राष्ट्रिय माविमा स्वास्थ्य शिविर सुरु

समाधान संवाददाता २०८० फागुन २३ गते ११:०८

पोखरा ।
स्थापनाको ७५ औं वर्ष प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । विद्यालयका विद्यार्थीका लागि आयोजना गरिएको २ दिने शिविरको पहिलो दिन मंगलबार ३ सय १० विद्यार्थीको स्वास्थ्य परीक्षण गरिएको छ ।


शिविर बुधबारसम्म चल्नेछ । विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका हिरक महोत्सव स्वास्थ्य शिविरमा कार्यक्रम उपसमितिका संयोजक वरिष्ठ फिजिसियन डा वसन्त ताम्राकार, अर्का पूर्व विद्यार्थी बालरोग विशेषज्ञ डा विनोद तुलाचनसँगै डा अमृत त्रिपाठी, डा प्रदीप नागिला लगायतले चेकजाँच गरेका थिए ।


संयोजक ताम्राकारले शिविरमा साना बालबालिकाको मुटुको परीक्षण गरि जन्मजात कुनै समस्या छ छैन्, त्यसको जाँच गरिएको सुनाए । उनले कक्षा ११ र १२ का विद्यार्थीको रक्त समुह छुट्याइएको जनाए ।

Advertisement


विद्यालयका प्रधानाध्यापक ईश्वरी सापकोटाका अनुसार पहिलो दिन इसिडीदेखि कक्षा ५ सम्मका १ सय ६० जनासँगै कक्षा ११ र १२ का १ सय ५० विद्यार्थीको परिक्षण गरिएको छ । यसअघि शिविर उद्घाटन पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष सहारा प्रधानले गरेका थिए । विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म १ वर्ष विविध कार्यक्रम गरी मनाईरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया