विद्युत प्राधिकरणको वार्षिकोत्सवमा वृक्षारोपण

समाधान संवाददाता २०८० साउन १६ गते १३:५२

पोखरा ।
नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा प्राधिकरणका कार्यालय तथा आसपासमा वृक्षारोपण गरिएको छ । सोमबार सेती पावरहाउसबाट सुरु गरिएको सो कार्यक्रम गण्डकी प्रदेशका १३ वटै वितरण तथा उत्पादन केन्द्रमा विभिन्न जातका ३ सय बोटबिरुवा रोपिएको नेपाल विद्युत प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रशासन अधिकृत भोलानाथ शर्माले जानकारी दिए ।


कल्की, निम, धूपी, अमला, बर्रो लगायतका औषधी जन्य बोटबिरुवा रोपिएको हो । प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख जगदीशचन्द्र जोशीले विश्वमा जलवायु परिवर्तनका कारण ठूलो चुनौती आइरहेको बेला वातावरणीय सन्तुलनका लागि जनचेतना अभिवृद्धि गर्न केन्द्रदेखि नै यो अभियान थालिएको बताए ।


पोखरा केन्द्रका प्रमुख राजीव सिंहले लाइन विस्तारका क्रममा बोटबिरुवा काट्नुपर्ने बाध्यता रहेको अवस्थामा प्राधिकरणले रुख काट्नमात्र होइन, रोप्न पनि जान्दछ भन्ने सन्देश दिन कार्यक्रम गरिएको उल्लेख गरे । कार्यक्रममा प्राधिकरणका गण्डकी प्रदेश, पोखरा वितरण केन्द्र, सेती जलविद्युत आयोजना र कुडहर लगायतका कार्यालय प्रमुख तथा कर्मचारी सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया