देवबहादुरबाट कास्कीमा ठगिने ५२४ जना

देवलाई पत्ता लगाउन नसकेपछि रेडकर्नर नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस

समाधान संवाददाता २०८० भदौ २२ गते १०:४४

पोखरा ।
सहकारीका बचतकर्ताको करिब अर्ब रकम लिई फरार भएका इमेज सहकारीका अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली अझै फेला परेका छैनन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा १४ जनाले आफूहरु ठगिएको भन्दै उजुरी दिएका छन् भने ५ सय १० जनाले उनको इमेज सहकारीमा रकम राखेर पनि नपाएको भनी कागज गरेका छन् ।


जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सूर्यबहादुर रानामगरले ठगी काण्डको अनुसन्धान भइरहेको र मुख्य व्यक्ति नेपालीको पत्तो अझै नलागेको जानकारी दिए । नेपाली जेठ ५ गतेदेखि सपरिवार बुर्तिबाङ बजारबाट सम्पर्कविहीन छन् । बागलुङ बजारमा मुख्य कार्यालयसहित गलकोट र बुर्तिबाङमा इमेज सहकारीका शाखा छन् । पोखरामा पनि उनले सोही नामको सहकारी खोलेका छन् ।


मेयर नेपाली फरार भएपछि उनीविरुद्ध उजुरी दिन प्रहरीले आह्वान गरेको थियो । बागलुङमा नेपालीलगायत सहकारी सञ्चालकविरुद्ध १ हजार ४ सय ८१ जनाले उजुरी दिएका छन् । ८ सय सेयर सदस्य र ३ हजार २ सय बचतकर्ताको डेढ अर्ब बढी उनले अपचलन गरेको प्रारम्भिक छानबिनको निष्कर्ष छ ।

Advertisement

८ सय सेयर सदस्य र ३ हजार २ सय बचतकर्ताको डेढ अर्ब बढी उनले अपचलन गरेको प्रारम्भिक छानबिनको निष्कर्ष छ


बागलुङको ढोरपाटन १ घर भएका मेयर नेपालीसहित ११ सञ्चालकविरुद्ध २५ असारमा बागलुङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । देवकुमार सम्पर्कविहीन भएपछि उनीविरुद्ध रेडकर्नर नोटिस जारी गर्न बागलुङ प्रहरीले पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन केसीले भने, ‘अहिलेसम्म उहाँको खोजी गरियो तर पत्ता लगाउन नसकिएपछि रेडकर्नर नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस गरेका छौँ ।’

Advertisement


साउन ४ गते इमेज बचत तथा ऋण सहकारीका बचतकर्ताको अरबौं रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका इमेज बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक चित्रबहादुर भण्डारी र कर्मचारीहरु प्रबन्धक शक्ति किसान र कर्मचारी लालमती रोकालाई अदालतले थुनामा राख्न आदेश दिएको थियो ।


मेयर नेपालीलगायतले बागलुङमा १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५ सय २५ रूपैयाँ अपचलन गरेको प्रहरीले जनाएको छ । कास्कीमा भने इमेज सहकारीले ५७ करोड ९४ लाख अपचलन गरेको पोखरा महानगरले बनाएको छानबिन समितिको निष्कर्ष छ ।


नेपाली फरार भएपछि बचतकर्ताले चरणबद्ध आन्दोलन गर्दै आएका छन् । बागलुङ सदरमुकामसहित गलकोट, बुर्तिवाङ र पोखरामा रहेको इमेज सहकारीले आकर्षक ब्याज दिने आश्वासन दिएर बचत संकलन गरेको थियो । इमेजमा एकै जनाले एक करोडसम्म जम्मा गरेको देखिएको छ ।


गत निर्वाचनमा ढोरपाटको मेयर चुनिएका नेपाली एमाले गण्डकी प्रदेश कमिटी सदस्य हुन् । उनलाई एमालेले निलम्बन गरिसकेको छ । ०७४ को निर्वाचनामा पनि उनी मेयर चुनिएका थिए । ०७४ अघि माओवादी रहेका उनी माओवादीबाट टिकट नपाएपछि मनोनयन दर्ता गर्न जाने अघिल्लो दिन एमाले प्रवेश गरेका थिए ।


नेपालीले काठमाडौं, पोखरा र बागलुङमा घरजग्गामा लगानी गरेका छन् । उनका पोखरामा २ वटा घर छन् । बागलुङको बुर्तिबाङमा होटल चलाएका छन् । जेठी श्रीमतीसँग सम्बन्ध विच्छेद गरी तिब्बती शरणार्थी छेलासँग उनले दोस्रो बिहे गरेका थिए ।


धेरैजसो पोखरा बस्ने उनी ०७४ को निर्वाचनमा मेयर जितेपछि ढोरपाटन केन्द्रित भएका हुन् । कुनै समय उनी पोखराको सिर्जनाचोकमा साइकल पसल चलाउँथे । एक्कासि पोखरामा भव्य घर, बागलुङमा छतमा हेलिप्याडसहितको होटल बनाएको आर्थिक स्रोत भने उहिल्यैदेखि शंकास्पद थियो ।

तपाईको प्रतिक्रिया