उषालाई राष्ट्रिय मुक्तक पुरस्कार

समाधान संवाददाता २०८० माघ २९ गते १३:२०

पोखरा ।
साहित्यकार उषा शेरचन राष्ट्रिय मुक्तक पुरस्कार २०८० बाट पुरस्कृत भएकी छन् । मुक्तक मञ्च, केन्द्रीय समिति, पोखराले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा शेरचनलाई ३३ हजार ३ य ३३ रुपियाँ तथा ताम्रपत्रसहितको सम्मान गरिएको हो ।


अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’, मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्य लगायतले उनलाई सम्मान गरेका हुन् । कलाकार वात्स्यायनले उषा बहुमुखी प्रतिभा भएको जनाउँदै साहित्यमा उनको लगाव प्रशंसनीय भएको उल्लेख गरे । आफू पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष हुँदा उषाले उपाध्यक्ष भएर देखाएको सव्रिmयतासमेत उनले सम्झे ।


प्रतिभा छनोट समिति संयोजक साहित्यकार सरुभक्तले शेरचनको नितन्तरको साधनाको सम्मानस्वरूप पुरस्कार प्रदान गरिएको बताए । लेखनका अलावा अभिनयमा समेत दख्खल राख्ने उषाले आफ्नो पहिलो नाटकमा अभिनय गरेको उनले स्मरण गरे ।

Advertisement


प्रतिभा छनोट समितिका सदस्य रुपिन्द्र प्रभावीले प्रतिभा छनोट प्रक्रियाबारे जानकारी दिए । उनले आख्यानकार, मुक्तककार र गीतकारका रूपमा शेरचनलाई चिनाउँदै उषाको लोभलाग्दो सक्रियता सबैका लागि प्रेरणा बन्दै आएको बताए । शेरचनको ‘अक्षरहरूका शिविरबाट’ मुक्तक संग्रह (२०५६) प्रकाशित छ भने ‘त्रासदीका हिमनदीहरू’ मुक्तक सङ्ग्रह प्रकाशनको तयारीमा छ । ५ सांगीतिक एल्बम र आधा दर्जन अन्य विधाका पुस्तकसमेत उनका बजारमा आइसकेका छन् ।


पुरस्कृत व्यक्तित्व शेरचनले पुरस्कारले एकातिर खुसीको रङ ल्याउने र अर्कोतिर जिम्मेवारीको भारी बोकाउने अनुभव सुनाइन् । मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कारका संस्थापक विष्णु अल्पविराम, साहित्यकार तीर्थ श्रेष्ठ, मञ्चका कार्यवाहक महासचिव अम्बिका ओझा लगायतले बोलेका थिए ।

Advertisement


कार्यक्रममा मञ्चका पूर्व अध्यक्षद्वय कृष्ण देवकोटा र प्राञ्जल, गौरी तमु लगायतले १ सय ८९ औँ नियमित शृंखला अन्तर्गत मुक्तकवाचन गरेका थिए । हरेक २ वर्षमा नेपाली मुक्तकमा विशेष योगदान गर्ने व्यक्तित्वलाई प्रदान गरिँदै आएको यो पुरस्कार यसअघि कृष्णप्रसाद पराजुली, रत्नशमशेर थापा, सरुभक्त, तेजनाथ घिमिरे र चेतना कार्की पाइसकेका छन् ।

तपाईको प्रतिक्रिया