एमएम कप राष्ट्रिय यु १६ क्रिकेट: गण्डकी र बागमती अन्तिम ४ मा

समाधान संवाददाता २०८० फागुन ३ गते १०:३१

पोखरा ।
मनमोहन कप राष्ट्रिय यु १६ पुरुष क्रिकेट प्रतियोगितामा समूह ‘ए’ बाट गण्डकी र बागमती अन्तिम ४ मा प्रवेश गरेका छन् ।
मनमोेहन मेमोरियल क्रिकेट एकेडेमीको आयोजनामा पोखरामा जारी प्रतियोगितामा गण्डकीले २ खेलमा जित र एकमा हारका साथ रन रेटका आधारमा ४ अंक बटुल्दै सेमीफाइनल यात्रा तय गरेको हो । बागमती २ जित र एक हारका साथ समान ४ अंकका साथ दोस्रो स्थान प्राप्त गर्दै सेमीमा आइपुगेको छ ।


समूह ‘ए’ बाट कर्णाली र कोशी बाहिरिएका छन् । बुधबारको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको कोशीले ७ विकेट क्षतिमा १ सय ३७ रन बनायो । जवाफी ब्याटिङ गर्दै १ सय ३८ रनको जितको लक्ष्य पछ्याएको कर्णालीले २४.३ ओभरमा जितको लक्ष्य भेट्टायो । कर्णालीका लागि अदित्य विक्रम शाह र बिर्जन न्यौपानेले समान २६ रन जोडे भने दीपक खत्रीले नटआउट रहँदै २७ रन बनाए । कोशीका लागि प्रेम कामत र हार्दिक गोथियाले समान २ विकेट लिए ।


दोस्रो खेलमा गण्डकी बागमतीसँग पराजित भयो । टस जितेर ब्याटिङमा उत्रिएको गण्डकीले निर्धारित २५ ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ५१ रन बनायो । गण्डकीका लागि सरोजबहादुर खत्रीले ४४, सुदर्शन कोइरालाले ३५, सफल श्रेष्ठले २० र रोहित चन्दले २१ रन बनाए । बागमतीका लागि दिपेश शाह र शिव महतोले समान २ विकेट लिए ।

Advertisement


बागमतीले १ सय ५२ रनको लक्ष्य २४.१ ओभरमा भेट्टायो । ८ विकेट गुमाउँदै लक्ष्यमा पुग्न बागमतीका रोहित शर्माले ६६ रनको पारी खेले । उनी म्यान अफ दि म्याचसमेत घोषित भए । बुद्धिमान विष्टले १९ र हिमाल बोहोराले १७ रन बनाए । गण्डकीका लागि रुपेश थापाले ३ विकेट लिँदा सोनु यादव र प्रकाश खनालले समान २ विकेट हात पारे ।


फागुन ७ सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता छ । प्रतियोगिता अन्तर्गत वन डे फर्म्याट अन्तर्गत २५ ओभरका १५ खेल (१२ लिग, २ सेमीफाइनल र १ फाइनल) सञ्चालन हुनेछन् । लिग कम नकआउट अन्तर्गत हुने प्रतियोगिताको समूह ‘क’ मा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश छन् भने समूह ‘ख’मा मधेस, लुम्बिनी, सुदूरपश्चिम तथा मनमोहन मेमोरियल छन् ।

Advertisement


विजेता टिमले नगद १ लाख र उपविजेताले ५० हजारसहित ट्रफी, खेल सामग्री, मेडल तथा प्रमाणपत्र पुरस्कार पाउने छन् ।

तपाईको प्रतिक्रिया