प्याराग्लाइडिङको सोलो उडान खुलाउन प्रधानमन्त्री प्रचण्डसँग पर्यटनकर्मीको माग

समाधान संवाददाता २०८० चैत ४ गते १०:३०

पोखरा ।

पर्यटन व्यवसायीले प्याराग्लाइडिङको सोलो (एकल) उडान खुलाउन प्रधानमन्त्री प्रचण्डसँग माग गरेका छन्।

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न पोखरा आइपुगेका प्रधानमन्त्री प्रचण्डलाई आइतबार ज्ञापनपत्र बुझाउँदै व्यवसायीले उक्त माग राखेका हुन्।

Advertisement

पोखरामा रहेका १४ वटा व्यावसायिक संघ संस्थाको छाता संगठन पोखरा पर्यटन परिषदले बुझाएको ज्ञापन पत्रमा प्याराग्लाइडिङको सोलो उडानमा प्रतिबन्ध लगाएका कारण पर्यटन क्षेत्रमै नकारात्मक असर परेको उल्लेख छ।

ज्ञापनपत्र बुझाउँदै पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन क्षेत्रमा ६ खर्ब बढी लगानी भएको बताए। अर्थतन्त्र शिथिल हुँदा पर्यटन क्षेत्रमा पनि संकटमा परेको भन्दै उनले सरकारका तर्फबाट व्यवसायीलाई उत्प्रेरणा चाहिएको बताए।

Advertisement

ज्ञापन पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान थाल्नुपर्ने, नेपाल पर्यटन बोर्डमा पोखराको प्रतिनिधित्वय सुनिश्चित गर्नुपर्ने, पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य लगानी गर्नुपर्ने र ब्याजदर एकल अंकमा हुनुपर्ने, पोखरा–मुग्लिङ सडक खण्डको निर्माणकार्य तोकिएकै समयमा सकनुपर्ने लगायत माग राखेका छन्।

पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदका क्रममा २०७९ असोज ३० गते नेपाली सेनाका खेलाडी निसिम थापाको निधन भएपछि नेपाल नागरिक उड्यन प्राधिकरणले सोलो उडानमा प्रतिबन्ध लगाएको थियो।

सोलो उडान बन्द हुँदा खेलाडीले अभ्यास गर्न पाएका छैनन् भने प्याराग्लाइडिङ गर्नकै लागि पोखरा आउने विदेशी पनि आउन पाएका छैनन्।

इन्डोनेसियामा २०७५ भदौमा भएको अठारौं एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङमा रजत पदक जितेको थियो। नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता जित्न सक्ने प्याराग्लाइडिङको सोलो उडान बन्द हुँदा खेलाडी विस्थापित भइरहेको नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले पोखराका समस्याका बारेमा आफु जानकार रहेको बताए। समस्याको समाधान गर्न आफु प्रयासरत रहेको उनको भनाइ छ।

‘तपाइहरुको विषयमा हामी जानकार छौं, हामी समस्या समाधान गर्छौ,’ उनले व्यवसायीसित भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिट्टै अन्तर्राष्ट्रिय उडान हुन्छ, ढुक्क हुनुस्।’

तपाईको प्रतिक्रिया