खेती किसानीलाई चाहिने यन्त्रहरुको प्रदर्शन

कृषियन्त्र खरिद गर्दा किसानलाई पोखरा महानगरको ५० प्रतिशत अनुदान

समाधान संवाददाता २०८० पुष २० गते २०:४२

पोखरा ।
करेसाबारीमा काउली लगाएका पोखरा बिरौटाका एम भट्टराईले शुक्रबार पोखराको प्रदर्शनी केन्द्रमा सुरु भएको कृषियन्त्र र प्रविधिसम्बन्धी प्रदर्शनीमा पुगेर स्प्रिङकल किने । करेसा बारीमा पानी हाल्दा हैरानी खेपेका भट्टराईले स्प्रिङकल किनेको सुनाए । ‘मेरो लागि अत्यावश्यक अहिलेको स्प्रिङकल नै हो । यो जाडामा हातले ओसारेर पानी हाल्दा कम्ता गाह्रो भएको थियो,’ भट्टराईले हातमा स्प्रिङकल देखाउँदै भने ।


पाइपमा पानी जडान गरेपछि स्प्रिङकलमार्फत चौतर्फी समान रुपमा पुग्छ । कृषि औजार प्रविधिको प्रदर्शनी गर्दै आएको नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया)ले गरेको प्रदर्शनी समारोह गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी प्रदर्शनी उद्घाटन गरेका हुन् । पुस २२ गतेसम्म चल्ने प्रदर्शनीमा ७० वटा स्टल छन् । एक हजारभन्दा बढी प्रकारका कृषि सामग्री प्रदर्शनीमा राखिएका छन् ।


प्रदर्शनीमा इको ग्रिनले सुकाउने मेसिन राखेको छ । ‘अब घाम नलागे पनि सुक्छ’ भन्दै विभिन्नथरीका मेसिनहरु इको ग्रिनले प्रदर्शनमा राखेको छ । २४ सै घण्टा ३ सय ६५ दिन नै सुकाउन सकिने विभिन्नथरीका मेसिनमा तरकारीहरु च्याउ, मूला, गाजर काउली गोलभेडा आलु बन्दाकोपी हरियो साग, गुन्द्रुक लगायत तरकारी मस्यौरा सुकाउन सकिन्छ । स्टलमा कम बिजुली खपतमा उम्कने तातो पानी आउने मेसिन पनि छ ।

Advertisement


महोत्सवमा एसके मेसिनरीले ट्याक्टर, पम्प, धान कुट्ने मेसिन औषधी छर्कने स्प्रे प्रवद्र्धनमा राखेको छ । प्रदर्शनीमा राखेको मुक्तिनाथ कृषि कम्पनीले कीरा मार्ने औषधी बेच्न राखेको छ । जुन नेपालमा उत्पादित युएसए स्टान्डर हुन् । सरस्वती प्लास्टिक शनि इन्डस्ट्रिजले किसानका लागि आवश्यक पर्ने ग्रिन हाउस राखेको छ ।


मेलामा खेती कम्पनीले किसानहरुका लागि सहुलियत ऋण पनि दिइरहेको छ । स्टलमा पुगेका किसानले खेतीको प्रक्रिया पुगेकालाई ऋण दिन कम्पनीकी सिद्धिका देउजाले बताइन् । उनले शुक्रबारमात्र पोखरा २६ का केदार विकले २ लाख ऋण लिने प्रक्रिया पूरा गरेका छन् । नबिल बैंकले पनि प्रवद्र्धनमा किसानलाई ऋण दिने व्यवस्था गरेको छ । प्रदर्शनीमा प्रांगारिक मलदेखि आधुनिक किसिमका मेसिन छन् ।

Advertisement


मन्त्री जिसीले प्रदर्शनी उद्घाटन समारोहमा कृषि नेपालीको जीवनरेखा भएको उल्लेख गर्दै यसको आधुनिकीकरण व्यावसायीकरण जरुरी भएको औंल्याए । गण्डकी सरकारले दोस्रो पञ्चवर्षीय योजनामा कृषिलाई पहिलो प्राथमिकतामा राख्ने निर्णय गरिसकेको छ । मन्त्री जिसीले अहिलेसम्म कृषिमा दिइँदै आएका अनुदानको सदुपयोग नभएको स्वीकार्दै त्यसमा पुनरावलोकन जरुरी भएको जनाए । ‘बाख्रा १ जनाको, खोर अर्काको, अनुदान अर्काले लिने अवस्था बन्यो । पुराना किसान निराश र युवामा पनि वितृष्ण देखियो । यसलाई बदल्नैपर्छ,’ उनले भने ।


यसअघि देशका विभिन्न भागमा कृषि औजार प्रविधिको प्रदर्शनी गर्दै आएको नेपाल नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) ले यो प्रदर्शनी आयोजना गरेको हो । नामियाका अध्यक्ष कृष्ण शर्माले पहिलोपटक प्रादेशिक स्तरमा पोखराबाट प्रदर्शनी सुरु गरिएको जनाए ।


प्रदर्शनीमा कृषि औजार, प्रविधि र कृषिसँग सम्बन्धित कार्यालय, वित्तीय संस्थाहरु र बिमा कम्पनीका स्टल छन् । प्रदर्शनीबाट ५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ । अध्यक्ष शर्मा भन्छन्, ‘यो किसान र कृषि औजार उत्पादनको उत्सव हो, मुख्य गरी प्रदर्शनी हो । कारोबारभन्दा बढी बुकिङ हुन्छ ।’


प्रदर्शनीका लागि नामियाले कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, कृषि विकास निर्देशनालय गण्डकी र पोखरा महानगरपालिकासँग सहकार्य गरेको छ । अध्यक्ष शर्माले कृषक उद्यमी, कृषि विज्ञ, विद्यार्थीसहित २० हजारभन्दा बढीले प्रदर्शनी अवलोकन गर्ने उल्लेख गरे । प्रदर्शनीमा नेपालका रैथाने बालीहरु पनि राखिएका छन् । कृषि यन्त्र उत्पादक, नयाँ प्रविधि र कृषि क्षेत्रका चुनौती र अवसरबारे छलफलसमेत हुँदै छ ।


एकै ठाउँमा आधुनिक प्रविधि, कृषि औजार र सरकारी निकायका सेवाबारे जानकारी गराउने, नीति निर्माता र किसानलाई छलफल गराउने भएकाले मेला फलदायी हुने पोखरा महानगर कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनहर कडरिया बताउँछन् । ‘आफूलाई कस्ता सामग्री चाहिन्छ, कसरी प्रयोग गर्ने भन्ने थाहा पाउन पनि मेला उपयोगी हुनेछ,’ उनले भने । कृषिमा यान्त्रिकीकरणले उत्पादन लागत घटाउन र उत्पादकत्व बढाउन सघाउने भएकाले मेलाको विशेष महत्व रहेको उनले औंल्याए ।


कडरियाले २२ गतेसम्म चल्ने प्रदर्शनीमा पोखरा महानगरले किसानहरुलाई सघाउन करिब ८५ लाख रुपैयाँबराबरको अनुदानको व्यवस्था गरेको छ । प्रदर्शनीमा राखिएका कृषियन्त्र खरिद गर्दा किसानले ५० प्रतिशतसम्मको अनुदानको व्यवस्था गरेको छ ।


महानगरले विभिन्न ११ सयजना आवेदनबाट करिब २०० जना किसान छनोट गरेको हो । ‘छनोट भएका किसानले मिनिटिलर र प्लास्टिकका टनेल खरिद गर्ने किसानलाई अनुदानको पनि व्यवस्था गरेका छौं । यसले उहाँहरुलाई सहयोग पुग्ने अपेक्षा गरेका छौं,’ उनले भने ।

तपाईको प्रतिक्रिया