मुक्तक सुन्न पोखरा आउनू

समाधान संवाददाता २०८० माघ २१ गते १३:४५
तस्बिरः ध्रुव केसी

पोखरा ।
पैतालीस वर्षअघि विश्वविमोहन श्रेष्ठ टिकटमा मुक्तक सुनाउने कार्यक्रममा भाग लिए पोखरा आएका थियो । त्यो २०३५ साल माघ २० गतेको कुरा थियो । त्यो कार्यक्रमका प्रमुख अतिथि हरिभक्त कटुवालसँगै आएका श्रेष्ठले त्यस बेला मुक्तक पनि सुनाउन पाए ।


तिनै विश्वविमोहन ४५ वर्षपछि फेरि टिकटमा मुक्तक कार्यक्रममा शनिबार झुल्किए । स्थानीय उही थियो—पोखरा उद्योग वाणिज्य संघको प्रेक्षालय । ऊ बेला खुला चौर भएको ठाउँमा बनेको भवनको हलभित्र उनले ४५ वर्षअघि सुनाएकै मुक्तक दोहोर्‍याए । र, थप २ नयाँ मुक्तक बाचन गरे ।

पोखरेली युवा सांस्कृतिक परिवारले ऊ जमानामा टिकटमा मुक्तक आयोजना गर्दाका अर्की सहभागी कवि उषा शेरचन पनि थिइन् । उनी पनि फेरि काठमाडौंदेखि मुक्तक सुनाउन शनिबार माइतीनगर पोखरा आइपुगिन् ।

Advertisement

भैरहवाका बुँद रानामा पनि ४५ वर्षपछि दोहोरिँदा आयोजक संस्थाका संस्थापक सचिव सरुभक्त छुट्ने कुरै थिएन । भक्तले पुराना दिन पनि सम्झिए र मुक्तक सुन्न हलभरि भएको उपस्थितिमा खुसी माने ।


सिर्जनाको पनि मूल्य हुनुपर्छ भन्ने मान्यताले ऊ बेला पोखरेली युवा सांस्कृतिक परिवारले टिकटमा मुक्तक आयोजना गरेको थियो । ३५ सालमा टिकटको मूल्य थियो, २ रुपैयाँ । यसपालि भने हजार रुपैयाँसम्म राख्दा पनि हल भरियो । ३८ सालमा त झन् २ दिनसम्मै टिकटमा मुक्तक चलेको आयोजक संस्थाका पदाधिकारी सुनाउँछन् । परिवारका अध्यक्ष उपेन्द्र पौडेल न्याय नपाए गोरखा जानू भने झै मुक्तक सुन्न पोखरा जानू भन्ने मान्यता स्थापित भइरहेको बताउँछन् । पञ्चायतकालमा पनि नियमित चलेको टिकटमा मुक्तकलाई फेरि उही उत्साहका साथ अघि बढाएको उनले सुनाए ।

Advertisement


शनिबारको कार्यक्रममा कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, पर्वत, गुल्मी, काठमाडौं र रुपन्देहीका गरी २९ स्रष्टाले मुक्तक सुनाए । भैरहवाबाट बुँद राना र रुद्र ज्ञवाली आइपुगेका थिए । ज्ञवालीले जसै न्यायाधीश र अपराधी उस्तैउस्तै ..मुक्तक सुनाए, वान्समोर पाइहाले ।

स्रष्टाहरुले देशमा बढेको विकृति, भ्रष्टाचार र राजनीतिक फोहोरी खेलमाथि व्यंग्य कसेका थिए । सँगसँग शृंगारिक रसमा प्रेमका कुरा पनि गरे । पटकपटक वान्समोर र तालीको गडगडाहटका बिच उभिने पनि ठाउँ नपुग्दा नपुग्दै सहभागीहरुले घन्चमन्चै मुक्तकको स्वाद लिएका थिए ।


अमृता पोख्रेलबाट सुरु भएको मुक्तक बाचन सरुभक्तको बाचनसँगै मैझारो भएको थियो । श्रीराम अधिकारी ‘गोर्जे’, सञ्जीव पौडेल, अमृत सुवेदी, रामजीप्रसाद आचार्य, कृष्ण सुवेदी, सावित्री गिरी, रुपिन्द्र प्रभावी, कपिल शर्मा, प्राञ्जल, सरला लामिछाने ‘सरु’, जीवनसागर भण्डारी, डा भूमिराज बस्ताकोटी, शिव त्रिपाठी, गौरी तमु, लक्ष्मण थापा, मन क्षेत्री, सरस्वती श्रेष्ठ (सरु), सुरेश रानाभाट, दीपक समीप, डा ईश्वरमणि अधिकारी, सरस्वती प्रतीक्षा, रमेश श्रेष्ठ, रुद्र ज्ञवाली, रामकाजी कोने, विश्वविमोहन श्रेष्ठ, उषा शेरचन, बुँद रानाले मुक्तक सुनाएका थिए । कार्यक्रमलाई पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेको थियो । पोखरा प्रज्ञा प्रतिष्ठानले पनि कार्यक्रमलाई सहयोग गरेको थियो ।

सरुभक्तलाई मुक्तक पुरस्कार


टिकटमा मुक्तक कार्यक्रमकै बीच साहित्यकार सरुभक्तलाई यस वर्षको ‘भीमदर्शन मुक्तक पुरस्कार’ प्रदान गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले उक्त पुरस्कार साहित्यकार सरुभक्तलाई अर्पण गरे । पुरस्कारको राशि नगद ५१ हजार र सम्मानपत्र छ ।


नेपाली मुक्तकको उत्थान र विकासमा सरुभक्तले गरेको योगदानको सम्मान गर्दै यसपालि उनलाई प्रतिष्ठानले पुरस्कार प्रदान गरेको अध्यक्ष कोनेले सुनाए । उक्त पुरस्कार अर्पण गर्नकै लागि कोने पोखरा आएका थिए । ५ दशकदेखि साधनारत साहित्यकार सरुभक्तका ५ मुक्तक कृति प्रकाशित छन् । करिब ४ दर्जन कृति प्रकाशित र त्यति नै पाण्डुलिपि तयार गरेका सरुभक्त नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति हुन् ।

तपाईको प्रतिक्रिया