नखाएको विषले आहत

फडिन्द्र अकिञ्चन २०८० कार्तिक १७ गते १०:३१

पोखरा ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने खारापानीका सन्तोष गुरुङ अचेल पनि सेती नदी धमिलो हुँदा झस्किन्छन् । ०६९ वैशाखमा आएको सेती बाढीले उनकी श्रीमतीलाई बगाएको थियो । बाढीमा २८ जनाको ज्यान गयो, ३० अझै बेपत्ता छन् । खारापानीका ८ घर र तातोपानी कुन्डको नामोनिशान रहेन ।


खारापानी अहिले सुनसान छ । त्यहाँ बनेको स्मृति पार्क झाडीले छोपिएको छ । तातोपानी अहिले हातमुखमात्र धुन मिल्ने खालको छ । कुनै बेला पिकनिक जाने, तातोपानीमा डुबुल्की मार्नेको घुँइचो हुने तातोपानी अहिले सुनसान छ । लाग्छः बाढीको सन्नटा अझै बाँकी छ । पुनर्निर्माण गर्ने भनिए पनि ११ वर्षमा जग्गा सम्याउनेबाहेक केही भएको छैन । सन्तोष अहिले नजिकैको चिप्लेटी भन्ने ठाउँमा व्यापार गर्छन् ।


गएको साउन २८ गते मुस्ताङको कागबेनीबासीका लागि कालो दिन बन्यो । कागखोलामा आएको बाढीले २९ पक्की भवनसहित पुल बगायो । श्राद्धस्थल बगर बन्यो । त्यहाँको जनजीवन अझै लयमा आउन सकेको छैन । प्रधानमन्त्रीसहित विभिन्न टोली पुगेर कागबेनीलाई पुरानै स्वरुपमा फर्काउने र जलवायु परिवर्तनका असर रोक्न प्रभावकारी कदम चाल्ने आश्वासन दिएका छन् । त्यो कार्यान्वयन होला/नहोला, हेर्न बाँकी छ ।

Advertisement


०७१ असोजमा मुस्ताङ, मनाङ, म्याग्दी र डोल्पाको हिमाली क्षेत्रमा आएको हुदहुद आँधीमा परी ४३ पदयात्राले ज्यान गुमाएका थिए । गण्डकी क्षेत्रमा बारम्बार यस्ता विपद् देखिने गरेका छन् । जलवायु परिवर्तनका कारण निम्तिने यस्तै विपद् र परिवर्तन नियाल्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस मंगलबार अन्नपूर्ण आधार शिविर पुगे ।


हिमनदीको कटानले त्यहाँका छ होटल नै विस्थापित हुने अवस्थामा छन् । स्थानीयसँग महासचिव गुटेरेसले जलवायु संकटको सामना गर्न सघाउने वाचा गरे । जलवायु परिवर्तनको असर देखिएको भन्दै उनले यो संकट निम्त्याउनेहरुले नै संकटमा पर्नेहरुलाई सहयोग गर्नुपर्ने वाचा गरे ।

Advertisement

खारापानी बगाएको सेती बाढी, एबिसीमा हिमनदीको कटान र कागबेनी बाढीले गण्डकीमा जलवायु संकट आइसकेको पुष्टि गर्छ


पछिल्लो ३ दशकमा नेपालका एक तिहाइ हिमताल हराएका छन् । बेला बेलामा हिमतालहरु फुट्ने हल्लाले जनजीवन त्रसित बनाउने गरेको छ । हिमाल नेपालसहित भारत वर्षको नै लाइफ लाइन हो । महासचिव गुटेरेसले मंगलबार नेपालको संघीय सांसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै भनेका थिए, ‘हिमाल लाइफलाइन हो । यो नै वर्वाद हुन दिनुुहुन्न । जलवायु संकट भविष्यको मात्र समस्या होइन, आजकै समस्या हो ।’


नेपालमा जलवायु परिवर्तनका कारण आएका संकटको साक्षी आफू नै रहेको जनाउँदै उनले यो समस्यालाई अन्तर्राष्ट्रिय मञ्चहरुमा उठाउने वाचा गरेका छन् । जलवायु परिवर्तनबाट भविष्यमा अकल्पनीय संकटहरु आउने विज्ञहरु बताउँछन् । त्यसलाई कम गर्न र विकासोन्मुख देशहरुलाई अहिले देखिएका संकटहरुको सामना गर्न ठूलो धन राशि र चेतना अवश्यक पर्छ । महासचिव गुटेरेसले नेपाल जस्ता देशसँग राष्ट्रसंघ रहेको भन्दै जलवायु संकटविरुद्धको अभियानमा सँगै उभिने प्रतीज्ञा जनाएका छन् ।


उनले एभरेस्ट बेस क्यम्पसमेत पुगेका विश्वलाई भिडियो सन्देश जारी गरे । ‘एभरेस्ट बेस क्याम्प गएर यसको असर विश्वलाई देखाएँ । संकट सामना गर्न ठूलो अन्तर्राष्ट्रिय समर्थन जरुरी छ ।’ जलवायु परिवर्तन असरको सामना गर्न प्रतिवर्ष ५ सय मिलियन डलर विकासोन्मुख देशहरुमा खर्च गर्न उनले प्रस्ताव गरेका छन् । उनकै शब्दमा ‘जलवायु न्याय’ गर्न विकसित देशहरुले यो क्षेत्रमा खर्च गर्नैपर्छ ।


विश्वव्यापी तापक्रम वृद्धि र मौसममा भएको परिवर्तनका कारण गण्डकीमा खासगरी मुस्ताङको जनजीवन बढी प्रभावित भएको छ । यस्तो संकटबारे हालसम्म न कुनै अध्ययन भएको छ, न समाधानका लागि ठोस काम । मुस्ताङको समजोङ गाउँका १८ घर खानेपानी अभावले बसाइँ सरेका छन् । तल्लो मुस्ताङमा स्याउ खेतीमा रोग देखिन थालेको छ । स्याउ नै नफल्ने उपल्लो मुस्ताङमा स्याउ फल्न थालेको छ । हिउँ पर्ने मौसममा हिउँ नपर्ने, हम्मेसी पानी नपर्ने मुस्ताङमा भारी वर्षा हुन थालेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त जलवायु परिवर्तनले अनेक समस्या निम्तिएको सुनाउँछन् ।


बेला बेलामा आउने विपदका पीडितहरुको उचित व्यवस्थापन हुन सकेको छैन भने विभिन्न तहका सरकारको प्राथमिकता पनि यो विषय पर्न सकेको छैन । अन्नपूर्ण बेस क्याम्प क्षेत्रका पर्यटन व्यवसायीको संस्था अन्नपूर्ण सेन्चुरी पर्यटन समिति अध्यक्ष ललित गुरुङ भू–क्षय र कटान नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय सरकारको पटक पटक ध्यानाकर्षण गराए पनि केही सुनुवाइ नभएको गुनासो गर्छन् । ‘बारम्बार भनिरहँदा पनि केही काम भएको छैन । राष्ट्रसंघ महासचिवले यही आएर वाचा गरेपछि केही होला भन्ने आश जागेको छ,’ उनी भन्छन् ।

फडिन्द्र अकिञ्चन

अकिञ्चन समाधान दैनिकका वरिष्ठ उपसम्पादक हुन् । 

तपाईको प्रतिक्रिया