मिलन फाउण्डेशनमा गंगा गुरुङ पुनः निर्वाचित

समाधान संवाददाता २०८० साउन १७ गते १२:४७

पोखरा ।
हङकङमा रहेका समाजसेवी दुर्गा गुरुङ ‘मिलन’द्वारा स्थापित सामाजिक संस्था मिलन फाउण्डेशन नेपालको तेस्रो अधिवेशनबाट अध्यक्ष पदमा गंगाकुमारी गुरुङ तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी छन् ।


शनिबार सम्पन्न फाउण्डेशनको अधिवेशनबाट उपाध्यक्षमा देवीकुमारी गुरुङ, सचिवमा अमरबहादुर अधिकारी, सह–सचिवमा जयप्रकाश गुरुङ, कोषाध्यक्षमा यामबहादुर मल्ल (जीवन) र सह–कोषाध्यक्षमा धनकुमारी गुरुङ सर्वसम्मत रुपमा निर्वाचित भएको छ । नवनिर्वाचित नौ सदस्यीय सञ्चालक समितिका सदस्यहरूमा सागर पौडेल, मनलाल गुरुङ र नारायण क्षेत्री छन् ।


अधिवेशन उद्घाटन गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशकी उपाध्यक्ष खिमा गुरुङले सामाजिक सेवामा मिलन फाउण्डेशन नेपाल अब्बल संस्था रहेको बताए । फाउण्डेशनका संरक्षक दुर्गा गुरुङ ‘मिलन’ले फाउण्डेशनमार्फत् सामाजिक क्षेत्रमा ठूलो योगदान पु¥याएको उनले बताए ।

Advertisement


नवनिर्वाचित सञ्चालक समितिलाई बधाई दिँदै उपाध्यक्ष गुरुङले जुझारू र ऊर्जावान् टिम निर्वाचित भएको सुनाए । फाउण्डेशनलाई थप क्रियाशील बनाएर अघि बढाउन नयाँ नेतृत्व सक्षम हुने उनले विश्वास व्यक्त गरे ।


मिलन ग्रुप अफ नेपालका महासचिव सागर पौडेलले मिलन ग्रुप अफ नेपालमा आबद्ध विभिन्न संघसंस्थाहरू मार्फत नेपालका विभिन्न क्षेत्रमा सामाजिक योगदान गरिरहेको भन्दै समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ सामाजिक क्षेत्रका लागि उदाहरणीय व्यक्तित्व भएको विचार राखे ।

Advertisement

मिलन डिजी इन्टरनेशनलका प्रवक्ता रूद्रबहादुर श्रीसले नयाँ नेतृत्वले संस्थालाई अझ सक्रियताका साथ अघि बढाउने अपेक्षा व्यक्त गरे । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव धनबहादुर गुरुङ ‘सुमन’ले मिलन फाउण्डेशन नेपाल यस क्षेत्रकै अग्रणी सामाजिक संस्था भएको बताए ।


मिलन फाउण्डेशन नेपालकी अध्यक्ष गंगा गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सदस्य अमरबहादुर अधिकारी र उपाध्यक्ष देवी गुरुङले स्वागत मन्तव्य व्यक्त गरे । मिलन फाउण्डेशन नेपालको नवनिर्वाचित सञ्चालक समितिको प्रथम बैठकले दुई सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकारमा क्या. हितकाजी गुरुङ र रूद्रबहादुर श्रीस छन् ।

तपाईको प्रतिक्रिया