‘हामी योजनाकार होईन, सहजकर्ता हौं’

समाधान संवाददाता २०८० असोज २५ गते १५:३४

पोखरा ।
मणिपाल शिक्षण अस्पतालमा डाक्टर माथि कुटपिट र तोडफोडका घटनाको योजनाकारको अभियोग लागेका कास्कीका दुई युवाले आफुहरु योजनाकार नभएर सहजकर्ता भएको दावी गरेका छन् ।

कास्की प्रहरीले फरार अभियुक्तको सूचिमा राखेका दुवै जना पशुपति भट्टराई र गौरव बराल समाधानको सम्पर्कमा आएका छन् । उनीहरुले आफुहरु प्रहरी सम्पर्कमा रहेको र घटनालाई मिलाउनका लागि सहयोगीको भूमिका खेलेको समाधानलाई बताए ।

अस्पताल तोडफोड र डाक्टर माथि कुटपिटको अभियोगमा कास्की प्रहरीले १९ जनालाई दोषी ठहर गर्दै अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । १९ जना मध्ये ९ जना प्रहरी हिरासतमा छन् भने १० जना फरार छन् । फरार मध्येका दुई जना पशुपति र गौरवलाई घटनाको योजनाकार बताइएको छ ।

Advertisement

समाधान मिडियाको सम्पर्कमा आएका दुवै जनाले घटना घटेदेखि नै आफुहरुले सहयोगीको भूमिका निर्वाह गरेको बताए । मणिपालमा घटना हुन सक्छ भन्दै आफूहरुले नै जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी र डिएसपीलाई सूचना दिएका हौं भन्दै सहजकर्ताको भूमिका निर्वाह गर्दा योजनाकारको अभियोग लाग्नु दुखद भएको बताए ।

उनीहरु दुवै जना समाधानसँग टेलिफोन सम्पर्कमा आएका हुन् । कास्की प्रहरीले भने फरार रहेको र खोजी गरिरहेको दावी गरेको छ । पशुुपति नेपाल तरुण दलका केन्द्रीय सदस्य हुन् भने गौरव नेविसंघ कास्कीका अध्यक्ष हुन् ।

Advertisement

मृतकका आफन्तले सहयोग मागेकाले आफुहरु अस्पतालमा गएको र अस्पतालमा असहज परिस्थिति उत्पन्न हुने देखेपछि प्रहरीलाई खवर गरेको उनीको दावी छ । सहजीकरण गर्दा गर्दै अस्पताल तोडफोड र स्वास्थ्यकर्मी माथि हातपात घटनामा आफुहरुको संलग्नता नरहेको दावी गरे ।

मणिपाल डाक्टर आक्रमणका मुख्य योजनाकार अझै फरार

तपाईको प्रतिक्रिया