पृथ्वीचोकमा सालिक राख्ने हटाउने प्रतिस्पर्धा

समाधान संवाददाता २०८० साउन २६ गते १०:२९

पोखरा ।

लखन थापाको सालिक भएको पृथ्वीचोकमा पोहोर साल पृथ्वीनारायण शाहको तस्बिरसहितको स्ट्यान्ड राखिएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्तीको अवसरमा लखनको सालिककै मुन्तिर पृथ्वीको प्रतिमा राखेको थियो । त्यही प्रतिमा बुधबार हटाइयो । अवसर थियो—आदिवासी दिवस । बुधबार साँझ त्यसको विरोध जनाएको राप्रपाले बिहीबारै फेरि पृथ्वीको प्रतिमा पुनस्थापना गरेको छ ।


राप्रपाले पृथ्वीनारायण शाहको प्रतिमा चोरी भएको आरोपसमेत लगाएको थियो । जिल्ला प्रशासनको स्वीकृतपछि पृथ्वीनारायण शाहको प्रतिमा राखिएको राप्रपा पोखरा महानगर कमिटी अध्यक्ष महेश्वर आचार्यले बताए । चोकबाट पृथ्वीनारायण शाहको सालिक हटाउन खोजे द्वन्द्व निम्तिने आचार्यले सुनाए ।

Advertisement


पृथ्वीचोकमा लखन थापाको सालिक राखिएयता यो ठाउँमा सालिक राजनीति हुँदै आएको छ । कहिले पृथ्वीको सालिक, कहिले लखनको सालिक राख्ने र झिक्ने उपक्रम चलिरहेको छ ।


पहिला पृथ्वीको सालिक भएकाले फेरि पुनस्थापनाको माग राप्रपाले गर्दै आएको छ । ‘यो पृथ्वीचोकमा पृथ्वीनाराण शाहको सालिक थियो । तर, हिजो यो हटाइदिएका रहेछन् । अनि हामीले पृथ्वीनाराण शाहको प्रतिमा भएपनि रहनुपर्छ भनेर हामीले राखेका हौं । यस्तो क्रियाकलापले द्वन्द्व निम्तिन्छ,’ राप्रपाका नेता आचार्यले भने, ‘पृथ्वीचोकको नाम नै उहाँको नामबाट राखिएको छ । अहिले पनि सबैले पृथ्वीचोकले परिचित छ । भइरहेको शालिकलाई हटाउन खोजिन्छ भने त द्वन्द्व निम्तिन्छ ।’

Advertisement


एउटा विधि, प्रक्रियाबाट नगई एउटा पक्षले मूर्ति हटाउनु गलत भएको अध्यक्ष आचार्यले उल्लेख गरे । ‘बाटाका चोकको जामलाई हटाउन सालिक हटाउने भन्ने थियो । तर, एउटा विधि प्रक्रियाबाट नगई एउटा पक्षले यसरी मूर्ति हटाउनु गलत हो । पृथ्वीनाराण शाहको शालिक सम्मान साथ राख्नुपर्छ,’ उनले भने ।


आदिवासी जनजाति महासंघ, गण्डकी अध्यक्ष धर्मबहादुर गुरुङले र्‍यालीमा सहभागीले निकालेको र त्यसपछि महानगरलाई बुझाएको बताए । ‘हाम्रो र्‍याली थियो, र्‍यालीमा सहभागीहरु साथीहरुले निकालिसकेपछि थाहा भो । मैले थाहा पाएपछि महानगरमा बुझाउनुपर्छ भनेर भनेपछि महानगरलाई बुझाउनुभएको थियो,’ उनले भने ।


त्यसो त पृथ्वी चोकमा २०६२/६३ को जनआन्दोलन अघि पृथ्वीनारायण शाहकै शालिक थियो । २०६२/६३ को जनआन्दोलन क्रममा तत्कालीन विद्रोही माओवादीले राजा पृथ्वीनारायणको सालिक उखेलेको थियो । त्यसपछि १ वर्षसम्म पृथ्वीचोकमा कुनै सालिक रहेन । त्यसपछि सो ठाउँमा पछि प्रथम सहिद लखन थापाको सालिक ठड्याइएको हो । तत्कालीन समयमा माओवादीबाट प्रधानमन्त्री बनेका बाबुराम भट्टराईले सहिद थापाको सालिक २०६९ फागुन १ गते अनावरण गरेका थिए ।


प्रथम सहिद थापाको सालिक बनेपछि भने यो चोकको नाम नै दोधारमा परेको छ । जनजाति आन्दोलनमा सक्रियहरु यसलाई लखनचोकको नामले सम्बोधन गर्छन् भने अरूले पृथ्वीचोक नै भन्छन् । स्थानीय पसलमध्ये बहुसंख्यकका नामपाटी (साइनबोर्ड) हरुमा पृथ्वीचोक नै उल्लेख छ भने कतिले लखनचोक पनि लेखेका छन् । बस र ट्याक्सीमध्ये कतिले पृथ्वीचोक लेख्छन्, त कुनैले लखनचोक लेखेका छन् । कतिपयले पृथ्वीचोक र लखनचोक पनि लेखेका छन् ।


०७४ असोज ९ गते गते पोखरा महानगरपालिकाले लखन थापाको सालिकमा डोजर चलाएको थियो । महानगरले चोकले ठूलो भूभाग ओगटेको र ट्राफिक जाम बढेको भन्दै सालिक भत्काएको थियो । तर, सालिक ढालेर आफूहरुको अपमान गरेको भन्दै विभिन्न जनजाति समुदाय विरोध जनाएपछि भत्काएको २४ घन्टाभित्रै सहिद थापाकै सालिक राख्ने सहमति भएको थियो ।


क्षत्री समाजले सालिक राख्ने महानगरको सहमतिको विरोध गरेको थियो । पुनः महानगर पृथ्वीचोकमा कुनै पनि सालिक नराख्ने सहमतिमा पुग्यो । २०७५ फागुन १ गते राति मगर समुदायको नेतृत्वमा पुनः लखन थापाको सालिक उभ्याइएको थियो । महानगरपालिकाले सहरका सबै ठाउँका सालिक सराङकोट ग्यारजातीको विभूति पार्कमा लगेर राख्ने योजना पनि बनाएको थियो । केही सालिक पार्कमा लगिएको पनि छ, तर पृथ्वीचोकमा सालिक राख्ने वा अन्त स्थानान्तरण गर्ने भन्ने विषय प्रतिष्ठाको विषय बन्न थालेको छ ।


शान्ति सुरक्षा बिग्रन दिँदैनौंः प्रजिअ घिमिरे
कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेले सालिकहरुलाई व्यवस्थापन गर्ने विषयलाई सहमति भएको बताए । ‘हिजो केही समयदेखि पोखराको पृथ्वीचोकमा भएका सालिकको विषयमा विवाद भएको भन्ने छ । त्यो विषयमा पनि विगतमा भएको सहमतिले पनि समेट्छ भन्ने लाग्छ,’ उनले भने, ‘सालिक व्यवस्थापनको मुख्य रुपमा पोखरा महानगरपालिकाको भएकाले यसलाई व्यवस्थापन गर्ने विषयमा जिप्रका पनि सहायक भूमिकामा तयार छौं ।’ शान्ति सुरक्षा बिग्रन नदिने प्रजिअ घिमिरेले उल्लेख गरे । ‘सालिक विवादकै कारण पोखराको शान्ति, सुरक्षा र सदभाव बिग्रनु हुँदैन भन्ने कुरा हामी सचेत छौं‌ । शान्ति सुरक्षा बिग्रन हामी दिँदैनौं,’ उनले भने ।

तपाईको प्रतिक्रिया