हिमालमा व्यावसायिक जर्सी गाईपालन

सुन्दरकुमार थकाली २०८० पुष २३ गते १२:२२

जोमसोम ।
मुस्ताङको सदरमुकाम जोमसोमनजिकै रहेको ओझेलमा परेको गाउँ हो स्याङ । जोमसोम नजिकै रहे पनिस्याङ गाउँका स्थानीयले पर्यटन व्यवसायबाट आर्थिक लाभ लिन सकेका छैनन् । सामान्य खेतीपाती गर्दै आएका स्याङ गाउँका स्थानीयको जीविकोपार्जनका माध्यम कृषि र पशुपालन नै हुन् ।


स्याङमा ६०—६५ घरधुरीको बसोबास छ । अधिकांश थकाली समुदाय छन् भने केही दलित समुदायको पनि बसोबास छ । सीमित खेतीयोग्य जमिनमा कृषि वाली उत्पादन गरी जीविकोपार्जन गर्दै आएका स्याङ गाउँका बासिन्दा अहिले पशुपालन व्यवसायसँगै खेतीपातीमा जोडिएका छन् ।


हिमाली उपआयोजनामार्फत २०७० देखि स्याङ गाउँमा व्यवसायिक जर्सी गाईपालन सुरु भएको हो । खेतीवालीका लागि आवश्यक पर्ने अर्गानिक मल तथा जर्सी गाईबाट दूध, दही, घिउँ, छुर्पी लगायत उत्पादन गरी आर्थिक लाभ सकियोस् भन्ने हेतुले कार्यक्रम सुरु गरिएको हो ।

Advertisement


व्यावसायिक गाईपालन पछिल्लो समय फस्टाउँदै गएको किसान ढोका गुरुङ बताउँछिन् । उपआयोजना आउनुअघि मुस्ताङमा सीमित पशुपालकले मात्र स्थानीय जातका गाई पाल्थे । उपआयोजनाको अनुदान सहयोगबाट सुरु गरिएको व्यवसायिक गाईपालन अहिले बर्सेनि वृद्धि हुँदै जान थालेको अर्का किसान महेश थकालीले सुनाए ।

स्याङमा अहिले दैनिक ३ सय लिटरभन्दा बढी दूध उत्पादन हुन्छ

Advertisement


सुरुवाती चरणमा डेढ दर्जन किसानले उपआयोजनाको अनुदानमा व्यावसायिक गाई पालन थालेका थिए । त्यस बेला एक घरधुरीलाई २ जर्सी गाई किन्न र पूर्वाधार निर्माण गर्न उपआयोजनाले अनुदान दिएको थियो । व्यावसायिक जर्सी गाईपालन अहिले स्याङ गाउँमा स्थापित भएको छ ।


अहिले स्याङ गाउँका अधिकाँशले १ देखि १ दर्जनसम्म गाई पालेका छन् । स्याङमा दुई तिहाई घरधुरी व्यवसायिक गाईपालन व्यवसायसँग जोडिएका छन् । धार्मिक तथा पर्यटकीय जिल्ला भएर पनि कुनै व्यवसायिक लाभ लिन नसकेका स्याङ गाउँका किसानले दूध बेचेर मनग्ये आम्दानी गर्न थालेको किसान चन्द्र थकालीले उल्लेख गरे ।


सडक सञ्जालले जोडे पनि गाउँका युवा भविष्य खोज्दै विदेश पलायन हुने क्रम जारी छ । यस्तो बेलामा व्यावसायिक गाईपालनले युवालाई गाउँमै रोक्न सक्ने अपेक्षा गरिएको छ ।


व्यावसायिक गाइपालनका लािग संरचना निर्माण तथा गाई किन्न अनुदान पाएका किसानको आम्दानी देखेर अहिले अन्यले पनि गाईपालन थालेका छन् । विस्तारै स्याङ गाउँ जर्सी गाइपालनको हब बन्दै जान थालेको हो । एउटै जर्सी गाईले १० देखि १५ लिटरसम्म दूध दिन्छन् ।


स्याङमा अहिले दैनिक ३ सय लिटरभन्दा बढी दूध उत्पादन हुने स्याङ दुग्ध संकलन केन्द्रले जनाएको छ । गोबरबाट अर्गानिक मल उत्पादन गरी खेतीवालीमा प्रयोग गर्न थालिएको छ । पछिल्लो समय तीन दर्जनभन्दा बेसी घरधुरीले व्यावसायिक गाईपालन गरेका छन् ।


व्यवसायिक गाईपालनका लागि घाँस र दाना किन्नुपर्ने हुन्छ । कतिपयले तलवमा कर्मचारी खटाएका छन् । घाँस, दाना र कर्मचारी खर्च कटाएर पनि राम्रै आम्दानी हुने किसान मनेबहादुर थकालीले सुनाए । उनका ३ वटा जर्सी गाई छन् । थकालीले दैनिक २५ देखि ३५ लिटर दूध बेच्ने गरेको जनाउ ।


यसरी उत्पादन भएको दूध नजिकैको बजार जोमसोममा बिक्री गरिन्छ । ‘सुरुमा एउटा जर्सी गाई थियो, अहिले ३ वटा छन्,’ उनले भने, ‘५ वटासम्म गाई पाल्ने धोको छ, दूध बेचेर सन्तोषजक भएको छ ।’


अर्का गाईपालक जीवन थकालीका १५ वटा जर्सी गाई छन् । उनी दैनिक ६० लिटरभन्दा बढी दूध उत्पादन गर्ने बताउँछन् । उनले दूध गाउकै दुग्ध संकलन केन्द्रमा बिक्री गर्छन् । गाउँमै दूध संकलन केन्द्र भएकाले बिक्री गर्न समस्या नभएको किसान थकालीको भनाइ छ ।


स्याङमा स्थानीय अमर थकालीले दूध संकलन गर्ने र त्यसलाई जोमसोम, कागबेनी र मुक्तिनाथ लगेर बिक्री गर्दै आएका छन् । किसानबाट प्रतिलिटर ८५ रुपैयाँमा दूध किन्ने गरेको उनले सुनाए । पुस, माघ र असार, साउनमा दूधको माग केही कम हुने भए पनि अन्य महिनामा दूध बिक्री गर्न समस्या नभएको उनी सुनाउँछन् ।


दशकअघि मुस्ताङमा पाउडरको दूध प्रयोग हुन्थ्यो । यहाँका होटल तथा रेस्टुरेन्टमा पाउडर दूधबाटै चिया बनाइन्थ्यो । स्याङमा व्यावसायिक जर्सी गाईपालन सुरु भएपछि जोमसोम, कागबेनी, मार्फा र मुक्तिनाथमा पाउडर दूध प्रयोग हुन छाडेको छ ।


दुध संकलन केन्द्र र केही किसान आफैंले दूध बजार पुर्‍याउने गरेका छन् । मुस्ताङको बजारमा दूध प्रतिलिटर १ सयदेखि १ सय १० रुपैयाँमा बिक्री हुन्छ । जर्सी गाईको दाना र घाँसको मूल्य बढे पनि दूधको मूल्य वृद्धि हुन नसक्दा समस्या किसान उमा थकाली बताउँछिन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया