कल्याण शेरचन स्मृति सम्मान कुमार र राजनलाई

समाधान संवाददाता २०८० माघ २५ गते ११:४३

पोखरा ।
कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई सम्मान गरेको छ । ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरीभन्दा आमा तरुनी’ लगायतका चर्चित गीतका स्रष्टा बस्नेतलाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

प्रतिष्ठानले लोक स्रष्टा कल्याण शेरचनको १३ औं स्मृति दिवसको सन्दर्भ पारेर बुधबार आयोजना गरेको कार्यक्रममा चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश कार्यसमितिका अध्यक्ष रहेका राजन कार्कीलाई अर्पण गर्‍यो । यो पुरस्कारको राशि ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्र छ ।


उनीहरुलाई वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङ, प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मो, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, वरिष्ठ लोकगायिका हरिदेवी कोइराला, प्रतिष्ठानका प्रमुख संरक्षक सर्मीला शेरचन, संरक्षक नरबहादुर शेरचन लगायतले सम्मान गरे ।

Advertisement


गायक बस्नेतले पोखरासँगको आफ्नो साइनो पुरानो भएको सुनाए । पोखरालाई सम्झदा खिमबहादुर गन्धर्व, विर्खबहादुर गन्धर्व, झलकमान गन्धर्व, हरीदेवी कोइराला लगायतलाई सम्झने गरेको बताए । डाँफे कला मन्दिरको प्रतिनिधित्व गरेर दाजर्लिङ सिक्किममा गएर प्रस्तुति राख्दा पाएको तारिफ अझै ताजै रहेको उनको भनाइ थियो ।


नेपालमा लोकगीत र दोहोरी गीतको सुरुवात आफूले गरेको बताएका उनले अहिलेसमेत देश विदेशका कार्यक्रममा व्यस्त रहेको जनाए । तरुनी फकाउने गीत गाएर कुमार बस्नेत भएको भन्नेहरु समेत भएको भन्दै त्यस्तो भन्दा आफूलाई चित्त नदुख्ने बताए । हरेक देशको आ–आफ्नो संस्कृति भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा उनको जोड छ ।

Advertisement


संस्कृतिविद् डा जगमान गुरुङले कल्याण शेरचनले अम्मरसिंह मावि पढ्दाका दिनको स्मरण गरे । शेरचन बहुमुखी प्रतिभाको व्यक्ति भएको भन्दै नाँच्न, गाउनमा मात्र नभएर खेलमा समेत अब्बल रहेको सुनाए ।


कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.पूर्णबहादुर गुरुङ ह्योल्मोको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा कलाकारले कल्याण शेरचनले सिर्जना गरेका गीतहरु समेत सुनाएका थिए । नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार प्राप्त गर्न सफल राजन कार्कीले आमासम्बन्धी गीत सुनाए ।


स्रष्टा सम्मान, एवम् स्व. चेतन कार्की नव प्रतिभा प्रोत्साहन सम्मान पुरस्कार छनोट समितिका संयोजक खेम गुरुङको संयोजकत्वमा गठन भएको समितिले गरेको सिफारिसको आधारमा उनीहरुलाई सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ । छनोट समितिका सदस्यमा पदमराज ढकाल, मनकुमार श्रेष्ठ, ज्ञानबहादुर थापा र यामबहादुर गुरुङ थिए ।


नेपाली लोक गीत तथा संगीतमा चर्चित गीतहरु ‘सोह्र वर्षे उमेरैमा’, ‘आहा कलिलो तामालाई’, ‘राम्दी पुल’ जस्ता गीतका सर्जक लोक स्रष्टा, साधक तथा शिल्पी स्व. कल्याण शेरचनको स्मृतिमा कल्याण शेरचन स्मृति प्रतिष्ठान स्थापना भएको हो । स्मृति प्रतिष्ठानले आफ्नो स्थापनाकालदेखि सक्रियरुपमा विभिन्न कार्य गर्दै आएको छ ।


स्रष्टा कल्याण शेरचनको देहावसान पश्चात हिमाली सांस्कृतिक परिवारले २०६८ सालमा पश्चिमाञ्चल स्तरीय कौराह (चुट्का) गीत प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगिताबाट संकलित रकमले अक्षयकोष स्थापना गरी २०६९ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत रुपमा दर्ता गराई प्रतिष्ठानको स्थापना भएको हो । प्रतिष्ठान समाज कल्याण परिषदमा पनि दर्ता भएको छ ।


प्रतिष्ठानले हरेक वर्ष साउन १२ गते शेरचनको जन्म जयन्ती र माघ २४ गते स्मृति दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । प्रतिष्ठानले स्रष्टा कल्याण शेरचनले अंगालेका विधाहरु लोक संस्कृति, शिक्षा र खेलकुद क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई सम्मान अर्पण गर्ने गरेको हो ।


यस क्रममा वरिष्ठ नृत्य प्रशिक्षक भैरवबहादुर थापा, वरिष्ठ फुटबल प्रशिक्षक स्व.डम्बरसिंह गुरुङ, शिक्षाविद् बलवीर सिंह नेगी, वरिष्ठ संगीतकार प्रकाश गुरुङ, शिक्षाविद् रुपबहादुर गुरुङ र वरिष्ठ खेलाडी एवं प्रशिक्षक खड्गबहादुर रानाभाट, शिक्षाविद् योगेन्द्रबहादुर बस्नेत, वरिष्ठ लोक गायक नारायण रायमाझी, वरिष्ठ कलाकार बाबा राणालाई सम्मान तथा अभिनन्दन गरिसकेको थियो ।


सेभेन ए साइड फुटबल प्रतियोगिता, पश्चिमाञ्चल स्तरीय कौराह नृत्य साँस्कृतिक कार्यक्रम, भूकम्पपीडित विद्यालयको पुनर्निर्माण, राष्ट्रिय लोक बाजा मादल वादन प्रतियोगिता, राष्ट्रिय सारङ्गी बादन सम्मेलन, राष्ट्रिय एकल नृत्य प्रतियोगिता, राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता जस्ता महत्वपूर्ण कार्यक्रमसमेत प्रतिष्ठानले गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया