खेलाडी निस्सिमको परिवारको मागः निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर

समाधान संवाददाता २०८० मंसिर २१ गते १२:२३

पोखरा ।
नवौं राष्ट्रिय खेलकुदमा भएको प्रतिस्पर्धाका क्रममा निधन भएका प्याराग्लाइडिङ खेलाडी निस्सिम थापाको परिवारले घटनाको निष्पक्ष छानबिन र उचित क्षतिपूर्तिको माग गरेको छ । बुधबार पत्रकार सम्मेलन गरी निस्सिम थापा फाउन्डेसन पोखराले दुर्घटनाबारे अध्ययन अनुसन्धान उचित तवरले नभएको भन्दै आपत्ति जनाएको छ ।


निस्सिमका बुवा एवम् फाउन्डेसनका अध्यक्ष प्रकाश थापाले प्याराग्लाइडिङ खेलका लागि सुरक्षाकाका आवश्यक पूर्वाधार नहुँदा निस्सिमले ज्यान गुमाउनु परेको दाबी गरे ।


नवौं राष्ट्रिय खेलकुदका क्रममा असोज ३० गते सराङकोटबाट उडान भर्नेबित्तिकै निस्सिम थापा जमिनमा बजारिएका थिए । घटनापछि नेपाल नागरिक उड्डयान प्राधिकरणले तत्कालका लागि देशैभर प्याराग्लाइडिङ उडानसमेत रोकेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले प्राधिकरणबाट उडानका लागि अनुमति नलिएको पाइएको थियो ।

Advertisement


उडान भरेको ३ मिनेटभित्रै उनको दुर्घटना हुनु, प्रतियोगिता भएको ठाउँमा आयोजक, सेफ्टी डाइरेक्टरहरु, एम्बुलेन्स, रेफ्री, तथा अन्य सम्बन्धित पक्षसमेत नभएको देखिएको भन्दै फाउन्डेसनका अध्यक्ष थापाले भने, ‘नेफा, ना पोखरा र प्याराग्लाइडिङ संघ गण्डकीले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानबाट उडान अनुमति नै नलिई राखेपसँग समन्वय गरी प्याग्लाइडिङ विद्यालाई खेलकुदमा समावेश गर्नु गैरकानुनी हो । यसको उचित छानबिन गर्दै दोषीलाई कारवाही होस् ।’


फाउन्डेसनले पोखरा रङ्गशालामा निर्माणाधीन पाइलट निस्सिमको शालिक चाडै तयार गर्नसमेत आग्रह गरेको छ । फाउन्डेसनका अध्यक्ष थापाले नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ (नेफा) का पदाधिकारीले लाखौं दुरुपयोग गरेको दाबीसमेत गरे । उनले प्याराग्लाइडिङ उडान भर्ने ठाउँको छेउमै महानगरको अनुमतिबिना ठूलो भवन बनिरहेको जनाउँदै त्यसलाई रोक्न माग गरे ।

Advertisement


‘उडान भर्ने ठाउँवरपर खाली ठाउँ वा खेतीपाती भएको भए निस्सिमको ज्यान जाने थिएन । हजारौं रड ठडिएको अवस्था थियो । वरिपरि ठूलो परियोजना चलाएर थोरै जग्गा उडानका लागि भाडामा दिएर पैसा कमाउने खेलमात्र गर्नुभएन,’ उनी भन्छन् । छोरा गुमाएको ७/८ महिनासम्म आफूहरु पीडामै रहेको जनाउँदै उनले अब न्यायको खोजीमा बाहिर आएको जनाए ।

तपाईको प्रतिक्रिया