चिलिमे जलविद्युतले १५ प्रतिशत लाभांश दिने, प्राथमिकतामा बोनस

समाधान संवाददाता २०८० मंसिर २५ गते १६:२५

काठमाडौं ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २२ गते सम्पन्न कम्पनीको २४३औं सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको हो ।


कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्ताहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने १ अर्ब ८ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने भएको छ । लाभांशमध्ये १० प्रतिशतले हुन आउने ७२ करोड ५८ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको हो । बोनस सेयरमा लाग्ने कर प्रयोजनलाई कम्पनीले ५ प्रतिशत नगद लाभांश दिने भएको हो ।


कम्पनीले पुस २० गते शुक्रबार साधारण सभाको मिति तोकेको छ । पुस ८ गते बुक क्लोज मिति तोकिएको छ । हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब २५ करोड छ । लाभांश वितरणपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब ९८ करोड रुपैयाँ पुग्ने छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा लगानीकर्ताहरुलाई ७.५ प्रतिशत नगद र ७.५ प्रतिशत बोनस गरी १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया