ज्ञानुबाबा माविमा विदाइ

समाधान संवाददाता २०८० फागुन १० गते ११:२५

पोखरा ।
ज्ञानुबाबा आवासीय मावि पोखरा २, मिरुवामा शैक्षिक सत्र २०८० मा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई बिदाइ गरिएको छ । २०४० मा स्थापना भएको पोखराको प्रतिष्ठित विद्यालय ज्ञानुबाबाले २०५३ सालबाट एसएलसी परीक्षामा आफ्ना विद्यार्थी सहभागी गराई उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयले आफ्नो विद्यालयको २७ औँ एसइई ब्याचलाई उत्प्रेरणा कार्यक्रमसहित बिदाइ गरेको हो ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य एवं वरिष्ठ समाजसेवी नन्दकुमारी गुरुङले विद्यार्थीहरूलाई एसइई परीक्षाको उच्च सफलता सहित शुभकामना दिँदै विश्व बजारको आवश्यकता अनुसारको विद्यालयले शिक्षा दिएको भन्दै प्रशंसा गरिन् ।

एनआरएन आइसिसीका सदस्य दिलरास गुरुङ र समाजसेवी शोभा गुरुङले विद्यार्थीको मुख्य गहना अनुशासन रहेको भन्दै शुभकामना व्यक्त गरे । एसइई परीक्षा २०८० मा सम्मिलित हुने विद्यार्थीहरूलाई उत्प्रेरणा दिँदै विद्यालयकी पूर्व छात्रा एवं राष्ट्रिय महिला भलिबलकी टिम क्याप्टेन अरूणा शाहीले ज्ञानुबाबाको शैक्षिक वातावरण एवं पढाइ उत्कृष्ट भएकै कारण आफू आज राष्ट्रिय महिला भलिबलको क्याप्टेन भएको सुनाइन् ।

Advertisement


विद्यालयका कक्षा ९ का विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिसमेत राखेको कार्यक्रममा विद्यालयका संस्थापक कृष्णबहादुर गुरुङ, प्राचार्य शुभकन्या गुरुङ लगायतले शुभकामना दिएका थिए । कक्षा ९ की छात्रा सृष्टि क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत अस्मिता तिमिल्सिना र सञ्चालन सुवास तिमिल्सिनाले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया