घरनक्सा पास राजस्वमा महिलालाई छुट

समाधान संवाददाता २०८० साउन ३१ गते १०:४०

दमौली ।

तनहुँको व्यास नगरपालिकाले महिलाको नाममा घरनक्सा पास गर्दा राजस्व छुट गरेपछि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको छ । पछिल्लो समय नगरपालिकामा महिलाको स्वामित्वमा घरनक्सा पास गर्नेको संख्या बढेको नगरपालिकाको भवन नियमन तथा घरनक्सा पास शाखाका प्रमुख अमृत केसीले जानकारी दिए ।


अहिले नगरपालिकाको घरनक्सा शाखामा घरनक्सा पास गर्ने काममा आधाभन्दा बढी सेवाग्राही महिला हुन्छन् । नगरपालिकाले महिलाको स्वामित्व बढाउन उनीहरुको नाममा घरनक्सा पास गर्दा राजस्वमा ५ प्रतिशत छुट दिने गरेको छ । ‘सम्पत्तिमा महिलाको स्वामित्व बढाउन घर नक्सा पास गर्दा नगरपालिका बाट छुट दिइने गरिएको हो । यसले महिलाहरुलाई आर्थिक रुपमा सबल र पारिवारिक निर्णय प्रक्रियामा प्रभावकारी बनाउने छ,’ केसीले भने ।

Advertisement


गएको ३ वर्षमा १ हजार दुई सय घर नक्सा पास गर्दा ९ सय घरनक्सा महिलाको स्वामित्वमा पास भएको उनले बताए । महिलाको नाममा घरनक्सा पास बढ्न थालेपछि गएको वर्षमा घरनक्सा पास गर्दा १ करोड २ लाख राजस्व संकलन भएकोमा ५ लाख राजस्व छुट दिइएको छ ।


महिलाको सम्पत्तिमा स्वामित्व बढाउने, उनीहरुलाई आर्थिक रुपमा सबल र पारिवारिक निर्णय प्रक्रियामा प्रभावकारी बनाउने लगायत लक्ष्य राखेर नगरपालिकाले राजस्व छुटको नीति अख्तियार गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । उनले भने, ‘नगरपालिकाले महिलाको स्वामित्वमा घरनक्सा पास गर्दा राजस्वमा छुट दिएपछि सोचे अनुरुप नतिजा प्राप्त भएको छ ।’

Advertisement

तपाईको प्रतिक्रिया