दरबारथोक मार्गमा पर्फेक्सन कस्मेटोलोजी

समाधान संवाददाता २०८० पुष १७ गते १२:३०

पोखरा ।
अन्तर्राष्ट्रिय स्तरको प्रविधि सेवा, सुविधासहित पोखरामा पर्फेक्सन कस्मेटोलोजी तथा एस्थेटिक एकेडेमी सञ्चालनमा आएको छ । न्युरोडको दरबारथोक मार्गमा करिब ३ करोड लगानीमा सञ्चालनमा आएको एकेडेमी पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङले सोमबार सुरुआत गरिन् ।


बेलायतमा २० वर्ष बसेकी पोखराकी सञ्जु श्रेष्ठले खोलेको एकेडेमीले अंग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिनदेखि औपचारिक सेवा थालेको हो । पर्फेक्सनले अनुभवी कर्मचारी र उत्कृष्ट सौन्दर्य सामग्रीमार्फत सबै खाले सौन्दर्य सेवा दिने सञ्जुले बताइन् ।
उपप्रमुख गुरूङले महिलाले आफैं लगानी गरेर व्यवसाय गरेको देख्दा निकै खुसी लाग्ने सुनाइन् । उनले आशावादी मान्छेले चुनौतीमा पनि अवसर देख्ने जनाउँदै आर्थिक संकटका बेलामा ठूलो रकम लगानी गर्नुले अरूलाई पनि प्रेरणा थप्ने बताइन् ।


महानगरले पछाडि परेका महिलालाई उद्यमी बनाउन उपप्रमुखसँग महिला कार्यक्रम ल्याएर जीविका चलाउन योगदान गरिरहेको उनले सुनाइन् । ‘महिला आफैं स्थापित भएर अघि बढ्नुपर्छ । प्रत्येक महिला आयआर्जनसँग जोडिनुपर्छ भनेर न्यून आय, एकल महिला, हिंसापीडित महिलालाई सबल बनाउन हामीले उपप्रमुखसँग महिला कार्यक्रम ल्याएका छौं,’ गुरूङले भनिन् ।

Advertisement


महिला उद्यमी चिनु गुरूङले स्वास्थ्य र सुन्दरता एकापसमा जोडिएको विषय भएकाले ग्राहकको स्वास्थ्यलाई ध्यानमा राखेर सेवा दिइनुपर्ने बताइन् । उनले राजनीतिज्ञ र सामाजिक अभियन्ताले पनि पार्लर छिरेर सेवा लिइदिँदा आफूहरूलाई पनि हौसला मिल्ने जनाइन् ।


पोखरा भीमसेन टोलमा जन्मिएकी सञ्जु २०५८ मा बेलायत गएकी थिइन् । बेलायतमा सिकेर सञ्जुले २०६२ मा ब्युटी सैलुन खोलेकी थिइन् । अहिले पनि बेलायतमा उनको आफ्नै रमा पर्फेक्सन हेयर एन्ड सैलुन छ । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने भएपछि २ दशक बेलायत बसेर कमाएको पैसा नेपालमा लगानी गरेको सञ्जुले सुनाइन् । वर्षमा ४ जनासम्मलाई एकेडेमीमा निशुल्क सौन्दर्य कक्षा सिकाउने सञ्जुको योजना छ ।

Advertisement

तपाईको प्रतिक्रिया