रंगमञ्चमा ‘धनिरामको गोरु’

समाधान संवाददाता २०८० माघ २१ गते १४:०६

पोखरा ।
पद्याप्रेम थिएटरको प्रस्तुतिमा पोखरामा ‘धनिरामको गोरु’ नाटक मञ्चन भइरहेको छ । नाटककार केदारनाथ पौडेलद्वारा लिखित नाटकको निर्देशन कपिल शर्माले गरेका हुन् ।


नाटक आगामी माघ २७ गतेसम्म चल्ने पद्याप्रेम थिएटरका अध्यक्ष सावित्रा पाठक (सबु)ले जानकारी दिइन् । नाटकमा कलाकार दिलप्रसाद गुरुङ, विभुप्रसाद भुसाल, सावित्रा पाठक, ज्योति हमाल, शीतला अधिकारी, सुमना कार्की, रामहरि अधिकारी, दिव्य अमृत, अर्जुन गुरुङ, पवन विक र अभिषेक भुसाल छन् ।


पोखरा थिएटर गैरापाटनमा बिहीबारदेखि सुुरु नाटक हरेक दिन बेलुका ५ बजे र शनिबार दिउँसो १ बजे गरी १२ वटा सो मञ्चनको तयारी गरिएको छ । नाटकलाई विद्यालय र क्याम्पसका विद्यार्थी केन्द्रित गराउने योजनासमेत रहेको उनले सुनाइन् ।

Advertisement


नाटकमा नेपाली ग्रामीण समाज, त्यहाँका किसान र उनीहरूका वास्तविक भोगाइलाई देखाउन खोजिएको लेखक पौडेलले बताए । समाजमा रहेपछि त्यहाँ माया, सम्मान, शत्रु, मित्र सबै हुन्छन् तर पनि त्यहाँ आफ्नो हुन्छ भन्ने कुरा देखाउन खोजिएको बताउँदै उनले पछिल्लो समयमा बढ्दो प्रविधिलाई किसानले आत्मसात् गर्नुपर्ने र जानेर वा नजानेर प्रयोग गर्दा भोग्नुपर्ने विभिन्न भोगाइलाई नाटकमा देख्न सकिने उल्लेख गरे ।


करिब एक घण्टा १५ मिनेट लामो यो नाटक केही वर्षअघि गण्डकी प्रज्ञा उत्सवका अवसरमा पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा इन्द्रेणी थिएटरको प्रस्तुतिमा मञ्चन गरिएको थियो । नाटक हेर्न दर्शकहरूको आकर्षण बढिरहेको आँबोइ (हजुरआमा)को भूमिकामा रहेकी कलाकार ज्योति हमालले सुनाइन् ।

Advertisement

तपाईको प्रतिक्रिया