सुधार पर्खिरहेको बाल सुधारगृह

सञ्जय रानाभाट २०८० भदौ २० गते १०:५८

सञ्जय रानाभाट, पोखरा ।
पोखरा बजारबाट करिब ६ किलोमिटर पर सराङकोटमा बाल सुधारगृह छ । सार्वजनिक यातायात, लगायत सुविधाभन्दा टाढाको बाल सुधारगृहको परिसर वनसँग जोडिएको छ । एकलास ठाउँमा हुँदा सुरक्षा चुनौती छ । केही समयअघि मात्र जेठ २३ गते मध्यन्ह १२ बजे सुधार गृहबाट ३ जना बालक भागे । तर अझै पनि एकजना बालक फरार छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले फरार बालकको खोजी भइरहेको सुनाए ।


‘फरार ३ बालकमध्ये प्रहरीले २ जनालाई समातेर पुनः सुधार गृहमै पुर्‍याइएको छ । एकजना फरार बालकको खोजी भइरहेको छ,’ डिएसपी विकले भने । उक्त दिन फरार हुने ३ मध्ये २ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले लेकसाइडबाट पक्राउ गरेको थियो ।


कुनै पनि कानुनी विवादमा कैद सजाय पाएका १८ वर्षमुनिका बालबालिकालाई झ्यालखाना लगिन्न । बाल सुधारगृहमा राखिन्छ । त्यस्तो व्यवस्था बालबालिका सम्बन्धी ऐन २०७५ ले गरेको छ । बालबालिका कानुनी विवादमा जानी नजानी फँसे पनि तिनलाई असल नागरिक बन्ने वातावरण दिने अर्थात उनीहरुमा सुधार ल्याउन बाल सुधार गृहको अवधारणा आएको हो । तर बाल सुधारगृह आफैमा सुधार गर्नुपर्ने हालतमा छ । त्यहाँको सुरक्षा प्रबन्धबाटै सुधार गर्नुपर्ने ती ३ जना बालक भागेको घटनाले देखाएको छ ।

Advertisement


‘पहिलो कुरा त यस्तो जंगलको छेउमा बाल सुधारगृह खोल्नु आफैमा चुनौतीको कुरा हो । यसमाथि सुरक्षा फौज पनि उपलब्ध गराउन सकेको छैन,’ सुधारगृह स्रोत भन्छ । ८६ जना बालकको सुरक्षा गर्न जम्मा ५ जना सुरक्षाकर्मी खटाइएको थियो । बालकहरु भागेको घटनापछि भने जिल्ला प्रशासन कार्यालय कस्कीले बाल सुधारगृहमा सुरक्षा बढाउने निर्णय भएबमोजिम अहिले सुरक्षाकर्मीको संख्या ९ जना पु¥याइएको छ । तर, पनि बाल सुधारगृह अझै सुरक्षित भने छैन ।

पोखराको बाल सुधारगृहमै शिक्षा, स्वास्थ्य, खानपान र बसोबासदेखि सुरक्षा प्रबन्धसम्म सुधारको आवश्यक छ

Advertisement

स्रोतका अनुसार सुरक्षाकर्मी खटिएपनि सुधारगृहमा बस्ने बालकले भाग्न चाहे जहिलेसुकै भाग्न सक्छन् । ‘बाल सुधारगृहको गेट खोल्ने लगाउने काम गर्न बालकहरुले नै गर्छन् । उनीहरुले भाग्ने उद्देश्य राखे भने सुधारगृहमा कोही पनि हुँदैन,’ स्रोतले भन्यो ।
भदौ ३ गते भक्तपुरको बाल सुधारगृहभित्र २ जनाको झडप हुँदा एकजनाको ज्यानैसमेत गयो । त्यही घटनालाई लिएर बालकहरु र सुरक्षाकर्मीबिच पनि द्वन्द्व भयो । २ सयभन्दा बढी बालक सुधारगृहको सुरक्षा घेरा फोरेर बाहिर निस्किएका थिए । थुप्रैजनालाई पछि प्रहरीले नियन्त्रणमा लियो । केही भने अझै फरार छन् ।


नाजुक स्वास्थ्य, शिक्षा
केही समयअघि पानीको हाहाकार रहेको बाल सुधारगृहमा अहिले गण्डकी प्रदेश सरकारले लिफ्टमार्फत खानेपानी पु¥याएको छ । पानीकै कारणले छाला सम्बन्धी रोगले बालकहरुलाई सताउनुसम्म सताएको छ । अझै पनि पूर्ण रुपमा छाला सम्बन्धी रोग सञ्चो भएको छैन । छाला सम्बन्धी समस्या देखिँदा होस् वा अन्य स्वास्थ्य सम्बन्धी समस्या यहाँ बालकहरुलाई अस्पताल पुर्‍याउन मुस्किल छ । पोखरादेखि ६ किलोमिटर टाढा रहेको यो बाल सुधारगृहसम्म जाने कुनै सार्वजनिक यातायात सञ्चालमा छैनन् ।


कुनै बालक बिरामी भए एम्बुलेन्स वा ट्याक्सी बोलाउनुपर्ने बाध्यता छ । कसैलाई जटिल प्रकारको स्वास्थ्य समस्या आए अस्पताल पुर्‍याउनेसम्म के हुने हो भगवान भरोसा गर्नुपर्छ । सुधारगृहमा कैद ३ जना दीर्घरोगी छन् । उनीहरुलाई मुटु सम्बन्धी समस्या छ । उनीहरुलाई स्वास्थ्य समस्या परेका बेला अस्पताल पुर्‍याउन निकै कठिन हुने बालसुधार गृहकी मनोपरामर्शदाता ज्योति शर्मा बताउँछिन् । ‘कुनै बालक त साह्रै आत्तिन्छन् । अस्पताल नपुर्‍याए जे नि गर्न सक्ने व्यवहार देखाउँछन् । त्यही भएर पनि अस्पताल पुर्‍याउन सजिलो बनाउनुपर्ने छ ।’


शर्माका अनुसार अस्पताल पुर्‍याउन ट्याक्सीले १८ सय रुपैयाँसम्म माग्छन् । त्यो रकम स्वयं बालकसँग लिनुपर्ने भएकाले पैसाको जोहो गर्न कठिन रहेको पनि शर्माले सुनाइन् । उनले भनिन्, ‘सबैको परिवार पैसा दिन सक्ने अवस्थाको पनि हुनुहुन्न । कोही त पटकपटक बिरामी हुनुहुन्छ । उनीहरुको स्वास्थ्य उपचार गर्न आर्थिक अवस्थाका कारणले पनि जटिल छ ।’ ५० जना बालक अट्ने क्षमताको बाल सुधारगृहमा क्षमताभन्दा बढी अर्थात ८६ बालक छन् ।


१८ वर्षमुनिका राख्ने सुधारगृहमा कोही भने १८ वर्षभन्दा माथिका पनि छन् । मुद्दा चल्दै गर्दा १८ वर्ष उमेर नकटेकाहरुको हकमा मुद्दा फस्र्यौट नहुँदासम्म गृहमै बस्नुपर्ने कानुन बाध्यता रहेकाले यहाँ १८ वर्ष माथिका पनि छन् । बालबालिका सम्बन्धी ऐनको दफा ४३ (४) को ‘१८ वर्ष पुगेमा बानी व्यहोरामा आएको सुधार, आर्जन गरेको सीप तथा शिक्षालाई ध्यानमा राखी बाँकी अवधि अन्य बालबालिकाबाट अलग राख्नुपर्ने’ व्यवस्था छ ।


सुधारगृहमा बालकका लागि टेबल टेनिस, ब्याडमिन्टनजस्ता खेलका लागि खेल मैदान पर्याप्त पनि छैन । भलिबलका लागि मैदान पर्याप्त र उपयुक्त छैन । सुधारगृह डाँडामा रहेको र परिसरबाहिरको भूभाग भिरालो भएकाले खेलकुदका लागि थप असुविधा छ । सुधारगृहमा अध्ययनका लागि कक्षाकोठाको प्रबन्ध भए पनि २ जना शिक्षकले मात्र यहाँ पढाउँछन्, त्यो पनि कक्षा १० सम्ममात्र । त्योभन्दा बढी पढ्न चाहे स्वअध्ययन गर्नुपर्छ । बालगृहमा भेटघाटका लागि भेटघाट कक्ष अभाव छ । सामाजिक कार्यकर्ता, कानुनव्यवसायीसँग गोप्य परामर्श गर्ने बन्दोबस्तीको पनि कमी छ ।


बालक भन्छन्–५ वर्षसम्म पनि मुद्दा फछ्र्योट भएन
बालगृहमा पुगेका सबै दोषी नहुन पनि सक्छन् । तर, उनीहरुको मुद्दा भने वर्षौंसम्म पनि फछ्र्योट नुहँदा आफूहरु पीडामा परेको बालकहरुको गुनासो छ । एकजना बालकले आफू ५ वर्षदेखि बालगृहमै रहेको तर, अझैसम्म आफ्नो मुद्दा छिनोफानो नभएको गुनासो गरे । उनले भने, ‘यो बालगृहमा सायद म नै होला सबैभन्दा बढी ५ वर्ष बसेको ।’


उनले सुधारगृहमा खान बस्न पनि समस्या भएको सुनाए । ‘कोही त भुँइमा पनि सुत्नुपर्छ । खानेकुरा त सधैं अभाव नै हुन्छ,’ उनले भने । बालगृहमा जबरजस्ती करणी आरोपमा परेका बालकहरुको संख्या उल्लेख्य छ । जबरजस्ती करणीमा ५२ जना, कर्तव्य ज्यानमा ८, नकबजनी चोरीमा ९, डाँका चोरीमा १, लागु औषधमा ६, ज्यान मार्ने उद्योगमा २, सवारी ज्यानमा १, जबरजस्ती करणी र हाडनाता करणीमा ४, अभद्र व्यवहारमा १, हाडनाता सामूहिक जबरजस्ती करणी अभियोगमा २ जना बालक बालसुधार गृहमा छन् ।


बालकहरुको मुद्दा फछ्र्योट हुन ढिलाइ हुँदा उनीहरुको अधिकार हनन्समेत भएको अधिकारकर्मी बताउँछन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले बालबाललिकाहरुको मुद्दा छिटो फछ्र्योट हुने व्यवस्था मिलाउनुपर्ने बताए । उनले भने, ‘बाल सुधारगृह पनि मापदण्ड अनुसार सञ्चालन हुनुपर्छ । गास, बास कपास र शिक्षा स्वास्थ्य त कम्तीमा पनि हुनुपर्‍यो । तर हामीहरु धेरैपटक अनुगमनमा पुग्दा बालकहरुले स्वास्थ्य उपचार राम्रोसँग नपाएको, मुद्दा छिटो फछ्र्योट नभएको भन्ने गुनासो राख्न गरेका छन् ।’


बालकहरुले पढ्ने इच्छा हुँदाहुँदा पनि विद्यालय र शिक्षकको व्यवस्था नहुँदा पढ्न नपाएको गुनासो गरेको उनले सुनाए । कोपिला नेपालकी बिना सिलवालले बालकहरूको न्यूनतम बाल अधिकार सुनिश्चित गर्न पहल गर्ने बताइन् । उनले भनिन्, ‘कतिपय बालबालिकाले खान मिठो भएन । कारागारले दिने चामल र दैनिक खर्च समेत नपुग्ने गरेको गुनासो गर्नुभएको छ । यसतर्फ पनि कास्की कारागार र सम्बन्धित निकायको ध्यानाकर्षण जान आवश्यक छ । हामीहरुले समयसमयमा गएर बालकहरुलाई हौसला दिन काम त गरिरेका छौं ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया