मुस्ताङका च्यांग्रापालकले ५० लाख अनुदान पाउने

राष्ट्रिय समाचार समिति (रासस) २०८० पुष २२ गते १४:०२
Mountain goats being brought to Pokhara for the Dashain festival in Pokhara, on Thursday, October 6, 2016. Photo: RSS

म्याग्दी ।
मुस्ताङका किसानले च्यांग्राको खोर सुधार र स्रोत केन्द्र स्थापना गर्न चालु आर्थिक वर्षमा रु ५० लाखभन्दा बढी अनुदान पाउने भएका छन् ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको च्यांग्रा जोन कार्यक्रमले खोर सुधारका लागि सात र स्रोत केन्द्र स्थापना गर्न २ समूह बुधबार छनोट गरेको हो । उनीहरुलाई यसवर्ष ५० लाख ४७ हजार अनुदान उपलब्ध गराइने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ म्याग्दी/मुस्ताङका प्रमुख नेत्र भट्टले बताए ।


‘अनुदानका लागि मापदण्ड अनुसार आवेदन संकलन र स्थलगत मूल्यांकनपछि छनोट गरिएको हो’, उनले भने, ‘७ च्यांग्राका खोर सुधार गर्न ३ लाख २१ हजार र २ स्रोत केन्द्र स्थापना गर्न१४ लाखका दरले अनुदान पाउनेछन् ।’ किसानले प्रस्तावित परियोजनाको कुल लागतको ८५ प्रतिशत बराबर परियोजनाबाट अनुदान उपलब्ध गराउने कार्यविधि छ ।

Advertisement

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ पालिकामा ४८ हजार च्यांग्रा पालिएका छन्


परम्परागत रुपमा हुँदै आएको च्याङग्रापालनलाई व्यवस्थित र व्यावसायिक बनाई गुणस्तरीय मासु, ऊन तथा पश्मिना उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ ३ वर्षअघिदेखि लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा च्याङग्रा जोन कार्यक्रम लागू भएको छ ।

Advertisement


च्याङग्राका पाठापाठी उत्पादनका लागि यस वर्ष २ ठाउँमा स्रोत केन्द्र स्थापना गर्न लागिएको च्याङ्ग्रा जोनका प्राविधिक गणेश खत्रीले बताए । च्याङग्राका बोका खरिद गर्ने कार्यक्रम छ । च्याङग्रालाई वन्यजन्तुको आक्रमण र हिउँदयाममा चिसोबाट बचाउन खोर सुधार गर्न जोड दिइएको छ । जोनमा आबद्ध किसानले १५ हजारभन्दा बढी च्याङग्रा पालेका छन् ।


च्याङग्रा जोनका लागि चालु आवमा ८६ लाख ८९ हजार विनियोजन गरिएको छ । पूर्वाधार निर्माण र बोका खरिदका अलावा औषधि, आहारा, खोप, किसानलाई प्राविधिक तालिम लगायतका विषयमा बजेट परिचालन गरिने जोनले जनाएको छ ।
गत वर्ष ५८ किसान आबद्ध १० समूहलाई खोर सुधार गर्न तीन लाखका दरले अनुदान दिइएको थियो । यसैगरी, २ स्रोत केन्द्र निर्माणमा २८ लाख अनुदान दिइएको थियो । आर्थिक वर्ष २०७८/७९ मा सात फार्मले खोर सुधार गर्न २१ लाख, संकलन केन्द्रमा रु १२ लाख र स्रोत केन्द्रमा १४ लाख खर्च भएको थियो ।


मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । त्यहाँ करिब ६५ ठूला च्यांग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका किसानले ३० देखि ५० वटासम्म घर घरमा च्याङग्रा पालेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया