बजेट नहुँदा कभर्ड हल अलपत्र

सुन्दरकुमार थकाली २०८० पुष २० गते ११:४६

जोमसोम ।
मुस्ताङ सदरमुकाम जोमसोममा निर्माणाधीन कभर्ड हल बजेट अभावका कारण अलपत्र परेको छ । २०७६/०७७ देखि निर्माण सुरु गरिएको यो कभर्ड हल पर्याप्त बजेट सुनिश्चित नहुँदा निर्माण अधकल्चो बनेको हो ।


सरकारले दीर्घकालीन महत्वको ‘एक स्थानीय, तह एक खेलग्राम’सहितको कभर्ड हल पूर्वाधार निर्माणका लागि बहुवर्षीय योजनाअघि बढाएको थियो । जोमसोममा निर्माण हुने २ तले सुविधा सम्पन्न कभर्ड हलको लागत ६ करोड ५८ लाख हुने तय छ । संघ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा निर्माणाधीन जोमसोम कभर्ड हलको काम अहिले रोकिएको छ ।


समयमै बजेट सुनिश्चिता नहुने र बजेट विनियोजन योजनाको लागत अनुपातमा ज्यादै न्यून हुँदा कामले गति नलिएको हो । योजना सुरु भएको ४ वर्ष बितिसक्दा यसको भौतिक प्रगति ३५ प्रतिशतमात्र छ । संघ तथा प्रदेश सरकारबाट बर्सेनि विनियोजन हुने टुक्रे बजेटका कारण कभर्ड हल निर्माणमा विलम्ब भएको हो ।

Advertisement


कभर्ड हल निर्माणको सुरुवाती वर्ष २०७६/०७७ मा संघीय सरकारबाट ४० लाख, प्रदेश सरकारबाट ५० लाख र स्थानीय तहको समपुरक बजेट १५ लाख गरी १ करोड ५ लाख लागत साझेदारीमा भएको थियो । २०७७÷०७८ मा प्रदेश सरकारबाट २५ लाख र स्थानीय तहबाट १७ लाख गरी ४२ लाख बजेटमा कभर्ड हल निर्माणलाई निरन्तरता दिइएको थियो । दोस्रो वर्ष संघीय सरकारले यसमा बजेट विनियोजन गरेन ।


आर्थिक वर्ष २०७८/०७९ मा संघ, प्रदेश र स्थानीय तहको गरी ३२ लाखले कभर्ड हल निर्माणको कामलाई थमाइएको थियो । आर्थिक वर्ष २०७९/०८० मा पनि जोमसोम कभर्ड हल निर्माणका लागि पर्याप्त बजेट सुनिश्चित हुन सकेन । कभर्ड हलका लागि सो वर्ष प्रदेश सरकार र स्थानीय तहको गरी १६ लाख बजेट परेको थियो । कभर्ड हलका लागि संघीय सरकारले आवश्यक बजेट छुट्याउन नसकेपछि योजना निकै सुस्त बनेको हो ।

Advertisement

जोमसोममा साढ ६ करोडमा निर्माण हुने २ तले सुविधा सम्पन्न कभर्ड हलको काम बजेट सुनिश्चित नहुँदा निकै सुस्त


२०८०/०८१ को सुरुवाती चरणमा पनि कभर्ड हलका लागि बजेट सुनिश्चित हुन सकेन । यद्यपि ढिलै भए पनि कभर्ड हलका लागि संघीय सरकारबाट ३२ लाख र स्थानीय तहको समपुरक बजेट २० लाख गरी ५२ लाख बजेट सुनिश्चित भएको छ । चालु वर्षको बजेटबाट कभर्ड हलको वाल निर्माण, ग्राउन्ड ढलान, शौचालय र झ्लाल ढोकाका लागि फर्निचर लगायतका काम सम्पन्न गर्ने योजना रहेको घरपझोङ गाउँपालिकाका सबइन्जिनियर राजन कँडेलले जानकारी दिए ।


उनले यस वर्षको बजेटबाट कभर्ड हलमा खेल सञ्चालन गर्न योग्य बनाइने जनाए । जोमसोम कभर्ड हलको ३५ प्रतिशत भौतिक प्रगति हुँदा २ करोड खर्च भएको कँडेलको भनाइ छ । निर्माणका लागि सानदार कन्टक्सन र सानु कन्टक्सनले २८ लाख बराबरको काम गरेका छन् ।


निर्माण सुरु भएको ४ वर्ष बितिसक्दा दर्शक बस्ने २ प्याराफिट निर्माण भएका छन् भने भूईतलाको स्ट्रक्चर निर्माणको काम सकिएको छ । कभर्ड हलका लागि पर्याप्त बजेट सुनिश्चित नहुने र सुनिश्चत भएको बजेट पनि आर्थिक वर्षमा निकासा नहुने परिरपाटीले निर्माणले अपेक्षाकृत गति लिन नसकेको सबइन्जिनियर कँडेल बताउँछन् ।


जोमसोम खेल मैदानमा ७ सयदेखि ८ सय दर्शक अट्ने छन् । २ तले कभर्ड हलको नमूना डिजाइन प्रदेश सरकारले पठाएपछि घरपझोङ गाउँपालिकाले कभर्ड हलको डिपिआर निर्माण गरेको थियो । यसको लम्बाई ४५ मिटर र चौडाई २५ मिटर हुनेछ ।
जोमसोममा निर्माणाधीन २ तले कभर्ड हलमा इन्डोर भलिबल खेल मैदान, अफिस कोठा, चेन्जिङ रुम, प्यारापिट, भिआइपी कक्ष, मेडिकल हल, शौचालय लगायतका पूर्वाधार निर्माण हुने छन् । मुस्ताङका ५ स्थानीय तहमा सुविधा सम्पन्न इन्डोर खेल मैदान (कभर्ड हल) नहुँदा यहाँ विभिन्न खेल सञ्चालन गर्न निकै कठिनाइ पर्ने गर्छ ।


समुद्री सतहबाट २ हजार ७ सय मिटर उचाइमा अवस्थित मुस्ताङमा दिउँसो १२ बजेपछि बेजोडले हावाहुरी चल्ने हुँदा यहाँ आउट डोर खेल सञ्चालन गर्न मिल्दैन । जिल्ला खेलकुद विकास समिति अध्यक्ष अजित थकाली जोमसोममा कभर्ड हल निर्माण हुन सकेमा यहाँ हुने राष्ट्रपति कप खेलकुद, थाक खेलकुद र स्थानीय स्तरमा सञ्चालन हुने खेल प्रतियोगिताका लागि सहज हुने बताउँछन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया