मित्रमिलन सहकारीविरुद्ध ७४४ जनाको जाहेरी

३० जना जसका विरुद्ध जाहेरी छ

समाधान संवाददाता २०८० पुष १ गते १५:२९

पोखरा ।
मित्रमिलन सहकारीका ७४४ जनाभन्दा बढी बचतकर्ताले बचत फिर्ताका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी गरेका छन् । उनीहरु सबैको दाबी २० करोड रुपैयाँभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्तासमेत रहेका डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।


पोखरा नयाँबजारस्थित मित्रमिलन सहकारीले त्यतिका बचतकर्ताले उक्त रकम फिर्ता गर्नुपर्ने देखिएको छ । यसअघि सहकारी रजिस्ट्रारको कार्यालयले गरेको वित्तीय अध्ययन तथा विश्लेषणबाट भने बचतकर्ताको २६ करोड रुपैयाँ अपचलन भएको देखाएको थियो । रजिस्ट्रारको कार्यालयले तयार पारेको अध्ययन प्रतिवेदन प्रहरी कार्यालयमा बुझाइसकेको छ ।


उक्त प्रतिवेदन प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर १९ गते सूचना जारी गर्दै सहकारी पीडित बचतकर्तालाई जाहेरी दरखास्त दिन आह्वान गरेको थियो । उक्त सूचनामा २७ मंसिरभित्र जाहेरी दरखास्त दिन भनिएको थियो । सोही अवधिभित्र ७ सय ४४ जनाले पीडित बचतकर्ताका रुपमा जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालयमा दिएका हुन् । जाहेरीकर्ता अझै थपिन सक्ने भएको हुँदा दाबी रकम अहिलेसम्मको २० करोड रुपैयाँभन्दा माथि पुग्न सक्ने प्रहरीको अडकल छ ।

Advertisement


प्रहरीले सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा अध्ययन अनुसन्धान जारी राखेको छ । त्यस क्रममा नै पीडित बचतकर्ताबाट जाहेरी आह्वान गरेको हो । मित्रमिलन सहकारीका सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेका र रकम हिनामिना एवं ठगी गरेको विषयमा अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।


पीडित बचतकर्ताहरुले सहकारी ऐन सम्बन्धी कसुरमा अनुसन्धान गरी प्रस्तुत कसुरमा कारबाहीको माग गरेका छन् । उनीहरुले जाहेरी दिएका ३० जनाभन्दा बढी भए पनि खोज्न प्रहरीसँग अनुरोध गरेका छन् । ‘अन्य कोही कसैको संलग्नता भए निजहरुबाटै खुलाई निजहरुलाई सहकारी ऐन, २०७४ अन्तर्गत हदैसम्मको सजाय गरी हामी जाहेरवाला लगायत अन्य पछि पीडित बनी रकम जम्मा गरेको आधार प्रमाण सहित उपस्थित हुने वचतकर्ताहरुको रकमको साँवा ब्याज लगायतको क्षतिपूर्ति समेत प्रतिवादीहरुबाट नै दिलाई भराई न्याय दिलाई पाऊँ,’ जाहेरवालाहरुले भनेका छन् ।

Advertisement


जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्तासमेत रहेका डिएसपी श्रवणकुमार विकले जाहेरवालाहरु आउने क्रम जारी नै रहेको पनि जानकारी दिए । ‘आउने थप जाहेरीलाई पनि लिइने छ,’ डिएसपी विकले भने । उनकै भनाइमा केही व्यक्ति भने पक्राउ परिसकेका छन् । अब सरकारी वकिलको कार्यालयमार्फत मुद्दामा जाने पनि उनले बताए । सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारी कात्तिक ४ गते नै बैंकिङ कसुरमा पक्राउ परी प्रहरी हिरासतमा थिए । बैंकिङ कसूरबाहेक अब उनीहरुलाई सहकारीको रकम अपचलनको मुद्दा पनि थपिएको छ । अध्यक्ष पौडेल र प्रबन्धकले दर्जनौं नक्कली खाता र नक्कली युजर आइडी बनाएर बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।


सहकारी ऐन २०७४ को दफा १२२ मा सहकारी सदस्यको बचत ऐन, नियम र विनियम बमोजिमबाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग भएमा कसुर गरेको मानिने व्यवस्था गरेको छ । जिल्ला प्रहरीले सहकारीको रकम अपचलन आरोपमा गोपाल खनाल र बुद्धिसागर पौडेललाई पक्राउ गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । रमण, किरण, गोपाल र बुद्धिसागरसँगै राजु बराल पनि पक्राउ पर्दा हालसम्म हालसम्म सो कसुरमा प्रहरी नियन्त्रणमा हुनेको संख्या ५ भएको छ ।

पक्राउ नपरेकाहरुको खोजी प्रहरीले गरिरहेको छ । हालै महान्यायाधिवक्ताको कार्यालयले भने सहकारीका विषयमा मिलापत्र गर्न सक्ने परिपत्र जिल्ला सरकारी वकिलको कार्यालयहरुलाई गरेको थियो ।


जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराकै सूर्यदर्शन बहुउद्देश्यीय सहकारी संस्था लगायतको पनि अनुसन्धान गरिहेको छ । सर्वसाधारणको अर्बौं ठगी गरेको आरोपमा सूर्यदर्शनका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जीबी) राईलगायतविरुद्ध उजुरी छ । उनी पक्राउ परेका छैनन् । बागलुङमा मुख्य कार्यालय भई पोखरामा पनि चलिरहेको इमेज सहकारीका विरुद्ध पनि प्रहरी अनुसन्धान चलिरहेको छ । त्यसका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली ६ महिनाभन्दा बढी समयदेखि फरार छन् ।

जसका विरुद्ध जाहेरी छ
रमण पौडेल, विजय लम्साल, कुशल पौडेल, भीमलाल पौडेल, गोपाल खनाल, संगीता रेग्मी सुवेदी, रनिता थापा, सूर्यबहादुर अधिकारी, प्रतीक लामिछाने, जनकराज पौडेल, किरण अधिकारी, सुजन आचार्य, भुवन पौडेल, लालबहादुर घर्ती, सञ्जय पौडेल, खुमानन्द (अभिषेक) काफ्ले, अर्जुन गिरी, दीपकप्रसाद सुवेदी, विष्णुप्रसाद भण्डारी, भरत भट्टराई, सुवास अधिकारी, वामदेव सुवेदी, जनकल्याण पराजुली, बुद्धिसागर पौडेल, राजु बराल, कृष्णबहादुर राउत, हरेराम भण्डारी, कुमार मगर, सुरेशकुमार श्रेष्ठ, जीवनाथ पराजुली

तपाईको प्रतिक्रिया