मणिपाल डाक्टर आक्रमणका मुख्य योजनाकार अझै फरार

समाधान संवाददाता २०८० असोज २५ गते १०:५७

पोखरा ।
मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि भएको आक्रमण र तोडफोडको प्रतिवेदन कास्की प्रहरीले बुधबार सरकारी वकिलको कार्यालयमा बुझाएको छ । तर, घटनाका योजनाकार भने अझै फरार छन् ।


आक्रमण र तोडफोडमा उत्रिएका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भए पनि ९ जनालाई मात्र पक्राउ गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो । फरार १० जनामध्ये केही आक्रमणका मुख्य योजनाकार रहेको खुलेको छ । प्रहरीको अनुसन्धानमा घटनाका मुख्य योजनाकार भनिएका गौरव बराल र पशुपति भट्टराई फरार छन् ।


भट्टराई नेपाली कांग्रेसका भातृसंस्था तरुण दलका नेता केन्द्रीय सदस्य हुन् भने बराल नेविसंघ कास्की सभापति । गौरव बराल र पशुपति भट्टराईकै नेतृत्वमा घटनालाई थप अतिरञ्जित बनाएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । पक्राउ पुर्जी जारी भएका १९ जनामध्ये केही यसअघि नै विभिन्न आपराधिक घटनामा संलग्न रहेको पनि प्रहरी अनुसन्धानमा देखिएको छ ।

Advertisement


लमजुङकी ५७ वर्षीया सुकमाया दुराको असोज ८ मा उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा निधन भएको थियो । श्वासप्रश्वास र ढाड दुख्ने समस्याबाट पीडित उनलाई लमजुङ अस्पतालले पोखरा रिफर गरेको थियो । तर, उनको उपचारको क्रमममा निधन भयो ।

१९ जनाविरुद्ध मुद्दा चले पनि ९ जना मात्रै पक्राउ परेका छन्

Advertisement


घटनासिछ सुकमायाका आफन्तले अप्रेसन गर्न थाहा नदिएको, बिरामीको अवस्थाबारे जानकारी नदिइएको र एक्कासि ज्यान गएको भन्दै आक्रोश व्यक्त गरे । तोडफोड र हातपातमा संलग्न भएको आरोपमा पोखरा ५ मालेपाटनका विनय गुरुङलाई प्रहरीले पक्राउ गर्‍यो । विनय पक्राउ परेपछि नेविसंघ र तरुणद लका नेताद्वय बराल र भट्टराईकै योजना मणिपालमा तोडफोड र डाक्टर कुटपिट भएको अनुसन्धानमा खुलेको हो ।


पक्राउ गरिएका ९ जनाविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन अनुसार कारबाहीअघि बढाइने प्रहरीले जनाएको छ । उक्त ऐनविरुद्धको कसुर गर्नेलाई २ वर्षदेखि ५ वर्षसम्म कैद र २ लाख देखि ५ लाखसम्म जरिवाना माग दाबी गरिएको छ ।


सिसिटिभी फुटेजमार्फत् प्रहरीले आक्रमण गर्नेको पहिचान गरेको थियो । सोही आधारमा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धानअघि बढाएको हो । पक्राउ पर्नेमा पोखरा ४ का सञ्जय पीडित भनिने सुजित मुल्मी, पोखरा ५ मालेपाटनका अभिनाश गुरुङ, पोखरा ५ पस्र्याङका अरुण गुरुङ, पोखरा ९ नयाँबजारका नितेश गुरुङ, पोखरा ११ फूलबारीका प्रदीप गुरुङ, पोखरा १७ हुनमान टोलका छावा भनिने सुशील कार्की, पोखरा ५ मालेपाटनका विनय गुरुङ, मनिष थापा र विजय गुरुङ छन् ।


उनीहरुमध्ये मनीष र विजयबाहेक सबैको आपराधिक पृष्ठभूमि देखिएको छ । प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) मा नाम उल्लेख गरिएका ७ जनाको आपराधिक पृष्ठभूमि देखिएको हो । सुजित मुल्मी यसअघि १५ पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति भएको खुलेको छ । यसअघि १५ घटनामा समातिएका सुजित मुल्मीमाथि ज्यान मार्ने उद्योगसम्मको मुद्दा दर्ता गर्ने सरकारी वकिलको तयारी छ ।


मुल्मी पछिल्लोपटक गत वर्ष असारमा लागुऔषधसहित पक्राउ परेका थिए । मुल्मीसहित त्यति बेला ३ जनालाई कास्की प्रहरीले डाइजापाम ६५ एम्पुल, फेनेरागन ६५ एम्पुल, नुर्फिन ६५ एम्पुल गरी १९५ एम्पुल र कालो छालाको दापभित्र राखिएको धारिलो हतियारसहित पक्राउ गरेको थियो । यसअघि उनी सार्वजनिक अपराधको मुद्दामा १० पटक, ज्यान मार्ने उद्योगको कसुरमा १ पटक, बैंकिङ कसुर (कर्जाको दुरुपयोग) मा १ पटक र लागुऔषधमा ३ पटक गरी १५ पटक पक्राउ परेर मुद्दासमेत चलेका व्यक्ति हुन् ।


विभिन्न केसमा पक्राउ परेका व्यक्ति नै डाक्टरमाथि आक्रमण र तोडफोडमा उत्रिनुले उनीहरुलाई कसैले भाडामा प्रयोग गरेको हुन सक्ने आशंका गरिएको छ । उनीहरु मृतकका कुनै आफन्तसमेत नरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।


पक्राउ परेका अर्का आरोपी अभिनाश गुरुङ पनि यसअघि ८ पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति हुन् । उनी सार्वजनिक अपराधमा ५ पटक, अपहरण तथा शरीर बन्धकमा १ पटक, ज्यान मार्ने उद्योगमा १ पटक र लागुऔषधमा १ पटक गरी ८ पटक पक्राउ परेर परेर मुद्दा चलेको व्यक्ति भएको कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले जानकारी दिए ।


नितेश गुरुङ भने यसअघि १ पटक अभद्र व्यवहार कसुरमा पक्राउ परी मुद्दा चलेका व्यक्ति हुन् । अर्का प्रतिवादी प्रदीप गुरुङ सार्वजनिक अपराध कसुरमा ४ पटक र अपहरण तथा शरीर बन्धकको कसुरमा १ पटक गरी ५ पटक पक्राउ परी मुद्दा चलेका व्यक्ति रहेको खुलेको छ । छावा भनिने सुशील कार्की ज्यान मार्ने उद्योगमा ३ पटक पक्राउ परी मुद्दा चलेको थियो ।


पछिल्लो पटक २०७८ कात्तिक २९ गते छावालाई कास्की प्रहरीले बुटवलबाट पक्राउ गरेको थियो । ज्यान मार्ने उद्योगको कसुरमा फरार रहेका छावालाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो । मृतक दुराका ज्वाइँ नाता पर्ने विनय गुरुङ भने योभन्दा अघि सार्वजनिक अपराधको कसुरमा २ पटक पक्राउ परेका थिए । घटनासँग असम्बन्धित र राजनीतिक दलका भातृ संगठनका जिम्मेवार व्यक्तिहरुसमेत संलग्न देखिँदा घटनामा राजनीतिक रंगसमेत मिसिने खतरा देखिन्छ ।

तपाईको प्रतिक्रिया