३१ करोडको योजनालाई २० लाख बजेट

समाधान संवाददाता २०८० फागुन ४ गते १४:०३

पोखरा ।
संघीय सरकारले न्यून बजेट विनियोजन गरेका कारण पूर्वाधार विकास कार्यालय गण्डकी प्रदेश पोखराले सञ्चालन गरेको कास्कीको फुर्सेखोला रामदी मट्टीखान सडक समस्याग्रस्त आयोजनाको सूचीमा छ । करिब ३१ करोड ८९ लाख २७ हजार लागतमा बन्न लागेको यो सडक बजेट पर्याप्त नभएका कारणसम्पन्न गर्न कठिनाई भएको सिनियर डिभिजन इन्जीनियर सोभियत खड्काले बताए ।


उनले २० लाख ८० हजारले योजनाअघि बढाउन कठिनाइ भएको सुनाए । यहाँ निर्माण व्यवसायीले सम्पन्न गरेको कार्यको भुक्तानीसमेत लामो समयसम्म रोकिएको छ । जिल्ला विकास समिति कास्कीले बुधबार आयोजना गरेको विकास, निर्माण तथा सेवा प्रवाहमा सम्पादित कार्यहरुको अर्धवार्षिक समीक्षा गोष्ठीमा उनले कास्कीको बेगनासताल आनन्द ज्योति मावि माझठाना तथा कास्कीको पुम्दीभुम्दीदेखि स्याङ्जाको फेदीखोला सडक समस्याग्रस्त प्रमुख आयोजनाको रुपमा रहेको उल्लेख गरे ।


‘संघ सरकारले थोरै बजेट दिँदै धेरै योजना समस्याग्रस्त छन्,’ उनले भने, ‘योजना सम्पन्न गर्न बजेट अभाव छ ।’ उनले ७ करोड ८ लाख ८६ हजार लागतमा बन्ने बेगनास सडकको लागि २० लाख ७८ बजेट आएको उल्लेख गरे ।

Advertisement


करिब ७ करोड ७५ लाख ६ हजारको पुम्दीभुम्दी फेदीखोला सडकका लागि २० लाख ७९ हजारमात्र बजेट छ । खड्काले दायित्व सिर्जना भएका साला बसाली योजनाको व्यवस्थापनमा ठोस निर्णय नहुनुका साथै बजेट विनियोजन कम भएको उल्लेख गरे । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय स्याङ्जा तथा कास्कीका सिनियर डिभिजन इन्जिनियर हरिप्रसाद तिमिल्सिनाले संघीय सरकारले सञ्चालन गर्दा गर्दै हस्तान्तरण गरेका आयोजना अलपत्र भएको जानकारी दिए ।


१७ आयोजना संघले प्रदेशलाई हस्तान्तरण गरेको उल्लेख गर्दै उनले बिचमा आएर प्रदेशलाई धकेल्दा धेरै योजना अलपत्रमा परेको सुनाए । उनले योजनाको संख्या घटाएर बजेट बढाउनुपर्ने माग गरे ।

Advertisement


संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका प्रमुख सुरज पौडेलले साना तथा टुक्रे योजना बढी तथा बहुवर्षीय र ठूला योजना कम हुने परिपाटी गलत भएको बताए । अनिवार्य दायित्वका योजना पूरा गर्नुपर्नेमा नयाँ सिर्जना गर्दा झन समस्या आएको उनको भनाइ छ । उनले करिब ३ करोड लागतको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुग्ण आयोजनाको रुपमा रुपान्तरण भएको जानकारी दिए ।


जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले रुग्ण, अलपत्र, अधुरा र समस्याग्रस्त आयोजनाका समस्या हल गर्न प्रयास गर्ने बताए । उनले समुन्नत कास्की बनाउनका लागि सरोकारवाला सबैको एकीकृत प्रयास आवश्यक भएको उल्लेख गरे ।


गोष्ठीमा जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय कास्कीका इन्जिनियर मोहनराज आचार्यले संघ सरकारले योजना हस्तान्तरण गर्ने तथा तोकिएको बजेट उपलब्ध नगराउँदा समस्या आएको उल्लेख गरे ।


स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय गण्डकी प्रदेशका सिनियर डिभिजन इन्जिनियर जनकराज पन्तले दोहोरोपन हुन सक्ने योजनामा समन्वय गर्न जिल्ला समन्वय समिति कास्कीलाई आग्रह गरे ।


कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, पोखरा चेम्बर अफ कमर्स कास्की अध्यक्ष यमनाथ पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, गैसस महासंघ नेपाल कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, नेपाल टेलिकम प्रादेशिक कार्यालयका इन्जिनियर रामचन्द्र पोखरेल, पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय कुश्माका इन्जिनियर अर्जुन पौडेल, मुग्लिङ पोखरा सडक योजना पश्चिम खण्डका इन्जिनियर नारायण पौड्याल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया