श्रमिक सहकारीको सेयर पुँजी साढे २ करोड

समाधान संवाददाता २०८० पुष १५ गते १२:४३

पोखरा ।
श्रमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पोखरा ९ पृथ्वीचोकको आर्थिक वर्ष २०७९/०८० मा सेयर पुँजी घटेर २ करोड ५७ लाख ९० हजार कायम भएको छ । सहकारीको गत आर्थिक वर्षको सेयर पुँजी २ करोड ८२ लाख २० हजार थियो ।


सहकारीका अध्यक्ष वद्रीनाथ पराजुलीले आर्थिक वर्ष २०७९/०८० मा सहकारीको निक्षप ४ करोड ७५ लाख २७ हजार ७ सय १० कायम भएको जानकारी दिए । सहकारीको शनिबार भएको ११ औं साधारण सभाको उद्घाटन कार्यक्रममा अध्यक्ष पराजुलीले गत आर्थिक वर्षमा सहकारीको निक्षेप ४ करोड ९७ लाख ४१ हजार ९९ रहेको बताए । सहकारीका कोषाध्यक्ष रुद्रबहादुर खत्रीले यस आर्थिक वर्षमा ६ करोड ८१ लाख ६१ हजार ४ सय ८ कर्जा लगानी गरेको बताए ।


सहकारीले गत वर्ष ६ करोड ३८ लाख ९७ हजार ३ सय ७६ रुपयाँ कर्जा लगानी गरेको थियो । कुल बंैक मौज्दात १ करोड ३१ लाख ४७ हजार ९ सय १७ रहेको सहकारीको जगेडा कोष ४० लाख ९६ हजार ७ सय १८ छ ।

Advertisement


नेकपा (एमाले) केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागका प्रमुख खगराज अधिकारीले समाजवादमा जाने आधार नै सहकारी भएको बताए ।


‘सहकारीले सेयर सदस्यलाई आत्म निर्भर र स्वावलम्बन बन्न सिकाउँछ,’ उनले भने, ‘सहकारीहरुको उत्पादन क्षेत्रको लगानी र रोजगारी सिर्जनाले राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुर्‍याउँछ ।’ उनले सहकारीको प्रणेता एमाले भएको दाबी गरे । सहकारीको सञ्चालकमा बसेर रकम अपचलन गर्ने व्यक्ति एमालेको सदस्य हुन नसक्ने उनले उल्लेख गरे ।

Advertisement


नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले सहकारी जथाभावी लगानी गरेर व्याज खाने संस्था नभएको बताए । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका अधिकृत शोभाकान्त बाग्लेले भाका नाघेको ऋण असुल उपर गर्न र संस्थागत (जगेडा) कोष बढाउन सुझाव दिए ।


कार्यक्रममा संविधान सभाका सदस्य चूडामणि जंगली, कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भेषराज बराल, सहकारीका निवर्तमान अध्यक्ष ईश्वरप्रसाद आचार्य, उपाध्यक्ष बलराम पौडेल, सचिव वृहस्पति पराजुली र सञ्चालक समितिका सदस्य, कर्णसिह गुरुङ लगायतले सहकारीका बारेमा बोलेका थिए ।


अध्यक्ष पराजुलीले सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन, कोषाध्यक्ष खत्रीले पेश गरेको आर्थिक प्रतिवेदन र सहकारीको लेखा समितिको संयोजक मञ्जुल सुवेदी प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सभाले सुधारसहित पारित गरेको छ । यो सहकारीमा ४ सय ५६ सेयर सदस्य छन् ।

तपाईको प्रतिक्रिया