फागुन १९ र २० गते पसगाउँ महोत्सव

समाधान संवाददाता २०८० फागुन १० गते १६:२४

पोखरा ।


लमजुङको क्व्होलासोथर गाउँपालिका ६, पसगाउँमा फागुन १९ र २० गते १४ औं पसगाउँ महोत्सव हुने भएको छ । पसगाउँ सामुदायिक होमस्टे व्यवस्थापन समितिले पोखरामा बिहीबार गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।


क्व्होलासोथर गाउँपालिका अध्यक्षसमेत रहेका समितिका अध्यक्ष सूर्यप्रसाद गुरुङले गुरुङ जातिको कला संस्कृति, भेषभूषा तथा भाषाको संरक्षण र संवर्द्धन गर्दै न्युन आय भएका नागरिकको आर्थिक एवम् सामाजिक जीवनस्तर उकास्ने उद्देश्यका साथ महोत्सव आयोजना गन लागिएको जानकारी दिए ।

Advertisement


लमजुङको उत्तरपश्चिममा पर्ने कास्कीसँग जोडिएको पसगाउँको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गर्न लागिएको समितिले जनाएको छ । बेसीशहर र पोखराबाट मात्र नभई देशका अरु सहरबाट पनि उक्त महोत्सवमा पाहुना आउने विश्वास गरिएको छ ।


ग्रामीण पर्यटनको विस्तार गर्ने, लोकसंस्कृतिको संरक्षण एवम् संवद्र्धन गर्ने, स्थानीय हस्तकला प्रदर्शनी गर्ने, पसगाउँलाई देश विदेशमा चिनाउने उद्देश्यले महोत्सवले राखेको छ । महोत्सव मार्फत पसगाउँको मौलिक संस्कृति कृष्णचरित्र नृत्य, झयाउरे नाच, सारंगी नृत्य, घाँटुजस्ता लोपोन्मुख नृत्यहरुको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न टेवा पुग्ने अध्यक्ष गुरुङले सुनाए । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत रहेका पसगाउँका बासिन्दा गोरे गुरुङले अरु ठाउँमा नभएका संस्कृति पसगाउँमा अझै भेटिने जानकारी दिए ।

Advertisement


सती घाँटु र बाह्रमासे घाँटुसँगै सती घाँटुको मौलिक विशेषता पसगाउँमा छन् । छ्याँडु नाँचका ३२ ताल प्रष्तिठानले रेकर्ड गरी राखेको पनि उपकुलपति गुरुङले जानकारी दिए । सिल्दु पूजा, छेदुपु पूजा, क्व्होम्रे पूजा, भवानी पूजालगायत विशिष्ट परम्परागत रीतिरिवाज रहेको पसगाउँ पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको प्राकृतिक शिवलिंग, भौं भौं ह्राब (बजाउने ढुंगा), सूर्योदय र सूर्यास्त अवलोकनका लागि क्व्होम्रे डाँडासहित ४ वटा प्रसिद्ध डाँडाहरु रहेको वडा अध्यक्ष गुरुङले बताए । समुद्री सतहदेखि १ हजार ६ सय ५० मिटर उचाइमा अवस्थित पसगाउँ तमु (गुरुङ) जातिको बाहुल्य रहेको गाउँ हो ।


लमजुङ सदरमुकाम बेंसीसहरदेखि पालिका केन्द्र मालिङ, साल्मेभन्ज्याङ हुँदै पसगाउँ पुग्न सकिन्छ । पोखरादेखि रामबजार गिलुङ हुँदै, पोखरादेखि थुम्सीकोट हुँदै, तनहुँको दमौली भोर्लेटार गिलुङ हुँदै र बेंसीसहरदेखि घलेगाउँ भुजुङ हुँदै पसगाउँ पुग्न सकिन्छ । पसगाउँको प्रमुख खाद्यान्न बाली धान, कोदो, मकै हो । २०६० सालदेखि पसगाउँमा महोत्सव सुरु भए पनि केही वर्ष रोकिँदा २० वर्षमा आइपुग्दा १४ औं संस्करण हुन लागेको हो । पसगाउँका २१ घरमा होमस्टे सुविधा छ ।


महोत्सव सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरिएका छन् । युगदेवी गुरुङको संयोजकत्वमा आर्थिक संकलन उपसमिति, मखतबहादुर गुरुङको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, रिमबहादुर गुरुङ (गणेश) को संयोजकत्वमा सांस्कृतिक उपसमिति, इन्द्रकुमारी गुरुङको संयोजकत्वमा अतिथि व्यवस्थापन उपसमिति, थोकबहादुर गुरुङको संयोजकत्वमा खानपान व्यवस्थापन उपसमिति, पदमबहादुर गुरुङको संयोजकत्वमा मासु व्यवस्थापन उपसमिति, अनिता गुरुङको संयोजकत्वमा स्वास्थ्य सेवा उपसमिति, मनलाल गुरुङको संयोजकत्वमा कलाकार तथा पत्रकार व्यवस्थापन उपसमिति, तलकाशी गुरुडको संयोकत्वमा खाजा व्यवस्थापन उपसमिति, शर्मिला गुरुङ (दीपु) को संयोजकत्वमा परम्परागत भेषभूषा प्रदर्शनी उपसमिति, गोपाल गुरुङको संयोजकत्वमा जनसम्पर्क उपसमिति गठन गरी काम अगाडि बढिरहेको छ ।


महोत्सवमा कलाकार गोरे गुरुङको प्रस्तुतिको साथै ख्यातिप्राप्त कलाकारहरु सविना गुरुङ, टसबहादुर गुरुङ, गजेन्द्र गुरुङ, संगीता गुरुङको दोहोरी, राजबहादुर गुरुङ, प्रिया गुरुङको गुरुङ गीत एवं अन्य प्रस्तुतिहरु रहने भएका छन् । स्थानीय तथा अन्य कलाकारहरुको समेत प्रस्तुति रहनेछन् । स्थानीय सांस्कृतिक कार्यक्रम, आमा समूहको नाँच, कृष्ण चरित्र नाच, घाँटु नाँच, सारंगी नाँच महोत्सवको अर्को थप आकर्षण रहनेछ ।

तपाईको प्रतिक्रिया