म्याराथनका दिन यातायात नचलाउने प्रतिबद्धता

समाधान संवाददाता २०८० फागुन २ गते १२:५२

पोखरा ।
पोखरामा रहेका यातायात संघसंस्थाहरुले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका दिन बिहान ३ घण्टा सवारी रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


नेपाल भूतपूर्व खेलाडी मञ्च, सुरक्षा निकाय र यातायात व्यवसायीहरु बिच भएको छलफलको क्रममा पोखरामा सञ्चालन हुने सार्वजानिक सवारी म्याराथनको रुट पर्ने स्थानमा तीन घण्टाका लागि रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले आफूहरुलाई असर पर्ने भएपनि म्याराथन पोखराको ब्रान्ड भएका कारण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।


पृथ्वी राजमार्ग यातायात व्यवसाय प्रालिका अध्यक्ष देवेन्द्र केसीले छोटो बाटोमा सवारी रोक्न समस्या नरहेको बताए । उनले अघिल्ला संस्करणमा भएका कमीकमजोरीलाई आत्मसात गर्दै थप सुधारिएर जाने समेत सुनाए ।

Advertisement


‘हामी हाम्रा सवारी त्यो दिनका लागि कसरी छुट्ने भन्ने व्यवस्था मिलाउँछौं,’ उनले भने, ‘छोटो बाटोमा रोक्न हामीलाई समस्या हुँदैन विदाका दिन पनि भएकाले ५० प्रतिशत त त्यसै कम हुन्छ ।’ उनले प्रालिको तर्फबाट पोखरा म्याराथनलाई २५ हजार ५ सय २५ रुपैयाँ नगदसमेत सहयोग गर्ने घोषणा गरे ।


पोखरा यातायातका एमडी देवी कुइँकेलले ट्याक्सी व्यवसायीहरुसँग समेत सहकार्य गरेर उक्त दिन रुटमा धावकलाई असर नपर्ने गरी व्यवस्थापनमा जोड दिने बताए । उनले विहानको समय र विदाको दिन पनि भएकाले आफुहरुले सहजीकरण गरी म्याराथनलाई सफल बनाउन जोड दिने सुनाए ।

Advertisement

पोखरेली ट्याक्सी व्यवसायीका अध्यक्ष शोभाकान्त पौडेलले रुटमा पर्ने ट्याक्सी इकाइलाई मात्र नभई सबैलाई म्याराथनको बारेमा जानकारी गराउँदै उक्त दिन म्याराथनको समयमा सवारी नचलाउने प्रतिबद्धता व्यक्त गरे । व्यवसायमा असर पर्ने कुरा सुनाउँदै त्यो फरक पाटो रहेपनि म्याराथनलाई पूर्ण सहयोग गर्ने बताए ।


उनीहरुले विहान १० बजेसम्म सवारी नचलाउने र अत्यावश्यक परेर चलाउन परेमा धावकलाई असरै नपर्ने गरी चलाउने प्रतिबद्धता व्यक्त गरे । तर, निजी सवारीहरुले धावकलाई असर पार्न सक्ने भन्दै उनीहरुले त्यसका लागि आयोजकले विभिन्न सामाजिक सञ्जाल, एफएम रेडियो, अनलाइहरुबाट सूचना प्रवाह गर्न समेत सुझाव दिए ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले यातायात व्यवसायीले म्याराथनको समयमा सवारी नचलाएमा आफूहरुलाई त्यति चुनौती नहुने बताए । उनले ट्राफिक प्रहरीले त्यसका लागि योजना बनाएको र मुख्य स्थानमा आयोजकको स्वयं सेवकसहित ट्राफिक प्रहरी रहने सुनाए । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले म्याराथनलाई सहयोग गर्ने प्रतिबद्धता दिएकोमा खुसी व्यक्त गरे । सुरक्षा समन्वय उपसमितिको आयोजनामा कार्यक्रम भएको थियो ।

तपाईको प्रतिक्रिया