प्रधानमन्त्री दाहालले गरे पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा

पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ : प्रधानमन्त्री

समाधान संवाददाता २०८० चैत ४ गते १३:४४

पोखरा ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार फेवाताल किनारमा आयोजित कार्यक्रममा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले पोखरालाई पर्यटनको राजधानी घोषणा कार्यक्रम आयोजना गरेका हुन् ।

प्रधानमन्त्री दाहालले पोखरा पर्यटन राजधानी लिखित शिलालेख स्तम्भ अनावरण गर्नुका साथै पाेखरा पर्यटन राजधानी घोषणा गरेका थिए । प्रधानमन्त्री दाहालले भने, ‘प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनको अदिप्तीय संगम पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्दछु।’

Advertisement

उक्त कार्यक्रममै अवसरमा प्राकृत पोखरा खण्डकाव्य लेखक तथा मदन पुरस्कार विजेता साहित्यकार मुकुन्दशरण उपाध्यायलाई प्रधानमन्त्री दाहालले सम्मान पनि गरे ।

पर्यटकीय राजधानीको विकासका लागि सहयोग हुन्छ : प्रधानमन्त्री

Advertisement

पर्यटन राजधानी घोषणापछि प्रधानमन्त्री ‘प्रचण्ड’ले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने सुनाए ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाए ।

“पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।” उहाँले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया