मानसिक स्वास्थ्य मार्गदर्शन बनाइँदै

समाधान संवाददाता २०८० मंसिर २७ गते १२:१२

पोखरा ।
राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन (कोशिश)ले स्थानीय तहका लागि सामुदायिक मानसिक सुस्वास्थ्य कार्यक्रम सञ्चालन मार्गदर्शन बनाउन काम थालेको छ ।


मार्गदर्शन पुस्तिका बनाउन लागि कार्यशाला गोष्ठी गरेर स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य तथा शिक्षा शाखाका कर्मचारीसँग राय, सुझाव लिएको कोशिशका मनोविद् संगीता खड्काले जानकारी दिइन् । अहिलेसम्म सरकारी तथा गैरसरकारी निकायबाट मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालनका लागि मार्गदर्शन नबनेको अवस्थामा विश्व स्वास्थ्य संगठनको सहकार्यमा कोशिशले सरोकारवालासँग विभिन्न चरणमा छलफल गरेर राय सुझाव संकलन गरेको छ ।


पहिलो चरणमा पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका, पाँचथरको फिदिम नगरपालिकामा मार्गदर्शन पुस्तिका निर्माणका लागि छलफल गरिएको छ । दोस्रो चरणमा तनहुँ लमजुङ र गोरखाका जनप्रतिनिधि तथा कर्मचारीसँग छलफल भएको मनोविद् खड्काले बताइन् ।

Advertisement


‘मार्गदर्शन बनेपछि समुदाय स्तरमा रोकथाम तथा व्यवस्थापनका अलवा स्थानीय तहले स्रोत अनुसारको कार्ययोजना बनाएर कार्यान्वयन गर्न सक्छन्,’ उनले भनिन्, ‘स्थानीय स्तरमा मानसिक स्वास्थ्य सेवा योजना र कार्यान्वयनका लागि मार्गदर्शनले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।’ उनले स्थानीय स्तरमा मानसिक स्वास्थ्य गतिविधिको योजना र कार्यान्वयनमा पालिकाहरुलाई मार्गदर्शन गर्न प्राविधिक पुस्तिकाको विकास गर्न लागेको जानकारी दिइन् ।


कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा फडिन्द्रप्रसाद बरालले मानसिक स्वास्थ्य सेवालाई ग्रामीण क्षेत्रका दूर दराजसम्म पुर्‍याउन चुनौतीपूर्ण भएको बताए । सीमित मनोचिकित्सक सहर केन्द्रीत हँुदा स्वास्थ्यकर्मीलाई तालिम दिएर सेवा प्रदान गरेको उनले उल्लेख गरे ।

Advertisement


उनले राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति र कार्ययोजना २०७७ बनाएर काम गरेको जानकारी दिए । कोशिशले ७ सय ५३ वटै स्थानीय तहमा कार्यक्रम छनोट तथा बजेट विनियोजन गर्नका लागि मोडालिटीमा तयार गर्ने भन्ने विषयमा सहयोग पु¥याउन विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा मार्गदर्शन तयार गरिरहेको उनले जानकारी दिए ।


तनहँुको व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले मानसिक स्वास्थ्यको सवाल राज्य तथा समाजले ध्यान दिने क्षेत्र भएको बताए । मानसिक स्वास्थ्यको सवाल पूर्ण रुपमा निदान गर्ने भन्दा पनि समस्या घटाउने विषय भएको उनले उल्लेख गरे । भिमाद नगरपालिकाका मेयर दधिराज खनालले अब बन्ने नीति तथा कार्यक्रम र बजेटमा मानसिक स्वास्थ्यको सवाललाई समेट्ने जानकारी दिए ।


म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले आवश्यक स्रोत सुनिश्चितता र मनोचिकित्सकको व्यवस्था नहुँदासम्म कार्यक्रम सञ्चालनमा कठिनाई भएको बताए । कार्यक्रममा लमजुङको बेशीशहर नगरपालिकाका उपमेयर पद्मा गुरुङ, गोरखा नगरपालिकाका जनस्वास्थ्य अधिकृत ईश्वर रेग्मी, कोशिशका महासचिव सीता ओझा, कोशिश पोखराका परियोजना संयोजक सुदीप घिमिरेले मार्गदर्शन निर्माण भएपछि स्थानीय तहका लागि सामुदायिक मानसिक सुस्वास्थ्य कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया