सडक विभागको लापारबाहीः खाल्टो खन्छ, पुर्न बिर्सिन्छ

सञ्जय रानाभाट २०८० असोज ३ गते १०:३६

सञ्जय रानाभाट, पोखरा ।

पृथ्वीचोकबाट अघि बढेपछि लेकसाइड र पस्र्याङतर्फ जाने मुख्य मार्ग हो, जिरोकिलोमिटर । सवारी चाप उच्च हुने जिरोकिलोमिटरमा अहिले हरेक दिन साना ठूला दूर्घटना भइरहन्छ । यसको प्रमुख कारण होः राज्यले थापेको धराप ।


सवारी चापलाई व्यवस्थित गर्न पोखराका प्रमुख चोकमा ट्राफिक लाइट जडान गर्न सडक डिभिजन कार्यालय पोखराको ट्राफिक व्यवस्थापन महाशाखाले कामअघि बढायो । सुरुमै योजना मुताबिक जिलोकिलोमिटरको चारैतिर खाल्डो खनियो । खाल्डो बनेको महिनौं भईसक्यो अझै ट्राफिक लाइट जडान हुन सकेको छैन । बरु खाल्डोकै कारण प्रत्येक दिन जस्तो दुर्घटना भएपछि पोखरेली आक्रोशित बनेका छन् ।

Advertisement


मंगलबार स्थानीय र सामाजिक अभियन्ताहरुले सडकमै उत्रिएर नाराबाजी गरे । नाराबाजीमा उत्रिएका नवीन श्रेष्ठले पोखरा महानगरपालिका र सडक डिभिजन कार्यालयले गम्भीर बनेर सडक मर्मत गर्नुपर्ने बताए । उनीहरुले ‘सडक भत्काएर अलपत्र पार्ने सम्बन्धित पक्ष मुर्दावाद’, ‘विकासको नाममा लापरबाही कहिलेसम्म’, ‘दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा गरौं’, सडक सुरक्षा भएमात्र नागरिक सुरक्षित,’ भन्दै नाराबाजी गरे ।

व्यस्त सडकमा खाल्टा खनिन्छन्, महिनौं पुरिँदैन, पुरिहाले पनि गिट्टी हालिन्छ । जसले उल्टै दुर्घटना बढाउँछ ।

Advertisement


त्यसलगत्तै मंगलबार नै गिट्टी हालेर खाल्डो पुरिएको छ । तर, गिट्टीका कारण झनै दुर्घटनाको जोखिम बढेको स्थानीय सीता केसीले औंल्याउँछिन् । जथाभावी छरिएको गिट्टीमा चिप्लिएर सवारी दुर्घटना हुने जोखिम उच्च छ । ‘साना ठूला दुर्घटना नभएको दिनै हुँदैन । हाइवे भएका कारणले सवारीको गति पनि उच्च हुने र परबाट खाल्डो नदेख्दा दुर्घटना हुने कुरा सामान्य जस्तो भयो,’ उनले भनिन् ।


खाल्डो नपुरिँदा जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य छन् यात्रु । जिरोकिलोमिटरको सडक एउटा प्रतिनिधि उदाहरणमात्र हो । पृथ्वीचोकदेखि विरौटा, नयाँबजार महेन्द्रपुल, विजयपुर अमरसिंह चोक, गगनगौडा विजयपुरसम्मका सडकमा यात्रुले जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था छ ।


ट्राफिक व्यवस्थापन महाशाखाले पहिलो चरणमा पृथ्वीचोक, सभागृहचोक, सृजनाचोक, जिरो किलोमिटर र विरौटाचोकमा लाइट जडानको काम थालेको थियो । जिरो किलोमिटरकै काम सम्पन्न गर्न नसकिएको सडक डिभिजन कार्यालय पोखराका प्रमुख प्रकाश भण्डारी स्वीकार्छन् । उनले जिरो किलोमिटरका ५ सेक्सन, सृजनाचोकका ४ सेक्सन, सभागृहचोकका ३ सेक्सन, पृथ्वीचोकका ४ सेक्सन र बिरौटा चोकका ५ सेक्सनमा ट्राफिक संकेत लाइट जडान गर्ने कामअगाडि बढेको जनाए ।


खाल्डा नपुर्दा धेरै गुनासो आएकाले केही दिनमै पुर्ने प्रतिवद्धता गरे । ‘खाल्डो परेपछि अस्फाल्ट पिचले नै खाल्डो पुर्ने भन्दाभन्दै ढिलाइ भयो । यत्रो सडकको काम गर्ने हामीले नियत खराब राखेको त होइन,’ प्रमुख भण्डारीले भने । ट्राफिक लाइटको तार जमिनबाट लैजान खाल्डो खनिएको उनले सुनाए । उनले भने, ‘अस्फाल्ट नै भन्दा पिच गर्ने कुरा पनि पुनर्विचार गर्नुपर्ने छ । केही दिनमा खाल्डा मर्मत गर्छाैं ।’ सडक डिभिजन अन्तर्गतको ट्राफिक व्यवस्थापन महाशाखाले ट्राफिक लाइट हाल्न सडक खने पनि गुनासो महानगरमा आइरहेको महानगरका इन्जिनियर सुरेन्द्र पौडेल बताउँछन् ।


सडक विभागले नै सडकको मर्मत गर्नुपर्ने तर कतिपयले महानगरलाई दोष देखाएर आलोचना गर्नु दुखद भएको पौडेलले सुनाए । ‘जिरो किलोमिटरको खाल्डोमा म आफैैं दुर्घटनामा परे । अहिले पनि ढाड दुखेर राम्रोसँग काम गर्न सकेको छैन,’ पौडेलले भने । पोखरा महानगरभित्र छिर्नेबित्तिकै सडकमा खाल्डोको अर्को कुरुप चित्र देखिन्छ । बाटोभरि खाल्डाखुल्डी र धूवाँ, धुलो उस्तै छ ।


अहिले पोखरामा खानेपानीको पाइप विस्तार भइरहेको छ । यो काम निकै सुस्त छ । बढ्दै गएको सवारी संख्याले ट्राफिक जाम त बढाएको छ नै, खराब बाटोले दुर्घटनाको जोखिम पनि उत्तिकै बढाएको छ ।


साउनयता २८६ दुर्घटना
आर्थिक वर्ष २०८०/८१ सुरु भएपछि कास्कीमा साना ठूला गरी २ सय ८६ दुर्घटना भएका छन् । कास्कीका प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले साउनयता गम्भीर दुर्घटना २३ वटा भएको जानकारी दिए ।


उनले सामान्य दुर्घटना २ सय ६३ वटा भएको सुनाए । उनका अनुसार यो अवधिमा सवारी दुर्घटनाबाट ९ जनाले ज्यान गुमाए भने १८ जना घाइते भएका छन् । ‘दुर्घटनासबैभन्दा बढी दुई पांग्रे सवारी नै पर्छन् । यो अवधिका ९ जनाले ज्यान गुमाउनुभयो,’ उनले भने, ‘दुर्घटना हुने सवारीतर्फ ४ वटा ट्रक, ४ ट्याक्टर, १ बस, ३ जिप, २० मोटरसाइकल र १ साइकलको तथ्यांक हाम्रो कार्यालयमा छ ।’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया