१ करोड ५ लाख घुस खाएका पूर्व सहकारी रजिस्ट्रार पराजुली फरार

समाधान संवाददाता २०८० पुष ६ गते १९:३३

पोखरा ।


सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्टार उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । कास्कीको मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न घुस खाएको खुलेपछि पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।


पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् । पराजुली हाल पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् । केही दिनअघि जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएको र उनको खोजी भइरहेको कास्की प्रहरीले जनाएको छ ।
कुश्मा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुनुअघि उनी सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीमा रजिस्ट्रार थिए ।

Advertisement

सोही अवधिमा मित्रमिलनको कार्यक्षेत्र थप गर्ने विषयमा पराजुलीले रकम लिएको सहकारीका सञ्चालकहरुको बयानमा खुलेको र छानबिनमा क्रममा रकम लिएको देखिएको प्रहरीले जनाएको छ ।


अनुसन्धानका क्रममा १ करोड ५ लाख रुपैयाँ पराजुलीले लिएको देखिएको छ । मित्रमिलनको रकम अपचलन अभियोगमा अहिलेसम्म ५ जना पक्राउ परिसकेका छन् । पोखरा २१ का वडाध्यक्षसहित २ दर्जनभन्दा बढी अझै फरार छन् । फरारहरुको खोजी भइरहेको र अनुसन्धान जारी रहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले समाधानलाई जानकारी दिए ।

Advertisement


पूर्वरजिस्ट्रार पराजुलीले कार्यक्षेत्र विस्तारका नाममा १ करोड ५ लाख रुपैयाँ घुस लिएको तथ्य सहकारीकै सञ्चालकहरुको बयानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कास्की स्रोत बताउँछ । घुस दिएको भिडिओ नै सञ्चालकले सुरक्षित राखेको देखिएको हो । सँगै सहकारी अध्यक्ष रमण पौडेलले लेखेको एउटा पत्रमा पनि उक्त घुस प्रकरणबारे उल्लेख रहेको प्रहरीले भेटेको छ ।


तर घुस खाएर पनि सहकारीले चाहेको प्रदेशभरिको क्षेत्रमा शाखा विस्तार तथा कार्यक्षेत्र फैलाउन नपाएपछि पराजुलीसँग सहकारी अध्यक्ष रुष्ट बनेको बुझिएको छ । प्रदेशभरिको सट्टा केवल स्याङ्जाको आँधीखोलामा मात्रै सहकारीले सेवा केन्द्र विस्तारको अनुमति पराजुलीका पालामा पाएको थियो । प्रहरीले भेटेको पत्रमा पहिला दिएको घुसमध्ये केही पराजुलीले फिर्ता गरेको पनि उल्लेख छ ।


सहकारी रजिस्ट्रारको कार्यालयले गरेको वित्तीय अध्ययन तथा विश्लेषणबाट मित्रमिलन सहकारीका बचतकर्ताको २६ करोड रुपैयाँ अपचलन भएको देखिएको छ । रजिस्ट्रारको कार्यालयले तयार पारेको अध्ययन प्रतिवेदन प्रहरी कार्यालयमा बुझाइसकेको छ ।

उक्त प्रतिवेदन प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले मंसिर १९ गते सूचना जारी गर्दै सहकारी पीडित बचतकर्तालाई जाहेरी दरखास्त दिन आह्वान गरेको थियो । उक्त सूचनामा २७ मंसिरभित्र जाहेरी दरखास्त दिन भनिएको थियो । सोही अवधिभित्र ७ सय ४४ जनाले पीडित बचतकर्ताका रुपमा जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालयमा दिएका थिए । त्यसपछि पनि उजुरीहरु प्रहरीले लिइरहेको छ ।


साढे ७ सयभन्दा बचतकर्ताले रकम फिर्ताको मागसहित जिल्ला प्रहरी कार्यालय कास्कीमा उनीहरुविरुद्ध जाहेरी दर्ता गर्दा उनीहरुको दाबी २० करोड हाराहारी छ । प्रहरीले सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा अध्ययन अनुसन्धान जारी राखेको छ ।


पीडित बचतकर्ताहरुले सहकारी ऐन सम्बन्धी कसुरमा अनुसन्धान गरी प्रस्तुत कसुरमा कारबाहीको माग गरेका छन् । उनीहरुले जाहेरी दिएका ३० जनाभन्दा बढी भए पनि खोज्न प्रहरीसँग अनुरोध गरेका छन् ।


मित्र सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्ध निर्देशक किरण अधिकारी कात्तिक ४ गते नै बैंकिङ कसुरमा पक्राउ परी प्रहरी हिरासतमा थिए । त्यसपछि प्रहरीले कुल ५ जनालाई पक्रेको छ । रमण पौडेल, किरण अधिकारी, गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बरालमात्र पक्राउ पर्दा दुई दर्जभन्दा बढीचाहिँ फरार छन् ।


कास्की प्रहरीले पोखराकै सूर्यदर्शन बचत तथा ऋण सहकारी र इमेज सहकारीको रकम हिनामिनाविरुद्ध पनि अनुसन्धान गरिरहेको छ । इमेजका पूर्वअध्यक्ष जिबी राई लगायत र इमेजका संस्थापक अध्यक्ष देवबहादुर नेपाली लगायत अहिले फरार छन् । सहकारी ऐन २०७४ को दफा १२२ मा सहकारी सदस्यको बचत ऐन, नियम र विनियम बमोजिमबाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग भएमा कसुर गरेको मानिने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया