पोखराको पर्यटनमा एडिबीले साढे ४ अर्ब लगानी गर्ने

समाधान संवाददाता २०८० माघ ४ गते १०:३५

पोखरा ।
नेपाल सरकार र एसियाली विकास बैंक(एडिबी) बिच १ सय ६० मिलियन डलर सहुलियत ऋण र छ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा कृष्णहरि पुष्कर र एसियाली विकास बैंकको नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गरे ।


जसमध्ये दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित परियोजनाका लागि पोखरा महानगरपालिकासँग साढे ४ अर्ब बराबरको सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए । दिगो पर्यटन विकासका परियोजनासँग सम्बन्धित सम्झौतामा परियोजना प्रमुख रोशनकुमार श्रेष्ठ र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले हस्ताक्षर गरेका छन् ।


परियोजना अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्रयाक निर्माण, पञ्चासे क्षेत्र विकास परियोजना, साट ताल जोड्ने साइकल ट्रेल, बोटानिकल गार्डेन, लेखनाथ क्षेत्रमा विपद् व्यवस्थापन युनिट स्थापना तथा सञ्चालन, फिर्के कोरिडोर निर्माण लगायतका समेटिएका पोखरा महानगर प्रमुख आचार्यले उल्लेख गरे ।

Advertisement


परियोजनाले पोखराको समग्र विकासमा महत्त्वपूर्ण टेवा पुग्ने प्रमुख आचार्यले विश्वास व्यक्त गरे । ‘हामी पोखरालाई छिट्टै पर्यटनको राजधानी सहर घोषणा गर्न गर्दै छौँ, यसै सन्दर्भमा सङ्घ सरकारसँगका विभिन्न निकायसँग महानगरपालिकाको तर्फबाट छलफल र संवादहरू गरिरहेका छौँ,’ प्रमुख आचार्यले भने, ‘दिगो पर्यटन विकास तथा जीवन सुधारसम्बन्धी परियोजनाको सम्झौता समग्र पोखराको विकास र पर्यटकीय राजधानी घोषणाका लागि कोषेढुङ्गा साबित हुनेछ ।’


सम्झौताको कार्यान्वयनका लागि महानगरपालिकाको तर्फबाट सबै प्रकारको सहयोग तथा सहजीकरण हुने उनको प्रतिवद्धता छ । महानगरपालिकाले परियोजना कार्यान्वयनका लागि छुट्टै प्रोजेक्ट अफिस स्थापना गर्ने छ । त्यसका लागि आवश्यक कर्मचारीको व्यवस्थापन गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिए ।

Advertisement


परियोजना सञ्चालनमा नगर विकास कोष साझेदारका रूपमा रहनेछ । यसअन्तर्गत १५ वटा विभिन्न परियोजना बन्दा लागत सात अर्ब पचास करोड अनुमान गरिएको भए पनि पहिलो चरणमा ४ अर्ब ५० करोड बराबरको सम्झौता भएको हो ।

तपाईको प्रतिक्रिया