कोदोको रक्सीलाई वैधानिकता खोजिरहेका युवा

प्रदर्शनी केन्द्रमा जारी व्यापार मेलामा एउटा युवा समूहले कोदोको रक्सीको प्रदर्शनी पनि गरिरहेको छ

सञ्जय रानाभाट २०८० मंसिर २५ गते १०:१९

सञ्जय रानाभाट, पोखरा ।
व्यापार मेलाको मञ्चअघिको मैदान नपुग्दै, एउटा सटर आउँछ । सटर नम्बर ‘५ बी’ । सटरमा जे छ, त्यसले जो कसैको ध्यान तान्छ । तैपनि जोकोही हत्तपत्त कोही छिर्ने आँट गर्दैनन् । धेरै त परबाटै तर्किन्छन् । सटरको ब्यानरमा प्रष्टै लेखिएको छ—नट फर सेल, वन्ली फर टेस्टिङ अर्थात् किन्न होइन, केवल चाख्न मात्रै । सटरमा खासमा कोदोको रक्सी प्रदर्शनीमा छ ।


खान वा बिक्री गर्न नपाइने प्रावधान राख्नुपर्ने बाध्यता त सरकारले नै बनाइदिएको छ । किनभने कोदोको घरेलु मदिराको उत्पादन र बिक्रीसम्बन्धी कानुन सरकारले बनाइदिएकै छैन । तर प्रदर्शनीमा चाहिँ कसरी त ? पोखरा उद्योग वाणिज्य संघले पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा चलाइरहेको मेलाको पहिलो दिन यसबारे बहस उठेको थियो । बहस उठाएको पनि अरुले होइन, सरकार प्रमुखले अर्थात गण्डकी प्रदेश सरकारका मुखिया सुरेन्द्रराज पाण्डेले ।


मुख्यमन्त्री पाण्डेले गाँजा र कोदोको रक्सीलाई वैधानिकता दिने पक्षमा कुरामात्रै उठाएनन्, त्यस सम्बन्धी कानुनै बनाउने लागेको सुनाए । हो, त्यही विचार सुनेपछि कोदोको रक्सीलाई गुणस्तरीय रुपमा उत्पादन गरी बजारीकरण गर्न कस्सिएका महेश बराल र उनका साथीहरु जुर्मुराए । अनि आफूहरुले गरिरहेको प्रयासलाई प्रदर्शनमा राखे ।

Advertisement


मेलामा ग्रिन गोल्ड डिस्ट्रिलटरी प्रालिको एउटा स्टल छ, जहाँ कोदोबाट उत्पादित रक्सीका बोतल सजाइएका छ र सूचना पनि राखिएको छ—नट फर सेल, वन्ली फर टेस्टिङ (बिक्रीका लागि होइन, चाख्नमात्रै) । स्याङ्जा चिन्नेबासका ७६ वर्षीय मनबहादुर थापाले मेलामा त्यो सूचना अनुसारै एक बिर्काे मदिराको स्वाद चाखे । अनि भने, ‘आहा ! कति मिठो, असाध्यै राम्रो बाबु । एकदमै राम्रो काम गर्‍यौ ।’ थापाले बजारमा पाइने कोदोको रक्सी भन्दा प्रदर्शनीमा चाखेको रक्सी उत्कृष्ट भएको प्रतिक्रिया दिए ।


आइतबारसम्म ६० जनाले चाखेर सकारात्मक प्रतिक्रिया दिएका ग्रिनगोल्ड डिस्ट्रिलरीका बरालले सुनाए । बरालको टिम सकारात्मक प्रतिक्रियाको नतिजा ल्याउन थुप्रै प्रयोगबाट यहाँसम्म आइपुगेको हो । उनकै भनाइमा अहिले ‘कोदोको रक्सी’ मा २५ प्रतिशत अल्कोहल छ । ‘४५ प्रतिशत हुँदा कोदोको रक्सी पनि कसले पानी हालेर खान्छ भन्ने प्रतिक्रिया आयो, १५ प्रतिशत हुँदा पानीजस्तो खल्लो,’ बराल सुनाउँछन्, ‘२५ प्रतिशतचाहिँ सबैले मन पराउनुभएको छ ।’

Advertisement


मुख्यमन्त्री पाण्डेको भाषण नसुनेको भए बरालको टिम व्यापार मेला नआउन पनि सक्थ्यो । जे गरिरहेको थ्यो, आफ्नै सुरमा अनुसन्धान गरिरहेको थियो यही रक्सीमा । यसै पनि उनी फुड टेक्नोलोजी पढेका व्यक्ति हुन् । १० जनाको साथीहरुको टोलीले डेढ वर्षदेखि कोदोको रक्सीमा अनुसन्धान गरेर अहिले एउटा स्टयान्डर्ड खालको उत्पादन तयार गरेको बरालले सुनाए ।

‘विदेशबाट रक्सी आयात गर्दा राज्यको अर्बौं रुपैयाँ बाहिरिएको समाचार पढिरहन्थ्यौं, हामी १० जना ती समाचारबाट प्रभावित भयौं,’ उनले भने, ‘त्यसपछि कोदोको रक्सीमा अनुसन्धान थाल्यौं ।’ अनुसन्धानकै क्रममा उनीहरुले परम्परा रुपमा घरेलु मदिरा उत्पादन हुने गाउँहरुमा अध्ययन गरे । परम्परागत ज्ञान सिपका कुरा पनि सिके । अनि त्यसैमा वैधानिक रुपमा काम गर्न नै उनीहरुले ग्रिन गोल्ड डिस्ट्रिलिटरी दर्ता गरेका हुन् । तर अब उनीहरुलाई एउटै प्रतीक्षा छ—सरकारले नेपालकै कोदोको रक्सीलाई वैधानिक दिने कानुन ल्यायोस्, गुणस्तरको मापदण्ड पनि बनाओस् !’

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया