संस्कृति जोगाउन सक्रिय बेनीका युवा

राकेश शर्मा २०८० भदौ १७ गते ११:२१

म्याग्दी ।
आफ्ना पुर्खाको तीन सय वर्षभन्दा पुरानो संस्कृति जोगाउन यहाँका युवा सक्रिय भएका छन् । नेवारी समुदायको मौलिक कला संस्कृतिलाई संरक्षण गर्न र नयाँ पुस्तामा पुस्तान्तरणका लागि म्याग्दीका नेवार समुदायका युवाले सक्रियता देखाएका हुन् । युवाले अहिले बेनीमा बर्खे नाच अन्तर्गतका विभिन्न नाचहरु प्रदर्शन गरिरहेका छन् ।


बर्खे नाच नेवारी समुदायको मौलिक कला, संस्कृति हो । बर्खे नाच देखाउने सबै कलाकार १३ वर्षदेखि २४ वर्षको उमेर समूहका छन् । १२ देखि १५ वर्ष भित्रकाले मृदंग, मादल, र्‍याली र ढोलकी बजाइरहेका छन् । एकजना युवाले ३ सय वर्षदेखि प्रयोग गर्दै आएको खप्पर (मुखौटो) लगाएर बाजाको तालमा लाखेनाच देखाउँछन् । एकजना अन्दाजी ९ वर्षका र अर्का १७ वर्षका युवा पनि मुख्य लाखेसँगै नाचिरहेका देखिन्थे, उनीहरुले मुखमा मुस्कान सहित आफ्नो पुर्खाको संस्कृतिलाई स्वागत गरिरहेका थिए ।


बेनीमा युवा र पाका पुस्ता मिलेर आफ्नो पुर्खाको कला र संस्कृतिलाई जोगाउन विभिन्न नाचहरु सँगै गाईजात्रा निकालेका छन् । नेवार समुदायको पुरानो मौलिक संस्कृति लोप हुन नदिन पाका पुस्तासँगै युवा पनि गाईजात्रामा सहभागी भएको युवाहरुको भनाई छ ।

Advertisement

जनै पूर्णिमाका अवसरमा नेवार समुदायले निकाल्ने नाचलाई समुदायको मौलिक सांस्कृतिक पहिचान मानिन्छ । बर्खे नाच अन्तर्गत बिहीबार र शुक्रबार नेवार समुदायले बेनीमा गाईजात्रा निकालेका छन् । नेवार समुदायले दिवंगत आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाउने परम्परागत प्रचलन रहेको बेनीका अगुवा सुविन श्रेष्ठले जानकारी दिए ।

बेनीमा युवा र पाका पुस्ता मिलेर आफ्नो पुर्खाको कला र संस्कृतिलाई जोगाउन विभिन्न नाचहरु सँगै गाईजात्रा निकालेका छन्

Advertisement


उनका अनुसार वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा नेवार समुदायले सापारु निकाल्ने प्रचलन छ । सापारुलाई नेपालीमा गाईजात्रा भन्ने गरिन्छ । दिवंगतहरुको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाइजात्राले मृत्युको शाश्वत सत्यलाई स्वीकार गरेर बाँच्न प्रेरित गर्ने उनको भनाई छ ।


ल्यामःपुचका अध्यक्षसमेत रहेका जेनेश श्रेष्ठका अनुसार मृतक आफन्तजनको सम्झनामा रामायणका करुण रसका गीत पनि गाउने गरिन्छ । गीत गाउने र नाच्ने युवाहरु छन् । साना–साना बालबालिकाहरु पनि नागनागिनीको भेसमा नाचिरहेका छन् ।
पुरानो मौलिक संस्कृति हामी युवाहरुले पनि सिक्न आवश्यक छ श्रेष्ठले भने, ‘हाम्रो मौलिक संस्कृति संरक्षण गर्ने दायित्व युवाहरुको हो ।’ त्यसैले हामी युवाहरुले यसपटक एक महिना अघिदेखि तालिम लिएर युवाहरुलाई सक्रिय बनाएर आज नाच देखाएका छौं । उनले भने, ‘यसमा हाम्रा अग्रज कलाकार, अग्रज व्यक्तिहरुको ठूलो साथ र सहयोग छ ।, अब हामीले हाम्रा पुर्खाका कला संस्कृतिलाई संरक्षण गछौँ ।’


नेवारी कला, संस्कृतिलाई समाजको पहिचान सम्झेर नाच्न र बजाउन अग्रसर भएको श्रेष्ठको भनाई थियो । ‘नेवार समुदाय मात्र नभएर अन्य समुदायका युवाले पनि हाम्रो संस्कृतिलाई जोगाउन साथ सक्रियता देखाउनुभएको छ ।’ नेवारी कलासंस्कृति जोगाउन युवा संगठित भएर केही वर्षयता बेनीमा विभिन्न नाच, कला र संस्कृति प्रदर्शन गर्दै आएका छौँ त्यसका लागि ८० जना सम्म कलाकार आवश्यक हुने श्रेष्ठको भनाई छ ।


नेपाल भाषा मंकाखलका अध्यक्ष कृष्ण श्रेष्ठका अनुसार नागपञ्चमीका दिनदेखि हरितालिका तीजसम्म बेनीमा मौलिक कला, संस्कृति झल्किने विभिन्न नाच प्रदर्शन गर्ने प्रचलन छ । ‘नेवार समुदायको मौलिकता झल्किने कतिपय पुराना संस्कृति लोप हुन थालेका छन्, उनले भने, पाका पुस्ताबाट नयाँ पुस्तामा कलासंस्कृति हस्तान्तरण नहुँदा पहिचान नै लोप हुने अवस्थामा रहेको संस्कृतिलाई जोगाउन पछिल्लो समय युवाले संरक्षणमा चासो देखाउन थालेकाले आशा जागेको छ ।’ युवा जुटेपछि यस वर्ष लाखे नाचका साथै घोडा नाच, गोरु नाच, रोपाइँ नाच, गाईजात्रा, जोगी नाच र तिजका दिनमा धानको बाल नाच प्रदर्शनसँगै लाखे काटेर बर्खे नाचको समापन गरिनेछ ।

राकेश शर्मा

शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया