पोखरामा सिलीदुङ चर्चा

समाधान संवाददाता २०८० माघ १४ गते १२:४३

पोखरा ।
र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार पोखरामा कवि गीलु रातोसको कविता संग्रह ‘सिलीदुङ’माथि विमर्श गरेको छ ।
सोसाइटीले विशेष कार्यक्रमका रूपमा आयोजना गरेको कार्यक्रममा प्राज्ञ राजन मुकारुङले गीलुका कविता पहिचानको मात्र नभई किनरीकृत वर्गको आक्रोशको दस्तावेज भएको बताए ।

‘जब १ सय २४ मध्ये १ सय २३ भाषालाई बेवास्ता गरेर राज्य संयन्त्रले कुनै एउटा भाषालाई मात्रै उच्च प्राथमिकतामा राख्छ, अनि गीलु रातोस जस्ता कविहरू जन्मिन्छन्,’ नेपाल प्रज्ञा प्रतिष्ठानका साहित्य (मातृभाषा) विभागका संयोजकसमेत रहेका मुकारुङले भने, ‘मातृभाषाको विकासका लागि सरकारले प्रदान गर्दै आएको बजेट पनि कटौती हुनुले फेरि पनि मातृभाषाको संरक्षणमा सरकार उदासीन छ भन्ने बुझ्नुपर्छ ।’


मुकारुङले गीलु रातोसले आफ्ना कवितामा उठाएका मुद्दा हरेक किनारीकृत वर्गले आत्मसात गर्नुपर्ने धारणा राखे । साहित्यकार गौरी तमुले राज्यले नै मातृभाषीलाई खस नेपाली भाषामै आफ्ना अभिव्यक्ति दिन बाध्य पारेको धारणा राखिन् । तमुले आम मानिससमक्ष मातृभाषीको अभिव्यक्ति पुर्‍याउनका लागि पनि नेपाली भाषामै लेख्नुपर्ने अनुभव सुनाइन् । उनको गुरुङ र नेपाली भाषामा ‘समैँ दर्बानी’ नामक मुक्तक संग्रह प्रकाशित छ ।

Advertisement


पत्रकार सुरेश रानाभाटले गीलुको कवितामा उठाइएको पहिचानको स्वरले आफूलाई आकर्षण गरेको सुनाए । कवि रातोसले आफूले जनयुद्धका क्रममा देखेका सपनाहरूको प्रतिबिम्ब कवितामा उतारेको बताए । उनले आफ्ना दुई कवितावाचनसमेत गरे । थेबाला प्रकाशनले बजारमा ल्याएको कृतिमा उनका ४२ कविता सङ्गृहीत छन् ।


सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा ध्रुव केसी, तेजबहादुर गुरुङ, सुजित साह, सचिव नेपालप्रकाश अधिकारी लगायतले बोलेका थिए । नियमित मासिक कार्यक्रम अन्तर्गत माघ महिनाको अन्तिम शनिबार २७ गते हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’माथि सोसाइटीकी पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतको कार्यपत्र पेश गर्नेछिन् ।

Advertisement

तपाईको प्रतिक्रिया