मुक्तिनाथलाई ११ देशका मुद्राको भेटी

सुन्दरकुमार थकाली २०८० मंसिर २७ गते १०:३३

जोमसोम ।
हिन्दु र बौद्धहरूको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ मन्दिरमा राखिएको दानपेटिका बाकसमा नेपालसहित ११ देशका भक्तजनहरुले नगद भेटी चढाएका छन् । मुक्तिनाथ मन्दिरको दानपटिका बाकसको भेटी रकम गणना गर्ने क्रममा नेपालसहितका ११ देशका मुद्रा भेटिएको हो ।


मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदी, मुक्तिनाथ विकास समितिका सदस्य सचिव एवं मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्यप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक मिलनबहादुर विक, वारागुङ मुक्तिक्षेत्र—१ वडा कार्यालय प्रतिनिधि र मन्दिरका आनीझुुमा र पुजारी लगायतको रोहबरमा शुक्रबार भेटी रकम गणना गरिएको हो ।


मुक्तिनाथ मन्दिरमा ३/३ महिनामा मन्दिरको दानपेटिका बाकसमा चढाइएको भेटी गणना गर्ने भनिए पनि सो कार्यतालिका अनुसार भेटी गणना हुन सकेको छैन । यसअघि गत वर्षको जेठ १८ गते गणना गरिएको भेटी ६ महिनापछि मंसिर २१ गते गणना गरिएको हो ।

Advertisement


मुक्तिनाथ मन्दिरमा राखिएको भेटी चन्दा बाकसको रकम गणना गरिँदा ११ देशका मुद्रा जम्मा भएको पाइएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव एवं मालपोत कार्यालयका प्रमुख सूर्यप्रसाद शर्माले उल्लेख गरे । शर्माका अनुसार मुक्तिनाथका ५ वटा चन्दा भेटी बाकसमा नेपाली रुपैयाँ १० लाख ९५ हजार ८४० जम्मा भएको छ । भारतीय रुपैयाँ ५ लाख ३४ हजार २४० रुपैयाँ जम्मा भएको हो ।


यसैगरी मुक्तिनाथको भेटी गणना गर्दा अमेरिकी डलर ७१९, अरबी ३२५, कोरियाली १ हजार, बेलायती पाउन्ड १, भुटानी २०, हङकङ डलर ३०, युरो १०, मलेसियाली २ र ओमानी मुद्रा १ सय जम्मा भएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव शर्माले जानकारी दिए । गणना गरिएको भेटीमध्ये नेपाली मुद्रा १० लाख ९५ हजार ८४० रुपैयाँ बैंकमा जम्मा गरिएको सदस्य शर्माले बताए ।

Advertisement

सटही नहुने रुपैयाँ प्रहरी कार्यालयमा थन्क्याइयो


तर, भारतीय रुपैयाँसहित १० वटा देशका भक्तजनले चढाएको रकम भने सटही हुन नसकेपछि मंगलबार जिल्ला प्रहरी कार्यालय मुस्ताङको जिम्मा लगाइएको छ । यसअघि गणना गरिएको विभिन्न देशका नागरिक भक्तजनले चढाएको भेटी रकम पनि सटही हुन नसक्दा मुस्ताङ प्रहरी कार्यालयको जिम्मा लगाईएको थियो ।


मुक्तिनाथ विकास समिति अन्तर्गत गरिने आर्थिक संकलनका लागि समितिले रसिद काटेर चन्दा संकलन गर्न एकजना कर्मचारी खटाएको छ । समितिले मुक्तिनाथ मन्दिर परिसरमा भेटी संकलनका लागि ५ वटा चन्दा बाकस राखेको छ । पछिल्लो समय मुक्तिनाथमा डिजटल भेटी दान गर्न चाहने भक्तजनका लागि समितिको खाता रहेको प्रभु बैंकको क्युआर कोड प्रयोग गरी दान गर्न सकिने व्यवस्था मिलाइएको छ । मुक्तिनाथमा कार्यरत समितिका चन्दा संकलन गर्ने कर्मचारी रविन सुवेदीले चालु वर्षको साउनदेखि हालसम्म करिब १५ लाख रुपैयाँभन्दा बढी रकम रसिद काटेर संकलन भएको जानकारी दिए ।


मुक्तिनाथ मन्दिरको भेटी २०८० को जेठसम्ममा करिब ७ करोड मौज्दात रहेको मुक्तिनाथ विकास समेतका लेखा हेर्ने कर्मचारी अजित मगरले जानकारी दिए । उनका अनुसार समितिको खातामा ६ करोड ९१ लाख छ । जसमध्ये ११ लाख ४९ हजार सटही हुन सकेको छैन । उल्लेखित मौजादमा बैंकको ब्याज समेत जोडिएको उनले बताए ।


यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा नगद रसिद काटेकोबाट १ करोड ३ लाख २९ हजार जम्मा भएको थियो । आर्थिक वर्ष २०७९÷०८०को चैतमा दानपेटिका बाकसको भेटी रकम गणना गर्दा १० लाख ८४ हजार उठेको थियो । सोही वर्षको असारमा गणना गर्दा ७ लाख ५३ हजार ७ सय र ६ लाख ३५ हजार भारतीय गरी १७ लाख ६९ हजार रकम जम्मा भएको थियो ।


मुक्तिनाथ विकास समितिको मुस्ताङका ५ वटै बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालनमा छ । समितिले मन्दिर व्यवस्थापनका लागि एकजना पुजारीसहित ४ जना कर्मचारी खटाइएको छ । उनीहरुका लागि करिब बर्सेनि ९ लाख खर्च हुने गर्छ । मुक्तिनाथ मन्दिरको भित्री परिसरमा देउतालाई चढाएको नगद तथा जिन्सी गरगहना र सामान संकलन गर्न भने मुक्तिनाथ विकास समितिले पाएको छ । मन्दिरभित्र चढाइएको नगद तथा जिन्सी सामग्री मन्दिरमा कार्यरत आनीझुमाहरुले सदियाैंदेखि संकलन गर्दै आइरहेको छ । मन्दिरभित्र चढाइएको भेटी सम्बन्धी विवाद अझै सुल्झन सकेको छैन ।


मुक्तिनाथ मन्दिरभित्र चढाइएको भेटी समितिको स्वामित्वमा राख्न र त्यहा कार्यरत आनी झुमाहरुको व्यवस्थापन समितिले गर्न पुनरावेदन अदालत बाग्लुलले गरेको फैसला कार्यान्वयन गर्न पटक/पटक अदालतले परिपत्र गरे पनि उक्त समस्या ज्यूँका त्यूँ नै छ । फैसला कार्यान्वयनको दशौं वर्ष बितिसक्दा र दर्जनौ सिडिओ परिवर्तन हुँदासमेत मन्दिरभित्र चढाएको भेटी तथा जिन्सी दानको विवाद सुल्झन सकेको छैन ।


मुक्तिनाथ मन्दिर रेखदेख तथा व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीलाई मुक्तिनाथ विकास समितिको अध्यक्षको कार्यभार दिइएको छ । समितिको सदस्य सचिव मालपोत कार्यालयका प्रमुखलाई जिम्मेवारी तोकिएको छ । मुक्तिनाथमा बेग्लै स्थानीय स्तरबाट मुक्तिनाथ स्थानीय संरक्षण समिति पनि गठन भएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया