लेखनाथ महाेत्सवमा स्वदेशी उत्पादन प्रवर्धन गरिने

समाधान संवाददाता २०८० पुष ४ गते ११:३६

लेखनाथ ।
हरेक वर्ष फरक शैली र फरक खालका योजनामार्फत मेला तथा महोत्सव गर्दै आएको लेखनाथ उद्योग वाणिज्य संघ यसपालि पनि महोत्सवको तयारी गर्दै छ । यस वर्ष गर्न लागेको महोत्सवमा नेपालमा बनेका सामग्रीको बजारीकरणलाई प्राथमिकता दिइने भएको छ ।


लेखनाथ महोत्सवमा यसपालि स्वदेशमा उत्पादन भएका वस्तुको वजारीकरण, उपभोग तथा उत्पादनमा प्रत्साहन गरिने भएको छ । स्वदेशी उत्पादक र उपभोक्तालाई एउटै थलोमा ल्याउने महोत्सवमा हुने ३ सय ३४ स्टल रहनेछन् । तीमध्ये १६ वटा स्टल राष्ट्रिय उत्पादनका हुने छन् भने यस बाहेकका अन्य स्टलमा पनि स्वदेशी उत्पादनकै प्रवद्धन गर्ने योजना छ ।


पुस ५ देखि १८ गतेसम्म चल्ने १९ औँ संस्करणको महोत्सवको तयारीबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय उत्पादनको बजारीकरणदेखि व्यवसायिक प्रवर्धनलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ । संघ अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले संघले २०५८ देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै आएको जनाए । ०६१ देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको संघले विभिन्न जातजाति, भाषाभाषीलाई एकै थलोमा उपस्थित गराएर लेखनाथ क्षेत्रको पहिचान स्थापिन गर्ने प्रयत्नसमेत गरेको हो ।

Advertisement


महोत्सवका प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु)ले तयारी अन्तिम चरणमा पुगेको र अहिलेसम्म करिब ९० प्रतिशत काम सकिएको जानकारी दिए । महोत्सव गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने तय छ ।


संयोजक राजुले यो महोत्सवले कोभिड १९ र युक्रेन युद्धका कारण विश्वभर आएको आर्थिक मन्दीबाट थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन भूमिका निर्वाह गर्ने अपेक्षा सुनाए । पर्यटन प्रवद्र्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगको प्रवद्र्धन, आवश्यक ज्ञान, सप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाको प्रवद्र्धन, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्न आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गर्ने योजना छ ।

Advertisement


महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय महोत्सव सल्लाहकार समिति र ४५ सदस्यीय कार्यसम्पादन समिति एवं उपसमिति संयोजक गठन गरिएको छ । महोत्सवमा २ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने र ९ करोड हाराहारी कारोबार हुने आयोजकको अपेक्षा छ । महोत्सवमा ९० लाख आम्दानी हुने र ८० लाख खर्च भई १० लाख बचत हुने अनुमान छ ।


संघ अध्यक्ष विनोद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव जानुका पराजुली, वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया