उपल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात

सुन्दरकुमार थकाली २०८० फागुन २१ गते १०:२०

जोमसोम।
उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बत र कोरला नाकासंँग जोडिएको उपल्लो मुस्ताङका दुई पालिकामा आइतबार बिहानैदेखि भारी हिमपात जारी छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका विभिन्न स्थानमा बिहान ३ बजेदेखि निरन्तर रुपमा हिमपात भएको स्थानीयहरुले जनाएका छन् ।


हिमपातले राष्ट्रिय गौरवको जोमसोम—कोरला राजमार्ग अन्तर्गत वारागुङ मुक्तिक्षेत्र—३ समरदेखि माथि कोरला नाकासम्मको सडक पूरै हिउँले ढाँकिएको छ । उपल्लो मुस्ताङमा भारी हिमपात हुँदा कोरला राजमार्ग सडकसमेत अहिले अवरुद्ध बनेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) इन्चार्ज भीमबहादुर क्षेत्रीले जानकारी दिए ।


हिमपातले सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङ तथा कोरला नाका भ्रमण गर्न जाने आन्तरिक तथा बाह्य पर्यटक समस्यामा परेका छन् । ‘आइतबार बिहानैदेखि यहाँ भारी हिमपात भइरहेको छ, सडकमा आवागमनसमेत अवरुद्ध छ,’ इन्चार्ज क्षेत्रीले भने, ‘सडक अवरुद्ध हुँदा स्थानीय तथा पर्यटकको आउजाउमा समेत निकै कठिनाइ भइरहेको छ ।’

Advertisement

हिमपात र चिसोका कारण स्थानीय घरभित्रै छन् भने उपल्लो मुस्ताङका पूरै गाउँ, बस्ती र उच्च लेक हिउँले सेताम्मे बनेका छन्


आईतबार बिहानैदेखिको भारी हिमपातका कारण सडक तथा बस्तीमा दुई फिटसम्म हिउँ जमेको छ । उनले निरन्तरको हिमपातले गर्दा सडक खुलाउन सक्ने अवस्था नरहेको उल्लेख गरे । मौसम सुधार र हिमपात रोकिएको अवस्थामा सशस्त्र प्रहरीको बिओपी टोली र छोसेर प्रहरी चौकीका सुरक्षाकर्मीले सडकमा जमेको हिउँ पन्छ्याएर सडक यातायात सहज बनाउने क्षेत्रीले जनाए ।

Advertisement


मौसमी प्रतिकूलता र निरन्तर भइरहेको हिमपातका कारण कोरला नाका र उपल्लो मुस्ताङको यात्रा नगर्नसमेत बिओपी इन्चार्ज क्षेत्रीले अनुरोध गरेका छन् । ‘हिमपात हुँदा सडकमा सवारी लैजान मुस्किल छ, चिसोले सवारी स्टार्ट नहुने र बिग्रने सम्भावना पनि उत्तिकै छ,’ उनले भने, ‘आइतबार बिहानैदेखि सवारी साधन आवतजावत पूरै ठप्प छ, हिमपातले गर्दा स्थानीय नागरिकको जनजीवन कष्ठकर बन्दै छ ।’


उनले गाउँ गाउँमा सुरक्षाकर्मी स्थानीय बासिन्दाको सहयोगमा परिचालन गरिसकेको सुनाए । हिमपातले अहिले उपल्लो मुस्ताङको जनजीवन पूर्ण रुपमा प्रभावित बनेको छ । हिमपातका कारण नेपाल—चीन सीमाना कामा बाक्लो हिउँ जमेको छ । आईतबार बिहान उपल्लो मुस्ताङमा विद्युत र सञ्चार सेवा अवरुद्ध बनेकोमा दिउँसोबाट सञ्चार सेवा सञ्चालनमा आएको छ ।


हिउँदको हिमपातल हुने मौसम घर्किइसकेको भए पनि बेमौसममा हिमपात भएकाले चिसोसमेत अत्यधिक रुपमा बढेको बिओपीका इन्चार्ज क्षेत्रीको भनाइ छ । हिमपात र चिसोका कारण स्थानीय घरबाट बाहिर नस्कन सक्ने अवस्था छैन भने उपल्लो मुस्ताङका पूरै गाउँ, बस्ती र उच्च लेक हिउँले सेताम्मे बनेका छन् ।


बाक्लो हिउँ र चिसोका कारण उपल्लो मुस्ताङका नदी, शाखा नदी र सिंचाइ कुलोसमेत पूरै हिउँले बरफ बनेका छ । स्थानीयका घरका धारा र सेफ्टी ट्यांकी समेत हिउँले जमेका छन् । खानेपानीका लागि समेत समस्या परेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए ।


स्थानीयले कुलोको पानी तताएर पिएका छन् । घरपालुवा पशु, चौपायाको रेखदेख, व्यवस्थापनमा पनि निकै समस्या परेको अध्यक्ष गुरुङले सुनाए । उपल्लो मुस्ताङमा रहेका घरका छतमाथि बाक्लो हिउँ जमेको छ ।


हिमपातले कोरला सडक अवरुद्ध हुँदा उपल्लो मुस्ताङका नागरिकले कोरला नाका स्थित लिजीमा पुगेर मालसमान किनमेल गर्नसमेत पाएका छैन । गत कात्तिक २७ गते औपचारिक रुपमा उपल्लो मुस्ताङका २ पालिकालाई मात्र खुला गरिएको कोरला नाकामा माघ अन्तिमदेखि फागुन ११ गतेसम्म व्यापारिक कोरोबार बन्द गरिएको थियो ।


तिब्बततर्फ सांस्कृतिक चाडपर्व पर्ने भएकाले नाकामा १५ दिन व्यापारिक कारोबार नगर्ने सूचना चिनिया पक्षले नेपाली पक्षलाई जानकारी दिएको थियो । चिनिया पक्षले नाकामा व्यापारिक कारोबार थाले पनि अत्यधिक हिमपातका कारण स्थानीय र व्यापारी कोरला नाका जान सकेका छैन ।


शनिबार दिउँसोदेखि प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ क्षेत्रमा पनि हिमपात भएको छ । शनिबार साँझ केही समय हिमपात रोकिएकोमा आइतबार बिहानैदेखि भारी हिमपात भइरहेको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । हिमपातले जोमसोम मुक्तिनाथ सडक अवरुद्ध भएकोमा आइतबार दिउँसो हलुका सवारी साधनमात्र चल्नसक्ने बनाइएको थियो ।


हिमपातल जारी रहेकाले फेरि बाटो अवरुद्ध हुन सक्ने सम्भावना छ । ‘मुक्तिनाथ सडक हिउँले अवरुद्ध बनाएको थियो, हामीले पन्छ्याउने प्रयास गरिरहेका छौं,’ पाण्डेयले भने, ‘ठूला सवारी साधन जान सक्ने अवस्था छैन, हलुका सवारीलाई चल्न सक्ने गरीसडकको हिउँ पन्छ्याएका छौं ।’ उनले मौसमी प्रतिकूलता र भारी हिमपातका कारण सडक आवागनन पूर्ण रुपमा खोल्न कठिन परेको जनाए ।


प्रतिकूल मौसमका साथै मुक्ति क्षेत्रमा परेको भारी हिमपातले पर्यटक तथा नागरिकको जनजीवन प्रभावित बनेको छ । उपल्लो मुस्ताङमा भारी हिमपात हुँदा तल्लो मुस्ताङमा हिमपात भएको छैन । तल्लो मुस्ताङमा हलुका वर्षामात्र भएको छ । तल्लो मुस्ताङका उच्च लेंकहरुमा भने आंशिक हिमपात भएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया