लेखनाथ महोत्सवमा ९ करोडभन्दा बढीको कारोबार

समाधान संवाददाता २०८० पुष १७ गते ११:३५

पोखरा ।
लेखनाथमा पुस ५ गतेबाट सुरु भएको १९ औं संस्करणको लेखनाथ महोत्सव सोमबारबाट सकिएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्मृद्धि’ भन्ने उद्घोषका साथ भएको महोत्सवमा अपेक्षाकृत सफल भएको आयोजकको दाबी छ ।


समापन कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नुपर्नेमा जोड दिए । उनले पोखरा आफैंमा सौन्दर्यले भरिपूर्ण रहेको र शिक्षा, खेलकुद, धार्मिक क्षेत्र, भाषा, साहित्यमा लगायतका कुरालाई समेटेर पर्यटनको राजधानी बनाउनुपर्नेमा जोड दिए ।


रुपा गाउँपालिकाका प्रमुख नवराज ओझाले व्यापारिक मेला तथा महोत्सवले आर्थिक समृद्धिमा टेवा पुग्ने जनाए । उनले मेलाले क्रेता र बिक्रेतालाई एकै ठाउँमा जम्मा गरी वस्तु तथा सेवा र उत्पादनको बजारीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे ।

Advertisement


१९ औं संस्करणको महोत्सवमा आयोजकले राखेको लक्ष्यभन्दा बढी दर्शक आएको दाबी गरिएको छ । महोत्सव अवधिभर ९ करोडभन्दा बढीको कारोबार भएको र ३ लाखभन्दा धेरैले अवलोकन गरेको प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले दाबी गरे ।

महोत्सवमा ९ करोडभन्दा बढीको कारोबार र ३ लाख आएको आयोजकको दाबी

Advertisement


कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले१९ औं संस्करणसम्म आउँदा महोत्सवको पनि महोत्सव भन्ने पहिचान स्थापित गर्न सफल भएको सुनाए । उनले लेखनाथभित्रका संघ, संस्था, व्यवसायी, विभिन्न जातजाति, आमा÷महिला समूह र समग्रमा लेखनाथवासीको एकताका कारण सफलता सम्भव भएको उनको भनाइ छ ।


महोत्सवमा निर्माण गरिएको थ्रिडी आर्टसहितको कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघरको नमुना विशेष आर्कषण बन्यो । रत्यौली प्रतियोगिता, विद्यालय स्तरीय कार्यक्रम, सांस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्कने उत्कृष्ट नृत्य प्रदर्शनी, आदिवासी जनजाति तथा आमा/महिला समूहहरुको झाँकी र्‍याली तथा भेषभूषा प्रदर्शनी भएका थिए ।


दर्शकलाई ख्यातिप्राप्त हास्य कलाकारको दैनिक प्रस्तुति कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम र लाइभ म्युजिक कन्र्सटले समेत आकर्षित गरेका थिए ।


महोत्सवबाट बचत हुने रकमबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नति गर्ने लक्ष्य छ । औद्योगिक क्षेत्र निर्माणका लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, स्थानीय महिला तथा युवा उद्यमीद्वारा उत्पादित वस्तुको प्रवद्र्धनका लागि उत्कृष्ट स्तरको कोसेली घर निर्माण गर्ने लक्ष्य लिइएको छ ।

तपाईको प्रतिक्रिया