प्रहरी चाैकी बनाउन ३५ लाखको जग्गा दान

समाधान संवाददाता २०८० साउन २९ गते १३:४२

बेनी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारका स्थानीयले प्रहरी चौकीको भवन निर्माण गर्न ३५ लाख ५० हजार रूपैयाँ मूल्य बराबरको जग्गा दान गरेका छन् । घारका गणेश र शिव खड्काबाट ४ रोपनी २ आना ३ दाम क्षेत्रफलको जग्गा प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक मदन कुँवरले गणेशले २ रोपनी १० आना १ दाम १ पैसा र शिवले १ रोपनी ७ आना ३ दाम २ पैसा क्षेत्रफलको जग्गा उपलब्ध गराएको जानकारी दिए ।


‘चलनचल्तीको भाउअनुसार गणेशले २१ लख ४५ हजार रूपैयाँ र शिवले १२ लाख पाँच हजार रूपैयाँ मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो,’ उनले भने, ‘जग्गा प्राप्त भएपछि प्रहरी चौकी शिख घारको भवन निर्माणका लागि बजेट व्यवस्थापन गर्न माथिल्लो निकायमा प्रस्ताव गरेका छौँ ।’


स्थानीय जनप्रतिनिधि, अगुवा र सुरक्षा अधिकारीको पहलमा जग्गा व्यवस्थापन भएको हो । म्याग्दीमा सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १७ वटा चौकी तथा पोस्ट छन् । घोरेपानी, घार, भुरूङ तातोपानी, भगवती, पाखापानी, चिमखोला, तिप्ल्याङ, गलेश्वर, कालीपुल, मंगलाघाट, रत्नेचौर, सिंगा तातोपानी, बाबियाचौर, दरबाङ र ताकममा प्रहरी एकाइ छन् ।

Advertisement


जिल्ला प्रहरी कार्यालय ताकम प्रहरी चौकी, सीमा प्रहरी चौकी भुरूङ तातोपानीको मात्र आफ्नै भवन छन् । अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरबाट सञ्चालन भएका छन् । पूर्वाधार अभावमा सुरक्षाकर्मीको आवास व्यवस्थापन, प्रशासनिक काम र पक्राउ परेका व्यक्तिलाई राख्न समस्या भएको छ । प्रहरी चौकीको भवन बनाउन जग्गाको अभाव प्रमुख समस्या देखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया