फागुन ३ बाट लिट्रेचर फेस्टिभल

समाधान संवाददाता २०८० माघ २६ गते १०:४५

पोखरा ।
सालैभर भिन्न भिन्न महोत्सव गरिरहने पोखरामा फागुन पहिलो साता फरक खालको महोत्सव हुँदै छ । आगामी फागुन ३ गतेबाट फेवाताल किनारमा साहित्य महोत्सव हुन लागेको हो ।


बुकवम फाउन्डेसनले आयोजना गर्दै आएको सूर्य नेपाल गाथा नेपाल लिट्रेचर फेस्टिभलको ११ औं संस्करणमा ५८ सेसन रहने छन् । आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारीबारे जानकारी दिएको हो । फागुन ७ गतेसम्म चल्ने यो महोत्सवमा दुई सयभन्दा बढी वक्ता रहनेछन् ।


महोत्सवमा साहित्य, कला, संगीत, पत्रकारिता, आर्थिक, राजनीतिक पक्षमा छलफल हुने आयोजक समिति सदस्य केशवशरण लामिछाने जनाए । महोत्ववमा सहकारीका अहिले देखिएका समस्यादेखि नेपाली साहित्य, अर्थतन्त्रका समस्यामाथि पनि विषद चर्चा हुनेछ । लामिछानेले नेपाल लिटरेचर फेस्टिभल पोखरामा ब्रान्डका रुपमा स्थापित भइसकेको जनाए । ‘पोखरेलीले यसलाई अपनत्व ग्रहण गरिसकेका छन्,’ उनले भने ।

Advertisement


महोत्सवमा दुई दिन विद्यार्थी केन्द्रीत विशेष सेसन राखिएका छन् । हरेक दिन साँझ सांगीतिक कार्यक्रम हुने छन् । महोत्सवको उद्घाटनमा विद्त प्रवचनका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ आउँदै छन् । उनले ‘संविधान र सुशासन’ प्रवचन दिने छन् । फागुन ३ गते नै कलाकार दुर्गा बराल ‘वात्स्यायन’को पुस्तक विमोचनसहित कला प्रदर्शनीसमेत हुनेछ ।

फागुन ७ सम्म चल्ने महाेत्सवमा साहित्य, कला, संगित, पत्रकारिता, आर्थिक, राजनीतिक विषयका करिब ६० सेसन हुनेछन्

Advertisement


सूर्य नेपाल गाथाको सहकार्यमा हुने महोत्सवको प्रवद्र्धकमा पोखरा महानगरपालिका छ । यस वर्ष पनि देशविदेशका २ सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको महोत्सवमा उपस्थिति रहनेछ ।


यस वर्ष फेस्टिभलमा विश्वप्रसिद्ध पुस्तक ‘अमेरिकन प्रोमिथियसः द ट्रायम्फ एन्ड ट्र्याजिडी अफ जे रबर्ट ओपनहाइमर’का सहलेखक काई बर्ड आउँदै छन् । उनको यो पुस्तकले विश्वप्रसिद्ध ‘पुलिट्जर प्राइज’समेत जितेको थियो । यो पुस्तकमा आधारित चलचि ओपनहाइमर सन् २०२३ को बक्स अफिसमा ब्लकबस्टर बनेको थियो ।


प्रसिद्ध भारतीय लेखिका ज्यानिस प्यारियट पनि फेस्टिभलमा आउँदै छिन् । उनको पुस्तक एभ्रिथिङ द लाइट टचेजका बारेमा उनले फेस्टिभलमा चर्चा गर्ने छिन् । विश्वप्रसिद्ध समालोचक एवं उपन्यासकार चन्द्रहास चौधरी पनि फेस्टिभलमा आउँदै छन् । उनले क्लाउड्स र अर्जी द ड्वार्फ पुस्तक लेखेका छन् । उनको अर्जी द ड्वार्फ पुस्तक ‘कमनवेल्थ फस्ट बुक प्राइज’ का लागि सर्टलिस्टसमेत भएको थियो ।


यस्तै फेस्टिभलमा पत्रकार विजय कुमार, सांसद एवम् अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, सांसद सुमना श्रेष्ठ, पूर्वमिस नेपाल शृंखला खतिवडा लगायतको सहभागिता रहनेछ ।


अर्थमन्त्री डा. प्रकाशशरण महत, पूर्वअर्थमन्त्रीहरू वर्षमान पुन, सुरेन्द्र पाण्डे लगायतको पनि उपस्थिति रहनेछ । नेता सिके राउत, लेखक खगेन्द्र संग्रौला, प्राडा कुन्दन अर्याल, पत्रकार भूषण दाहाल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सांसद एवं उद्योगी विनोद चौधरी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, योगी विकासानन्द, पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्याल, रोहिणी राणा, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल, पूर्वबैंकर अनिलकेशरी शाह, प्रा कुसुम शाक्य, नेतृ समीक्षा बास्कोटा लगायतको पनि सहभागिता रहनेछ ।


गायक बद्री पंगेनी, लेखक शीतल कादम्बिनी, कवि डा नवराज लम्साल, लेखक अमर न्यौपाने, लेखक कुमार नगरकोटी, गजलकार संगीता थापा, सुमन स्मारिका लगायतको सहभागिता जनाउने पक्का भएको छ ।


फेस्टिभलमा हरेक दिन साङ्गीतिक प्रस्तुति छन् । फेस्टिभलमा कुटुम्ब ब्यान्ड, डा. ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा. सुमन थापा र द ब्लु फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्ड आदि समूहको कन्सर्ट हुने छन् । फेस्टिभलमा फागुन ४ देखि ७ सम्म बिहान १० बजेदेखि साँझ ७ बजेसम्म विभिन्न सत्र सञ्चालन हुने छन् । आयोजक संस्थाका भरत कोइरालाले पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको बताए ।


पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले कला, साहित्यदेखि राजनीति र दर्शनसम्मको भोक मेटाउने उत्सव यो महोत्सव बनेको बताइन् । सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको सानो प्रांगणबाट सुरु भएको फेस्टिभल एघारौं संस्करणसम्म आइपुग्दा बाराहीघाटमा भव्यतासाथ हुने अवस्था बनेको नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले बताए । यस्ता फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवम् सरोकारवालालाई जवाफदेही बनाउन सघाउने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया