कतै भालुको डर, कतै चितुवाको त्रास

सुन्दरकुमार थकाली २०८० असोज २ गते १०:५७

जोमसोम ।
मुस्ताङमा पछिल्लो समय बर्सेनि वन्यजन्तु र मानवबीचको द्वन्द्व बढेको छ । यसले यहाँका पशुपालक तथा कृषक चिन्तित छन् । कृषि र पशुधनमा वन्यजन्तुले ठूलो क्षति पुर्‍याउन थालेका छन् ।


याकचौरी तथा भेडाच्याङ्ग्रा पालन व्यवसायमा वन्यजन्तुले बर्सेनि क्षति पुर्‍याउँदा किसानहरु चिन्तित छन् । यहाँका पशुपालकले सदियौंदेखि याकचौरी र भेडाच्यांग्रा पालन गर्दै आएका छन् । मुस्ताङका उच्च लेक र खर्कहरुमा पशुपालन गरिन्छ । हिउँदमा बस्ती नजिक र बर्खा याममा उच्च लेकका चरनक्षेत्रमा गोठै खडा बनाएर पशु राखिन्छ ।


राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय अन्तर्गत रहेको मुस्ताङमा हिमचितुवा र चितुवाले बेला बेलामा पशुहरु मारिदिने गरेका छन् । हिमचितुवा र चितुवाबाट लेकमा पालिएका पशुमात्र होइन, बस्तीनजिकै पालन गरिएका पशुहरु समेत असुरक्षित हुन थालेको थासाङका पशुपालक सोजन हिराचनले जानकारी दिए । हिमचितुवा र चितुवाले खोरमै पसेर क्षति पु¥याउने गरेका छन् ।

Advertisement


वन्यजन्तुले मारेका पशुपालक तथा बालीनालीमा क्षति पुगेका कृषक एक्याप कार्यालयमा राहतका लागि निवेदन दिन चाहदैनन् । एक्यापको राहत प्रक्रिया झन्झटिलो भएकाले पीडित यो बाटो जान नचाहेका हुन् । यद्यपि पछिल्लो समय क्षति व्यवहोरेका पशुपालक तथा किसान एक्यापको सम्पर्कमा आएर निवेदन पेस गर्न थालेका छन् ।


एक्यापले पशुपालक तथा किसानलाई पशुधन र अन्नबाली संरक्षणका लागि पूर्वाधार निर्माणमा सहयोग नगर्दा क्षति व्यवहोर्न बाध्य हुनु परेको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोम अन्तर्गत थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका पर्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय लोमान्थाङ अन्तर्गत लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका पर्छन् ।

Advertisement


एक्याप जोमसोम इलाकाका ३ पालिकामा २०७९/०८० मा १३ घरका ३८ पशुधनमा क्षति पुगेका एक्यापको रेकर्ड छ । यो एक्यापमा निवेदन परेका आधारमा तयार गरिएको तथ्यांकमा मात्र हो ।


गत वर्ष थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका ९ घरका २८ याकचौरी हिमचितुवाको आक्रमणमा परे । हिमचितुवाकै आक्रमणबाट ३ घरका ८ वटा भेडाच्यांग्रा मरिएका थिए । घोडा, खच्चड पनि हिमचितुवाले खाइदियो । यो तथ्यांक बर्सेनि वृद्धि हुँदै गएको छ । वन्यजन्तु र मानवको द्वन्द्व घटाउनका लागि उचित पहल नहुँदा व्यवसाय नै धरापमा परेको घरपझोङ ४ का पशुपालक भूपेन्द्र शेरचन सुनाउँछन् ।


गत वर्ष क्षति पुगेका १३ घुरधुरी पशुपालकमध्ये ३ घरधुरीलाई ९१ हजार राहत उपलब्ध गराएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । १० घरधुरीका २६ पशुचौपायाको राहत प्रक्रिया जारी रहेको उनले सुनाए ।

थासाङमा हिमाली भालुको आतंक
थासाङ गाउँपालिकामा हिमाली कालो भालुले बालीनाली सखाप पार्न थालेको छ । थासाङका ४ का वडाध्यक्ष नरेन शेरचनले थासाङ क्षेत्रमा भालुको आतंक बर्सेनि बढेको जनाए । भालुकै कारण किसानले वर्षभरी खाने बालीनाली हुन थालेको छ ।

यसको दीर्घकालीन समाधान खोज्नु आवश्यक भएको शेरचन बताउँछन् । थासाङ् ४ झिप्रा देउरालीका किसान देउबहादुर विकले वन्यजन्तुको जोखिम न्यूनीकरण गर्न सरोकारवाला निकायले वेवास्ता गरेको आरोप लगाए । ‘हिमाली कालो भालुले सधै दुःख दिइरहन्छ,’ उनले भने, ‘यस्तै अवस्था रह्याे भने कसरी किसानले खेतीपाती गर्ने ?’


थासाङका ५ वटै वडामा भालुको आतंक छ । एक्याप जोमसोम कार्यालयले गत आर्थिक वर्ष २०७९/०८० मा थासाङ गाउँपालिकाका ९३ किसानको ७ सय ६० पाथी मकै भालुले सोत्तर पारिदिएको थियो । थासाङको कोवाङमा २० घरधुरी, कुञ्जोको ६४ घरधुरी र लेतेधम्पुको ९ घरधुरीका मकै भालुले क्षति बनाएको एक्यापको तथ्यांक छ ।

भालुले क्षति गरेका ९३ घरधुरी किसानलाई एक्यापले १ लाख ४९ हजार रुपैयाँ राहत वितरण गरेको छ । वन्यजन्तुका कारण किसान र पशुपालकको बालीनाली र पशुधन क्षति भएमा सम्बन्धित घरधुरीले संरक्षण व्यवस्थापन समितिको सिफारिस, स्थानीय तह वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिस र निवेदन एक्याप कार्यालयमा पेश गर्नुपर्छ । यसरी पेश भएका निवेदनका आधारमा सम्बन्धित कार्यालयले क्षति विवरण मूल्यांकन गर्छन् ।


मुस्ताङमा संरक्षित वन्यजन्तु क्षतिको राहत सहयोग सिफारिस समिति पनि एक्यापले गठन गरेकाले पीडित किसान र पशुपालकलाई प्रक्रियामा आउन कार्यालय प्रमुख रेग्मीले अनुरोध गरे ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया