फिर्केमा फित्ता लाग्यो, डोजर कहिले ?

सर्भेक्षणको पहिलो दिन बुधबार फिर्केखोलाको ८ सय मिटरमा फित्ता लगाएर नापियो

सञ्जय रानाभाट २०८० साउन ४ गते १०:२९

सञ्जय रानाभाट, पोखरा ।

पोखराको बिच भागबाट बग्ने फिर्केखोलाको आकार खोज्न बुधबारबाट सुरु गरिएको छ । पोखरा महानगरपालिकाको प्रविधिक सर्भेक्षण टोलीले पहिलो दिन बुधबार पोखरा ६ बैदामस्थित गाईघाटबाट नापी सुरु गरेको हो । पहिलो दिन खोलाको करिब ८ सय मिटर सर्वेक्षण गरेको टोली संयोजक बासुदेव पौडेले बताए । पहिलो दिन २ टोलीले खोलाको सर्भेक्षण गरेको उनले सुनाए ।


‘पहिलो दिन करिब ८ सय मिटर लम्बाइको सर्भेक्षण गरिएको छ । दुइटा टोलीले नापी गरेका थियौं तर, एउटा प्वाइन्ट लिन नै दुई घण्टा लाग्यो । झाडी र अप्ठेरो भौगोलिक अवस्थाले गर्दा पहिलो दिन धेरै नाप्न सकेनौं । बिहीबारबाट ४ वटा टोलीले सर्वेक्षण गर्छौं,’ संयोजक पौडेलले भने ।

Advertisement


सर्वेक्षणका क्रममा नापी नक्सा बमोजिम नै खोलाको चौडाइ भेटिएको पौडेलले सुनाए । ‘नापी नक्सामा पनि खोलाको चौडाइ ४२/४५ मिटर छ । सोही बमोजिम नै खाली जमिन भेटिएको छ,’ पौडेलले भने । २४ मिटरसम्म फराकिलो यो फिर्केखोला यतिबेला कतै देखिन्छ, कतै देखिँदैन । खोला नदेखिनुमा मुख्य कारण मानवीय अतिक्रमण नै हो ।

केही समय दिएर मापदण्डविपरीतका संरचना हटाउँछौंः मेयर आचार्य

Advertisement


फिर्के अतिक्रमित भएको हुँदा महानगरले यसको संरक्षण गर्न सर्भेक्षण टोली खटाएको हो । सर्भेक्षणका क्रममा खोलाको भाग अतिक्रमण भएको भेटिए जति संरचना भत्काउने मेयर धनराज आचार्यले बताए । सर्भेक्षणका क्रममा फिर्के किनारा पुगेका मेयर आचार्यले भने ५/६ दिनमा सर्वेक्षण सकिने जानकारी दिए । ‘सर्भेक्षणको प्रतिवेदन प्राप्त हुन्छ । यसपछि एउटा मापदण्ड कार्यपालिकाले तोक्छ । यसपछि केही समय दिएर मापदण्ड विपरीतका संरचना हटाउँछौं,’ उनले भने, ‘अहिले खोलाको मापदण्ड १० मिटर भन्ने छ । तर, यो ५ मिटर पनि हुन सक्छ । त्यो कार्यपालिकाको बैठकले नै निर्णय गर्नेछ ।’


महानगरले फिर्केखोलाको वास्तविक आकार पत्ता लगाउन प्राविधिक टोली गठन गरेको थियो । टोलीले नापी नक्सा बमोजिम फिर्केखोलाको सीमांकन गर्ने जिम्मा पाएको छ । १८ सदस्यीय सर्वेक्षण प्राविधिक टोलीले बुधबारबाट रफ्तारमा काम गर्ने उल्लेख छ । बर्खामा पानीको बहाब बढ्दा मापदण्ड विपरीत निर्मित संरचनाले पानीको निकास पाउन कठिन हुने गरेको छ । गत हप्ता फिर्केखोला माथिको वडा नम्बर ५ र ८ जोड्ने राधाकृष्ण मन्दिर नजिकैको पुलमा क्षति पुगेको थियो । वर्षाका कारण पुलको तल्लो भाग बगाएको छ । पुल धरापमा छ । पानीले उचित निकास नपाउँदा पुलमा क्षति पुगेको हो ।


सर्भेक्षण टोलीले मापदण्ड विपरीत बनेका संरचना र सीमांकन यकिन गर्ने कार्यादेश पाएको छ । खोलाको वास्तविक जमिन कति हो ? यी सबै विषय निरीक्षण गरेर टोलीले प्रतिवेदन पेस गर्नेछ । ०३२ सालको नक्साअनुसार फिर्केखोलाको जमिन विभिन्न व्यक्ति, शक्तिकेन्द्र, शिक्षण संस्था, सामाजिक संस्था लगायतबाट अतिक्रमण भएको अनुमान छ ।


निवर्तमान मेयर मानबहादुर जिसीको पालामा इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा गठित रेखांकन समितिको प्रतिवेदनले खोला मिचेर १ सय ९२ वटा संरचना बनेको देखाएको थियो । तर, यो संख्या अहिले बढेको हुन सक्ने सरोकारवाला बताउँछन् । पोखरा १८ को अँधेरीकुनाबाट सुरु हुने फिर्केखोला वडा नम्बर १७ र ६ को गाईघाटमा पुगेर फेवातालमा मिसिन्छ । यसको लम्बाई करिब ८ किलोमिटर भएको अनुमान छ तर, चौडाइ भने निरन्तर घट्दै गएको छ ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया