बिरौटा—पुँडीटार—लेखनाथ सडक स्तरोन्नति हुने

समाधान संवाददाता २०८० साउन १८ गते ११:३०

पोखरा ।
पोखरा महानगरपालिकाले नेपाल सहरी शासन र पूर्वाधार परियोजना अन्तर्गत थप २ वटा परियोजना छनोट गरेको छ । विश्व बैंकको सहयोगमा सम्पन्न गर्ने गरी महानगरले बिरौटा–पुँडीटार र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुदीखोला–गगनगौंडा सडक स्तरोन्नतिका लागि परियोजना छनोट गरेको हो ।


कार्यपालिकाको साउन १४ गते बसेको बैठकले सन् २०२६ मार्च ५ भित्र सम्पन्न गर्ने गरी थप दुइटा परियोजनाहरू छनोट गरिएको प्रमुख धनराज आचार्यले बताए । ‘विश्व बैंकको सहयोगमा हाल तालचोक–बेगनास सडक स्तरोन्नतिको काम भइरहेको छ,’ प्रमुख आचार्यले भने, ‘यसबाहेक थप दुइटा महत्वपूर्ण परियोजनाहरू छनोट गरेका छौँ । यी सबै परियोजना साढे २ वर्षभित्र सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको छ ।’ प्रमुख आचार्यका अनुसार यी परियोजना सम्पन्नपश्चात नमुना सडक बन्नेछन् ।


यी सबै परियोजनाहरूमा विश्व बैंकले ३ अर्ब ३८ करोड रुपैयाँ लगानी गर्नेछ । निर्माणाधीन तालचोक–बेगनास सडकमा ७५ करोड ४८ लाख ६७ हजार ८७३ रुपैयाँ, बिरौटा–पुँडीटार सडक साढे अर्ब र लेखनाथचोक–डाँडाकोनाक–सिसुवा–खुँदीखोला–गगनगौंडा सडक १ अर्ब रुपैयाँ लागतमा स्तरोन्नति हुनेछ ।

Advertisement


तालचोक–बेगनास सडक स्वच्छन्द–सपना–वल्र्डवाइड जेभी काठमाडौंले निर्माणको ठेक्का पाएको छ । अन्य दुइटा परियोजना सर्भेका लागि वल्र्ड बैंकको प्राविधिक टोली खटिने तयारीमा छ । ५ वर्षभित्र सम्पन्न गर्ने गरी सन् २०२१ मार्च ५ तारिखमा सम्झौता भएको थियो ।


बिरौटा—बिरौटा—पुँडीटार—लेखनाथ सडक स्तरोन्नति भए पृथ्वी राजमार्ग हुँदै पोखरा बजार प्रवेश नगरी स्याङ्जा काठमाडौं गर्न सकिन्छ । त्यसो भए पोखराको मुख्य बजारमा गाडीहरुको चाप घट्ने छ ।

Advertisement

तपाईको प्रतिक्रिया