फोहोरमा रमिता

प्रशोधन केन्द्र बन्ने प्रक्रिया अघि बढ्यो । जग्गा अधिग्रहण निर्णय, मुआब्जा वितरण चाँडै

समाधान संवाददाता २०८० साउन २१ गते १०:३१

पोखरा ।
अस्थायी रुपमा ल्यान्डफिल साइटका रुपमा प्रयोग भइरहेको पोखरा ३२ को लामेआहालमा स्थानीयले अवरोध गरेपछि फोहोर व्यवस्थापन ठूलो टाउको दुखाइ भएको छ । १० दिनयता त्यहाँ फोहोर लगिएको छैन । सेती नदीको किनारको खाल्डोसमेत पुरिने र फोहोर व्यवस्थापन पनि हुने हुँदा लामेआहालमा फोहोर थन्क्याउन महानगरपालिका र स्थानीयबीच ६ महिनाअघि समझदारी भएको थियो ।


फोहोर थुपारिसकेपछि माटोले पुर्ने भनिएकोमा त्यसो नगर्दा दुर्गन्ध फैलिएको भन्दै स्थानीयले फोहोर लैजान अवरोध गरेका हुन् । तर स्थानीयसँग गरिएको १६ बुँदै सम्झौता पालना गरिएको महानगरपालिकाका मेयर धनराज आचार्य बताउँछन् ।


बाहिर भनिएजस्तो ६ महिनामात्रै लामेआहालमा फोहोर व्यवस्थापन गर्ने सम्झौता नभएको महानगरपालिकाको भनाइ छ । ‘अन्त स्थायी संरचना छिटै बन्छ, त्यो कस्तो बन्छ भन्ने ६ महिनामै थाहा हुन्छ भनिएको हो,’ मेयर आचार्य भन्छन्, ‘फोहोर प्रशोधित केन्द्र बनाउने काम अघि बढिसकेको छ ।’

Advertisement

स्थानीयसँगका १६ बुँदे प्रतिबद्धता सबै पूरा गरेका छौं, सहमति गरेरै समस्या सुल्झाउँछौंः धनराज आचार्य, मेयर, पोखरा


मेयर आचार्यले पनि प्रशोधन केन्द्र निर्माणका लागि आवश्यक ९६ रोपनी जमिन अधिग्रहणको निर्णय संघीय सरकारको मन्त्रिपरिषदले निर्णय गरिसकेको जानकारी दिए । ‘बाँकी प्रक्रिया प्रशासनले पूरा गरेपछि केही दिनमै जग्गाधनीहरुको खातामा पैसा जान्छ,’ उनले भने ।

Advertisement


लामेआहालमा सेती नदी किनारमा परेको खाल्डोसमेत पुर्ने गरी विपद व्यवस्थापन तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी उपभोक्ता समिति पनि बनेको छ । नदी किनारमा त्यसले पर्खाल लगाएको छ र पर्खालभित्रको खाडलमा फोहोरले पुर्ने योजना हो । फोहोरसँगै माटोले समेत पुर्नुपर्नेमा नपुरिँदा दुर्गन्ध फैलिएको भनेर स्थानीय आक्रोशित बनेका हुन् । उपभोक्ता समितिलाई महानगरपालिकाले ४३ लाख ६८ हजार रुपैयाँमा पर्खाल निर्माणको भुक्तानी गरिसकेको छ ।


सडकमै फोहोर थुप्रिन थालेपछि महानगरपालिकाले उठाएर पोखरा ९ शान्तिवनस्थित दमकल कार्यालयमा संकलन गरेको पनि थियो । तर सधैं त्यसो गर्न साध्य नहुँदा फोहोर व्यवस्थापनमा सकस भएको छ । पोखरा महानगरपालिकाले सुल्झाउन कठिन भइरहेको स्थानीयसँगको असमझदारीको गाँठो फुक्ने भन्दा पनि यो विषय कतिपयका लागि रमिता बनिरहेको छ ।

फोहोर फाल्न नपाएका नागरिक र व्यवसायीका सास्ती कष्टकर बनेका छन् । ‘एक दुई दिनको फोहोर पो जसोतसो बाहिर निकालिएन, अब त अति भइसक्यो, कतिन्जेल हो ? घरै गन्हाइसक्यो,’ एक व्यवसायी भन्छन्, ‘फोहोर व्यवस्थापन त सिंगो पोखराको एजेन्डा हुनुपर्‍यो, सबैले मिलेर सुल्झाउनुपर्‍यो, तर यहाँ त रमितामात्रै भइराखेको छ ।’


स्थानीयहरुको संघर्ष समितिसमेत गठन भएपछि फोहोरको समस्या थप बढेको पनि छ । स्थानीयले गफाडी मेयर चाहिँदैन, फोहोर फाल्न पाइँदैनसम्मका नारा लगाउँदै फोहोर फाल्न नदिने बताइरहेका छन् । तर मेयर आचार्य आफूले गफ नगरेको बरु बोलेका कुरा र गरेका प्रतिबद्धता ठिकठिक समयमा पूरा गरेको बताउँछन् ।

स्थानीयसँग गरेका १६ वटा प्रतिबद्धता पूरा गरेको उनले सुनाए । ‘साँझ ५ बजेभित्रसम्म मात्रै फोहोर लैजाने र पुर्ने भन्ने हो, कुनै कुनै दिन मौसम लगायत कारण पुरिएन होला, तर १६ का सबै बुँदा पूरा गरेकै छौं,’ उनले भने, ‘फोहोर फाल्न त्यो क्षेत्रको जुन सदायसता छ, महानगरपालिकाले त्यहाँको विकास निर्माणलाई प्राथमिकतामा राखेर काम पनि गरिरहेको छ ।’

तपाईको प्रतिक्रिया