लोकमार्ग आयोजना र निर्माण व्यवसायीलाई पटकपटक भन्दा पनि कुनै सुनुवाइ नभएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण


आयोजनालाई समयमै काम सक्न र बर्खा अवधिका लागि ग्राभेल भरेर सडक सुरक्षित बनाउन प्रजिअ बासुदेव घिमिरेले निर्देशन दिए । पोखरामात्रै नभएर पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङबासीलाई समेत असर गर्ने भएकाले सडक सुरक्षामा ध्यान दिन प्रजिअ घिमिरेले आग्रह गरे ।

Advertisement


मध्यपहाडी लोकमार्गअन्तर्गतको हरिचोकदेखि याम्दी सडकखण्ड २ वर्षभित्र सक्ने गरी अघिल्लो वर्ष मोतीदान कन्स्ट्रक्सनले ठेक्का पाएको छ । तर, सम्झौताको आधा समय सकिदासम्म पनि २५ प्रतिशतमात्रै काम भएको आयोजनाका इन्जिनियर ठाकुर भण्डारीले बताए । मध्यपहाडी लोकमार्गको कास्की खण्डअन्तर्गत ८० किमी हाराहारी क्षेत्र पर्छ ।


निर्माण कम्पनीले काम अलपत्र पारेर दुर्घटना जोखिम बढाएको मध्यपहाडी राजमार्गको पोखरा १६ मा पर्ने खण्डको यसअघि स्थानीयले विरोध जनाएका थिए । आफ्ना घरजग्गालाई असर पार्ने गरी रेखांकन गरिएको भन्दै बाटुलेचौरका बासिन्दा विरोधमा उत्रिएका भने अहिले निर्माण अलपत्र हुँदा अरु स्थानीय पनि आक्रोशित छन् ।


पोखरा महानगरपालिका २५ याम्दी जौबारी पुलदेखि मादी गाउँपालिकाको भैंसेसम्मको राजमार्ग खण्डको रेखांकन निश्चित नहुँदा लामो समयदेखि काम हुन सकेको थिएन । रेखांकन विवाद समाधान भएको भन्दै उक्त खण्डको टेन्डर भई काम थाल्नासाथ स्थानीयले विरोध जनाएका थिए । पोखरा १६ मा पर्ने कालीखोलादेखि बाटुलेचौरसम्म ५ सय मिटर खण्ड वरिपरिका स्थानीय असन्तुष्ट भएका थिए ।


मध्यपहाडी लोकमार्गको कास्की लगायत खण्ड हेर्ने योजना कार्यालय पर्वतमा छ । विवादका कारण मध्यपहाडी लोकमार्ग निर्माण सुरु भएको १३ वर्षसम्म कास्की खण्डमा रुट टुंगिएको थिएन ।


त्यसो त मध्यपहाडी लोकमार्गको पोखरा बाहिरका क्षेत्रमा पनि धेरै समस्या छ । बर्खा लागेयता यो राजमार्गको विभिन्न खण्ड बेलाबेला अवरुद्ध हुँदै आएको छ । लोकमार्गको बुर्तिबाङ–रुकुम खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–२ जुग्जाखोला नजिकै पहिरो जाँदा केही दिनअघि सडक अवरुद्ध भएको थियो । लोकमार्गका ठाउँठाउँमा खसेका पहिरो र हिलाम्मे सडकका कारण जोखिम बढिरहेको बागलुङ–बुर्तिबाङ ‘रुट’ का सवारी साधन चालकहरु बताउँछन् ।


मध्यपहाडी लोकमार्ग अन्तर्गत नै पर्ने बागलुङका धेरै खण्डमा सडक कमजोर छ । वर्षामा यो खण्डमा गाडी गुडाउन अनेक हण्डर हुन्छ । बागलुङ बजादेखि–बिहुँखण्ड सडक ठेक्का लगोको लामोसमयदेखि पूरा भएको छैन । त्यहाँका स्थानीय पनि उत्तिकै आजित र आक्रोशित छन् । ठेक्का रद्द गर्न स्थानीयले गर्दै आएको माग पूरा भएको छैन । खासमा यो खण्डको २५ किलोमिटर २ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का लागेको थियो । तर ८ वर्षमा पनि पूरा भएको छैन । माथिल्लो बिहुँ खण्डका निर्माण गर्न एमपी/एससिएफ/इसिसी जेभीले ठेक्का पाएको थियो । अर्काे खण्डको जिम्मा भारत–सिद्धिसाई जेभीले लिएको हो ।


पोखराको हेम्जादेखि बागलुङको बुर्तिवाङसम्मको सडक लोकमार्ग बन्नुभन्दा पहिलेदेखि नै सञ्चालनमा थियो । लोकमार्गले प्रदेशभित्र उत्तर दक्षिण निर्माण भएका र निर्माणधीन सडकलाई समेत जोडेको छ । बुढीगण्डकी कोरिडोरको निर्माणाधीन सडकले आरुघाटमा जोडेको छ । गोरखाको लाप्राक, बारपाकको ग्रामीण सडकले पनि लोकमार्गलाई जोडेको छ । लोकमार्गमा बागलुङ जिल्लाका मालढुंगा—काठेखोला सडक पनि जोडिएका छन् । नेपाल सरकारको आन्तरिक स्रोत साधनबाटै सम्पूर्ण खर्च व्यहोरिने गरी बनिरहेको लोक मार्गमा हाल सञ्चालनमा रहेका कतिपय साना राजमार्ग र सडक खण्डहरू जोडिएका छन् ।

तपाईको प्रतिक्रिया