मुस्ताङमा ३३ केभी प्रशारण लाइन

सुन्दरकुमार थकाली २०८० मंसिर २७ गते १०:४८

जोमसोम ।
मुस्ताङमा ३३ केभी प्रशारण लाइन विस्तार सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरणले मुस्ताङको थासाङ गाउँपालिका २ कोवाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका १ चराङसम्मको १ सय ३ किलोमिटरमा ३३ केभी प्रशारण लाइन विस्तारको काम अघि बढाएको हो ।


कोवाङदेखि उपल्लो मुस्ताङसम्म अहिले ११ केभी प्रशारण लाइन छ । नेपाल विद्युत प्राधिकरणको मापदण्डमा एक सबस्टेसनबाट अर्को सब स्टेसनसम्म बढीमा ५० किमी हुनुपर्छ । तर, कोवाङदेखि उपल्लो मुस्ताङसम्म १ सय ५० किमीभन्दा बढीमा ११ केभी प्रयोगमा छ । जसका कारण विद्युत भोल्टेज तलमाथि हुने गर्छ ।


अहिलेको ११ केभी प्रशारण लाइनबाट बारम्बार विद्युतीय समस्या हुँदा मुस्ताङीले सास्ती व्यहोर्दै आएका छन् । यो समस्या समाधान गरी दीर्घकालीन रुपमा विद्युत सेवा भरपर्दो र प्रभावकारी बनाउन नेपाल विद्युत प्राधिकरणले ३३ केभी प्रशारण लाइन विस्तारको काम अघि बढाएको प्राधिकरणका इन्जिनियर विमलराज रावतले जानकारी दिए । प्राधिकरणले ११ केभी प्रशारण लाइनलाई विस्थापित गरी मुस्ताङको चैले र चराङमा दुई वटा सबस्टेन निर्माण गर्ने तयारी गरेको छ । यसका लागि प्राधिकरणले गत कात्तिक २ गते ठेक्का आह्वान गरेको थियो ।

Advertisement


यसको अन्तिम म्याद मंसिर २६ गते छ । त्यसपछि आवेदन परेका कम्पनीको कार्यदक्षता भेरीफाइ गरी निर्णयमा पुग्ने प्राधिकरणका इन्जिनियर रावतको भनाइ छ । प्राधिकरणले सबस्टेसनको कुल लागत गोप्य राखेको छ । ठेक्का सम्झौता भएपछि पाउने कम्पनी र ठेक्का लागत सार्वजनिक हुने रावतले जनाए ।

थासाङ–२ कोवाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–१ चराङसम्मको १ सय ३ किलोमिटरमा ३३ केभी प्रशारण लाइन विस्तार हुँदै

Advertisement


प्राधिकरणले ३३ केभी सबस्टेशनको ठेक्का आह्वानअघि ३३ केभी प्रशारणका लागि सन् २०२३ को जुलाई ६ तारिखमा ठेक्का आह्वान गरेको थियो । प्राधिकरणले कोवाङदेखि चैलेसम्मको १ सय ३ किमी विद्युत प्रशारण लाइन विस्तार गर्न २७ करोड ६५ लाख लागतमा प्याराडाइज विल्डर्स काठमाडौंसँग ठेक्का सम्झौता गरेको थियो ।


प्याराडाइज विल्डर्सका प्रबन्ध निर्देशक किरण दाहालले सम्झौता अनुसार २ वर्षभित्र काम सक्नुपर्ने बताए । यसका लागि कम्पनीले मंसिरको पहिलो सातादेखि मुस्ताङको ताङ्वेदेखि माथिल्लो क्षेत्रमा विद्युत पोल गाड्ने र पोलको ६ फिट गहिराइमा पिसिसी खन्ने काम सुरु गरेको जनाएको छ ।


प्याराडाइज विल्डर्सका इलेक्ट्रिकल इन्जिनीयर सन्तोष प्याकुरेलसहितका १५ जना विद्युत पोल विस्तार र प्रशारण लाइनको तार जोड्ने काममा खटिएका छन् । प्रतिकुल मौसममा समेत मुस्ताङमा ३३ केभी प्रशारण लाइनका लागि पोल गाड्ने र तार तान्ने काम जारी छ ।


पहिलो चरणमा कोवाङदेखि चैलेसम्म र दोस्रो चरणमा चैलेदेखि चराङसम्म ३३ केभी प्रशारण लाइन विस्तारको कामअघि बढाउने प्याकुरेलको भनाइ छ । प्राधिकरणसँगको ठेक्का सम्झौता अनुसार ३३ केभी प्रशारण लाइन विस्तार अन्तर्गत कोवाङदेखि चराङसम्मको १ सय ३ किमीको ३३ केभी सबस्टेसनसम्म २ हजार २६५ वटा पोल राखिनेछ ।


त्यसमा ३ सय १५ किमी लामो तार जडान गर्ने योजना छ । हाल म्याग्दी हुँदै मुस्ताङको कोवाङसम्म ३३ केभी प्रशारण लाइन छ । मुस्ताङमा ३३ केभी सबस्टेसन निर्माणका लागि चैले र चराङमा जग्गा छनोट भइसकेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । उनले मुस्ताङमा ३३ केभी सबस्टेसनका लागि पहल गरेको र नेपाल विद्युत प्राधिकरणले उपल्लो मुस्ताङमा ३३ केभी प्रशारण लाइनको आवश्यकता देखेर निर्माणको काम अघि बढाएको अध्यक्ष बिष्टको भनाइ छ ।


उनले ३३ केभी प्रशारण लाइन तथा सबस्टेसन निर्माणपछि मुस्ताङले झल्दै आएको विद्युतको समस्या अन्त्य हुने दाबी गरे । प्राधिकरणले नेपाल—चीन उत्तरी कोरला नाकासम्म भरपर्दो विद्युत सेवा पु¥याई निकट भविष्यमा सञ्चालन हुने व्यापारिक मार्गलाई टेवा पु¥याउन सटस्टेसन तथा प्रशारण लाइन विस्तारलाई प्राथमिकता दिएको हो ।


मुस्ताङको टुकुचेमा थापाखोला हाइड्रो पावर कम्पनीले १३ दशमलव ६ मेघावाट विद्युत उत्पादन गरेको छ । ३३ केभी सबस्टेसन नहुँदा त्यसको बिजुली प्रयोग हुन सकेको छैन । मुस्ताङमा उत्पादित बिजुली कम्पनीले कोवाङको ३३ केभी सबस्टेसनमा सर्कुलर गरे पनि मुस्ताङका ४ पालिकाले उपयोग गर्न पाएका थिएनन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया