मुद्रण उद्योग र मणिपाल अस्पतालबिच समझदारी

समाधान संवाददाता २०८० माघ १९ गते ११:१८

पोखरा ।
मुद्रण उद्योग संघ कास्की र मणिपाल शिक्षण अस्पताल पोखराबिच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’मा समझदारी भएको छ ।


मुद्रणको तर्फबाट अध्यक्ष चिन्तामणि बास्तोला र मणिपालतर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले बिहीबार समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा मनिपालकोतर्फबाट प्रमुख जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठ र मुद्रणको तर्फबाट महासचिव पदम श्रेष्ठ रहेको मुद्रण उद्योग संघ कास्कीका द्वितीय उपाध्यक्ष प्रकाशराज पौडेलले जानकारी दिए ।


संघ कास्कीका अध्यक्ष चिन्तामणि बाँस्तोलाले व्यवसायी कर्मचारी र परिवारहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै मनिपालसँग मञ्जुरीसहित सम्झौता गरेको बताए । उनका अनुसार कास्कीमा करिब १ सय भन्दा बढी मुद्रण उद्योग र करिब ८ सय जना रोजगारीमा आवद्ध छन् । ‘मुद्रण उद्योग संघ कास्कीमा आवद्ध कर्मचारी र परिवारका सदस्यहरुले मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गर्दा निशुल्क दर्ता र अन्यमा १० देखि २५ प्रतिशत सम्मको छुटको व्यवस्थासहित सम्झौता गरिएको छ,’ उनले भने ।

Advertisement


व्यवसायी तथा कर्मचारी र उनका परिवारहरुको आधिकारीक परिचयपत्र वितरणको काम सुरु गरिएको र त्यसै परिचय पत्रका आधारमा छुट पाउने उनले जानकारी दिए । अस्पतालका कार्यकारी अधिकृत अनिल ओडुविलले अस्पतालले ल्याएको नयाँ स्वास्थ्य प्याकेज व्यावसायिक प्रतिष्ठान कर्मचारी लाभान्वित हुन सक्ने जानकारी दिए ।


अस्पतालका जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठले मुद्रण व्यवसायीहरुसँग स्वास्थ्य परीक्षण योजनामा सहमति गर्न पाउँदा खुसी भएको बताए । उनले स्वास्थ्य शिविर लगायत काममा आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा उद्योग महासंघका केन्द्रीय उपाध्यक्ष पदमलाल श्रेष्ठले सहयोगप्रति मणिपाललाई धन्यवाद दिए । उनले यो प्याकेजले विशेष राहत मिल्ने बताए ।

Advertisement


संघका प्रदेश अध्यक्ष बसन्त बास्तोलाले कास्कीले अति आवश्यक र उल्लेखनिय कार्य गरेको भन्दै प्रशंसा गरे । कार्यक्रममा मनिपाल शिक्षण अस्पतालका सञ्चालक नारायण पौडेल, सहायक व्यवस्थापक रुद्र खत्री, मुद्रण उद्योग संघ कास्कीका सहकोषाध्यक्ष झंकनाथ अधिकारीलगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया